अबको पहिलो प्राथमिकता भनेको पार्टीलाई विभाजन हुनबाट जोगाउनु हो : नेता बुढा

डिसी नेपाल
१२ फागुन २०७७ ७:११

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता राजबहादुर बुढाले संसद पुनस्र्थापना भएपछि पार्टीलाई विभाजन हुनबाट जोगाउनु नै पहिलो प्राथमिकतामा रहेको बताएका छन्। सर्वोच्चले संसद पुनर्स्थापना गरेपछिको प्रतिक्रिया दिँदै समूहका नेता तथा प्रतिनिधिसभा सांसद बुढाले पार्टीलाई विभाजनबाट जोगाउने थप जिम्मेवारी सबैमा थपिएको जानकारी दिए।

डिसी नेपालसँगको कुराकानीमा उनले भने, ‘अबको जिम्मेवारी भनेको पार्टीलाई फुटबाट जोगाउनु नै हो। पार्टीलाई फुटबाट जोगाउन सकिएमात्र नेकपाले सरकारको नेतृत्व गर्न सक्छ। हामी पार्टी विभाजन नहुनका लागि घेराबन्दी गर्छौ।’

सर्वोच्चले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नयाँ सरकारको गठन हुने उनको भनाई थियो। बुढाले पार्टीलाई विभाजन हुनबाट जोगाउन नसकिएको अवस्थामा प्रमुख प्रतिपक्षीदलको नेतृत्वको सरकारमा जान सकिने बताए।

‘हामीले पार्टीको संसदीय दलभित्र एकपटक पुनः अभियान चाल्छौं।’ नेता बुढाले भने, ‘पहिलो प्राथमिकता भन्ने त हाम्रो पार्टीलाई विभाजनमा जान नदिनु नै हुन्छ। हुनैसकेन भने वा अपवाद अन्य केही परिस्थितिको सामना गर्नु पर्ने अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा समेत गठन भएको सरकारमा जान सकिन्छ।’

नेपाली जनताले न्यायलय भएको कुराको अनुभूति गरेको उनको भनाइ छ। अब उप्रान्त कुनै पनि प्रधानमन्त्रीले जनमतको फाइदा उठाउन नसकिने नजिर बनेको नेता बुढाको भनाइ  छ। ‘७० वर्ष लामो त्याग तपस्या र बलिदानीबाट निर्माण भएको संविधान हो यो संविधानको रक्षा गर्नु थियो हामीले। सबै भन्दा ठूलोकाम संविधानको रक्षा भयो,’ नेता बुढाले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा थिए। पार्टी भित्रबाट आफूलाई काम गर्न नदिएपछि यस्तो कदम चाल्नु परेको प्रधानमन्त्री ओलीले स्पष्टिकरणदिँदै आएका थिए।

बैशाख १७ र २७ गते गरी दुई चरणमा निर्वाचनको मिति समेत घोषणा भइसकेको थियो। ओली पक्षले निर्वाचन तोकिएकै मितिमा हुने विश्वास व्यक्त गर्दै आएको थियो। सडकमा भएका सबै प्रकारका जनसभाहरुमा बैशाखमा हुने निर्वाचनमा कुनै पनि शंका नगर्न ओली समूहको नेकपाले विश्वास दिलाउँदै आएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *