एक हप्तापछि बिहे गर्न लागेका जोडी ‘एउटी चिहानमा अर्को जेलमा’

डिसी नेपाल
१३ फागुन २०७७ १३:१५

काठमाडौं। विवाह हुनुभन्दा एक हप्ता अघि आफ्नी हुनेवाली पत्नीलाई झुक्किएर गोली हानी मारेका एक युवकलाई हत्याको आरोपमा अनुसन्धानको लागि हिरासतमा लिइएको छ । पहिलो नाम दिमित्री मात्र सार्वजनिक गरिएका ४४ वर्षका ती युवकले आफ्नो नयाँ बन्दुक एक जना साथीलाई देखाउँदै थिए । यही क्रममा उनको हातबाट अचानक गोली चल्यो र त्यो गोली लागेर उनकी हुनेवाला पत्नी ३७ वर्षकी तात्यानाको मृत्यु भयो ।

द सनका अनुसार यो जोडी मध्य युक्रेनको डिनिप्रोमा रहेको आफ्नो घरमा भएका बेला उनीहरूका साथी ओलेक्सी कोन्ट्रेटेभ आएका थिए । त्यसपछि तीनै जना बेडरुममा गए जहाँ दिमित्रीले आफ्नो नयाँ १२ क्यालिबर हात्सान सिकारी राइफल आफ्नो साथीलाई देखाउँदै थिए । कोन्ट्रेटेभले स्थानीय मिडियालाई भने, ‘दिमित्रीले औंला ट्रिगरमा राखेर बन्दुर समातेका थिए । अचानक उनले यसको नाल तात्यानातर्फ फर्किएको देखे । उनले बन्दुकको नाल अर्कोतर्फ हटाउन खोज्दै थिए तर अचानक गोली चल्यो र तात्यानालाई लाग्यो ।’

पौडी प्रशिक्षक तात्यानाका १३ र ११ वर्षका दुई छोराहरू छन् । घटनाका समयमा उनीहरु घरमै थिए । गोली चलेको आवाज सुनेपछि दौडिँदै आएका उनीहरुले आमालाई त्यस्तो अवस्थामा देखेपछि छिमेकीहरु गुहारेका थिए । पल्लो घरकी छिमेकी ल्युडमिला मिखाइलनोभ्नाले भनिन् ‘तात्याना रगतको तालमा थिइन् । पछि पुगेका स्वास्थ्यकर्मीले उनलाई मृत घोषित गरेका थिए ।

प्रहरी हिरासतमा राखिएका दिमित्रीविरुद्ध हत्या अभियोगमा फौजदारी मुद्दा चलाइएको छ । पुलिस प्रवक्ता अन्ना स्टार्चभस्काले भनिन् ‘संदिग्धले साथीलाई बन्दूक देखाउने क्रममा पीडिततर्फ बन्दुक फर्किएको र झुक्किएर गोली चलेको बताएका छन् ।’

दिमित्रीका एक मित्रका अनुसार उनी एउटा निजी कम्पनीमा सुरक्षा गार्ड थिए र आफू बस्ने क्षेत्र खतरनाक भएकोले परिवारको सुरक्षाका लागि उनले बन्दुक किनेका थिए । पक्राउ परेपछि दिमित्रीले सञ्चार माध्यममार्फत आफ्नी हुनेवाली पत्नीका मातापिता र छोराछोरीलाई एउटा सन्देश पठाउँदै भनेका छन् ‘आमा, बुबा, छोराहरु उनलाई बचाउन नसकेकोमा मलाई क्षमा दिनुहोस्। मैले उनलाई कति माया गरेको थिएँ, तपाइँहरुलाई थाहा छ। मलाई थाहा छैन उनीबिना कसरी बाँच्ने ।’

हत्याको अभियोगमा दोषी ठहर भएमा दिमित्रीलाई १५ वर्षसम्म जेल सजाय हुन सक्छ । पीडित तात्यानाकी आमा निला मिर्मिरिनाले भनिन् ‘यो दुखद दुर्घटना थियो । दिमित्रीलाई रिहा गरिनुपर्छ । यी व्यक्तिको साथमा हुँदा मेरी छोरी संसारकै सबैभन्दा खुसी महिला थिइन् ।’ दिमित्रीका मिल्ने साथी अलेक्जान्द्रे भोल्कोभले दिमित्री र तात्यानाले एक अर्कालाई १० वर्षदेखि चिनेको बताए । भोल्कोभले भने ‘त्यस दिन बिहान उनीहरू निकै खुसी थिए तर अहिले उनी चिहानमा छिन् र उनी जेलमा छन्।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *