निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

धनकुमार कार्की
१४ फागुन २०७७ २०:३५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई निर्धक्क भएर काम गर्न निर्देशन दिएका छन् । प्रतिनिधिसभा पूनःस्थापना भएपछि पहिलो पटक शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री उक्त निर्देशन दिएका हुन् ।

सर्वोच्च अदालतले फागुन ११ गते मंगलबार प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीकाे निर्णय बदर गर्दै पूनःस्थापना गर्ने आदेश दिएपछि शुक्रबार पहिलोपटक मन्त्रीपरिषदको बैठक बसेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली निकै खुलेर प्रस्तुत भएका थिए ।

बैठकको नियमित एजेन्डामा प्रवेश गर्नुअघि प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई प्रतिनिधिसभा पूनःस्थापना भएपछिको अवस्थाका बारेमा ब्रिफिङ गरेका थिए। बैठकमा निश्चिन्त देखिएका ओलीले अब के हुन्छ भन्ने नसोचिकन निर्धक्क भएर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिए।

बैठकमा उपस्थित एक मन्त्रीका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्रीले फागुन २३ गते संसद बैठक बोलाउने जानकारी गराए। प्रधानमन्त्रीको भनाईलाई उद्धृद गर्दै ती मन्त्रीले भने,’अब के हुन्छ भन्ने नसोचिकन निर्धक्क भएर आफ्ना निरन्तर काम गर्नुस्, बाँकी कुरा संसदमै भनौँला।’

प्रधानमन्त्रीले मन्त्रीहरुलाई ढाडस दिँदै जनताको काम ढुक्कसँग गर्न निर्देशन पनि दिएका थिए। प्रतिनिधिसभा पूनःस्थापनाले आफूलाई कुनै असर नपरेको छनक बैठकमा उनले देखाएका थिए । प्रधानमन्त्रीको प्रस्तुती हेर्दा वर्तमान सरकारले नै निरन्तरता पाउनेमा ढुक्क देखिएको ती मन्त्रीले जानकारी दिए।

गत पुष ५ गते प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेसँगै करिब दुई महिनामा मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्दै पूनःस्थापना गरी १३ दिनभित्र बैठक राख्न सरकारलाई आदेश दिएको थियो । सर्वोच्चको आदेश अनुसार मन्त्रीपरिषद्को बैठकले फागुन २३ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *