ग्याङका नेताको हत्या भएपछि ४ वटा जेलमा कैदीहरुबीच भिडन्त, कम्तीमा ७९ जनाको मृत्यु

डिसी नेपाल
१३ फागुन २०७७ १२:३७

काठमाडौं। एक आपराधिक गिरोहका नेताको हत्या भएपछि इक्वेडरको चारवटा जेलमा कैदहिरुबीच भिडन्त हुँदा कम्तीमा पनि ७९ जना कैदीहरू मारिएका छन्। मंगलबारदेखि सुरु भएको झडपलाई रोक्नका लागि दंगा प्रहरी र सैनिक परिचालन गरिएका छन् । द सनको रिपोर्टअनुसार डिसेम्बर महिनामा एक आपराधिक गिरोहका नेताको मृत्यु भएपछि जेलमा आफ्नो नियन्त्रण राख्ने प्रयासमा आपराधिक गिरोहहरुबीच संघर्ष सुरु भएको थियो ।

इक्वेडरको टुरी जेलमा सबैभन्दा घातक झडप भएको छ जहाँ ३४ जनाको मृत्यु भएको छ। ग्वायाक्विल शहरको दुईवटा जेल र लाटाकुङ्गाको जेलमा पनि कैयौं कैदीहरुको मृत्यु भएको छ । एउटा जेलबाट सार्वजनिक भएको तस्वीरमा सुरक्षाकर्मीहरुले घेरिएका कैदीहरू छतमा उभिएका देख्न सकिन्छन् । एक अधिकारीका अनुसार मारिनेहरु सबै कैदीहरू थिए । अधिकारीहरूले बताएअनुसार बुधबार मध्य दिनसम्म स्थिति सुरक्षाकर्मीको नियन्त्रणमा छ ।

सन् २०१९ र २०२० गरी २ वर्षमा जेलमा मर्नेहरूको तुलनामा यो झगडामा मारिएकाहरूको संख्या बढी छ। यो झडप सबैभन्दा पहिले स्थानीय समयअनुसार मंगलबार बिहान ९ बजे सुरु भएको थियो । गएको डिसेम्बर महिनामा चोनरोस गिरोहका नेता जोर्ज लुइस जाम्ब्रानोको हत्या भएदेखि नै यहाँका जेलमा तनाव चर्किरहेको थियो। जाम्ब्रानोलाई जेलबाट छुटेको केही महिनापछि क्याफेटेरियामा गोली हानेर मारिएको थियो । उनी जेलमा छँदा उनको गिरोह लागूऔषध तस्करी, लागूपदार्थको दुर्व्ययसन र लुटपाटको काममा संलग्न थिए, जुन मुख्यतया इक्वेडरको जेलभित्र सञ्चालन हुन्छ।

आन्तरिक मन्त्री प्याट्रिसियो पाज्मिनोका अनुसार यो झडप योजनाबद्ध र अत्याधिक व्यवस्थित थियो । इक्वेडरमा यस्तो घटना भएको यो पहिलो पटक भने होइन। विगत दुई वर्षमा सरकारले दुई पटक आपतकालीन स्थिति घोषणा गरेको थियो । पहिलो घटना सन् २०१९ को मे महिनामा भएको थियो । त्यतिबेला केही हप्ताको अवधिमा १० जना कैदीको मृत्यु भएको थियो भने फेरि २०२० अक्टोबरमा भ्रष्टाचार मुद्दाका केही प्रमुख साक्षीको हत्या भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *