साहित्य अनुभूति हो, जतिधेरै पढ्यो त्यति राम्रो लेख्न सकिन्छ : माया ठकुरी – Dcnepal

साहित्य अनुभूति हो, जतिधेरै पढ्यो त्यति राम्रो लेख्न सकिन्छ : माया ठकुरी

कथा लेखनको मिति त मलाई पनि थाहा छैन। बाल्यकालमा मेरो मुवाले, हजुरमुवाले सुनाउने बालकथाहरु सुनाउनु हुन्थ्यो। जस्तो ‘सानी भेरीको भूत’ जतिपटक सुनाए पनि डराउन छोडिएन। लोक कथाहरु पनि सुनाउनु हुन्थ्यो। लोक गीतहरु पनि गाउँनु हुथ्यो।

तीजका गीत पनि भए। मलाई त्यो बेलामा त्यो कुराको महत्व हुन्थेन, सुन्थेँ र मनोरञ्जन मात्र लिन्थेँ। मैले मुवा र हजुरमुवाबाट सुनेका कथाहरुबाट नै मेरो मष्तिस्कमा लेखनको विजारोपण सुरु भयो। मलाई त्यो बेला नै कल्पनाशील भन्न बाध्य गरायो त्यो कुराले।

दोस्रो विश्वयुद्धपछि भारतीय प्रहरीमा भएका नेपालीहरुले बस्नको लागि भारतको सिलोङ रोज्नु भएछ। जहाँ मेरो जन्म भएको थियो। त्यो ठाउँको भूगोल नेपालको जस्तो छ। त्यो बेला महाभारत, रामायण जस्ता ग्रन्थहरु कण्ठ गरेका हुन्थे। त्यो नाटक पनि देखाइन्थ्यो। हामी पनि त्यो हेथ्र्यौँ। त्यो दृष्यात्मक ज्ञान पनि पायौँ।

मेरो औपचारिक साहित्य ‘बहुवालही’ सुरु भयो भन्ने छ। मेरो बालापन अर्कै छ। मैले त्यो अतित भनेन भने पनि अधुरो हुन्छ। म सँग भएको कुरा नै त्यही हो। आज म जुन ठाउँमा छु त्यहाँ त्यही बाल्यकालको भोकले पुर्याएको हो। भोकलाई न डर हुन्छ न लाज।न त भोकले घिन नै मान्छ।

मैले औपचारिक शिक्षा लिएकी थिइन। मुमाले जसोतसो पाल्न, हुर्काउन सक्नु भएको थियो। हामी साथीहरु मिलेर खेल्थ्यौं। एकदिन मैले भाडााँकुटी ठिक पारेँ। साथीहरु झोला बोकेर स्कूलको लागि निस्किए। मैले पनि जान्छु भने आमाले मलाई आफ्नो छातिमा टाँस्दै पढाउन नसक्ने कुरा सुनाउँनु भयो। म धेरै रोएँ। मैले बुबालाई तथानाम गाली गरेँछु। आमाले मेरो मुख नै थुन्नु भयो।

मैले हिन्दी पत्रिकाहरु पढ्थे। ‘पागल’ भन्ने कथा लेखेर तत्कालीन एउटा हिन्दी पत्रिकामा पठाएँ। फिर्ता आयो। मलाई कथा रिजेक्टेड भएको कुरा भन्दा पनि अन्तिममा लेखिएको ‘आफ्नो भाषामा साहित्य लेख्न थाले राम्रो भविष्य छ’ भन्ने वाक्यलाई ध्यान दिएँ। अनि बल्ल त्यही कथालाई बहुलाही शिर्षकमा छापियो।

त्यसपछिको मेरो बाल्यकालले अर्कै रुप धारण गर्यो। म शंखको आवाज सुन्ने वित्तिकै चिहान डाँडा जान थालेँ। मान्छेको अन्तिम संस्कार गरिने त्यो ठाउँमा मैले पैसा पाउँथेँ। खानेकुरा पाउँथे। जे भेटिन्थ्यो त्यही खान्थेँ। त्यँही फालिएका लुगा उठाउँथेँ। समाधिमाथि सुतिदिन्थेँ। मलाई धेरै कुरा थाहा हुन्गथेन, मैले के खाएँ।

मुवा गएर उठाउनु हुन्थ्यो। मलाई थाहा हुन्थ्यो म लाश छोएकी छु। मुवाले मलाई सिधै छुनुहुन्न। घरमा ल्याएर नुहाउन पठाउनु हुन्थ्यो। अनि बल्ल मलाई सम्झाउन थाल्नु हुन्थ्यो। मैले मुमाले सम्झाएका कुराले भोक बिर्सिन सकिन। मेरो भोकले त्यो कुरालाई ग्रहण गर्न सकेन। मैले त्यो दैनिकि पनि छोड्न सकिन।

अघि पनि भने मैले औपचारिक पढेकी छैन। एकजना सतिष सर हुनुहुन्थ्यो। उहाँले पढ्छौ भनेर सोध्नुभयो। उहाँले घरमै ट्यूसन पढाउनु हुन्थ्यो। उहाँले पढ्न आउ है भन्नु भयो। मैले हामीसँग त पैसा छैन भनेछु। उहाँले पैसा पर्दैन आउ भन्नु भयो। म उहाँको घरमा गए। घरमा खाना बनाउने काम गर्थेँ। मैले काम गरेँ। उहाँले पढाउनु भयो। २ वर्षसम्म मैले पढेपछि तेतिबेलाको (मेट्रिक्स) एसएलसी दिनु पर्ने बेला आयो। मैले दिएँ। पास पनि भएँ।

मैले हिन्दी पत्रिकाहरु पढ्थे। ‘पागल’ भन्ने कथा लेखेर तत्कालीन एउटा हिन्दी पत्रिकामा पठाएँ। फिर्ता आयो। मलाई कथा रिजेक्टेड भएको कुरा भन्दा पनि अन्तिममा लेखिएको ‘आफ्नो भाषामा साहित्य लेख्न थाले राम्रो भविष्य छ’ भन्ने वाक्यलाई ध्यान दिएँ। अनि बल्ल त्यही कथालाई बहुलाही शिर्षकमा छापियो।

मलाई सम्झना छ–मैले अरुले लेखेको कापीमा रहेको स्पेसमा लेख्ने गर्थें। अहिले सम्झिन्छु। हाम्रो जीवनमा आउने खाली समयलाई हामीले उपयोग गर्न सक्यौँ भने कति अघि बढ्न सकिन्छ भन्ने कुरा। मैले त्यो खाली स्पेसमा माथि जस्तो अक्षर लेखिएको थियो त्येही अक्षर लेख्थेँ। त्यो कापीको पानामा रहेको स्पेसले पनि मलाई अगाडि बढायो।

म हुर्किएएको ठाउँको लिपी छैन, भाषा छ। दोस्रो विश्व युद्धमा अंग्रेजहरु आएर रोमन लिपी बनाइदिएका छन्। मैले पनि त्यही लिपीलाई नै त्यो खाली रहेको स्थानमा लेख्ने गरेँ। त्यो खाली स्थानले कति सहयोग गर्यो भन्ने अहिले सम्झनामा छ। मैले गुरु दक्षिणा भन्ने कथामा त्यही यथार्थ लेखेको छु। त्यहाँको मेरो अवस्थाको बारेमा। मेरो लेखाइ यो हो। मैले सुनाएको अनुभवले नै मलाई लेख्न सिकायो। मैले मेरो अनुभूतिले लेखेँ।

बौलाही, बौलाही भन्छ दुनियाँ,
बौलाही त्यो भई किन कसरी ?
बौलाही यदि त्यो साँचै थिइ त,
तिरस्कार तिम्रो किन सही ?

हासी होली केही क्षण त्यो हृदयको पिर खप्न नसकी
रोइ होली केही क्षण त्यो तिम्रो बालापन देखि,
अनि भन त किन कसरी कहलाही त्यो बहुलाही ?

त्यो बेलाको समालाई प्रश्न गरेको मैले। यही कवितालाई नै मेरो साहित्यको औपचारिक प्रवेश हो। नजुरेको जोडीमा भएको कथामा रहेको कुन कथा हो मेरो पहिलो कथा।

त्यो बेलाको लेखाई र अहिलेको लेखाईमा फरक त छन् नै। समय अनुसार आख्यानहरु पनि परिवर्तित हुन्छन। अहिले औंलाको भरमा संसार देख्न सकिन्छ। त्यही अनुसार मैले आफ्नो लेखाइलाई पनि परिवर्तित गर्दै लगेकी छु। त्यो बेलाको समाज र अहिलेको समाज, त्यो बेलाका पाठक र अहिलेका पाठक केही मिल्दैन। मैले अहिलेको पाठकले पढ्ने गरी लेख्नु पर्छ। अहिलेको पुस्ताले लेखेको पढ्ने गरेकी छु। अहिलेको पुस्ताले कस्तो खालको लेखाई मन पराउँछ भन्ने कुरा बुझेर लेख्ने गरेकी छु। साहित्य समयानुसार परिवर्तित हुँदै जाने कुरा हो।

त्यो समय र अहिलेको समयकोबीचमा ठूलो पर्खाल छ। मानिसको मानसिकता पनि बदली भइरहेको छ। अहिले छोरा छोरीमा विभेद छैन। हामीले सानैदेखि छोराछोरीलाई समान कुरा सिकाउँछौ। अहिले पनि पृतिसत्ताबादी सोचको धङधङी कायम नै छ।

हामी व्यक्तिगत स्वार्थमा लिप्त छौं। त्यो बेलाको जस्तो संयुक्त परिवार छैन। कसैलाई समय छैन, कसैलाई फुर्सद छैन। कसैले किताब किन्दैनन्। अबको लेखाई भनेको डिजिटल हुनु पर्छ। यो पर्खाललाई हामीले बुझेर लेख्नु पर्छ।

हामीले भोगेको कुरा अहिलेको पुस्ताले भोगेको छैन। अहिलेको पुस्ताले भोगेको कुरा पछिको पुस्ताले नभोग्न सक्छ। हामीलाई भोगाईले नै साहित्यकार बनाउने हो। एउटा उदाहरण दिउँ, नेपालमा राम्रो अध्ययन गरेको मान्छे विदेश जान्छन् त्यहाँ गएर भाँडा माझ्न तयार हुन्छन्। त्यो पनि त भोगाइ हो नि। पछिल्लो पुस्ताले त्यो अवस्था नभोग्न पनि सक्छ।

लेखेरै बाच्ने कुरा त गर्दै नगरौँ। मैले साझामा किताब छपाउँथे। आफैं किन्थें। पोहोर सालमात्र मैले ५० हजार पाएँ। ५०औँ वर्ष भयो लेख्न थालेको। अहिलेसम्म विमोचन गरेको छैन। मेरा पुस्तकमा अन्तक्रिया भएको पनि छैन। मेरा कथाहरु विश्वविद्यालयमा पनि पढाई हुन्छ। तर, कहिलै पनि पैसाको बारेमा बुझिन। पोहोरसाल पाएको एडभान्स भनेर ५० हजार दिँदा यसरी पैसा आउँछ भन्ने लाग्यो। नेपाल बाहिरको भन्न सक्दिन नेपालमा भने अझै पनि लेखेरै बाँच्ने अवस्था भने देख्दिन।

लेख्न कल्पना त चाहिन्छ नै। कल्पना नभएर लेख्न सकिँदैन। तर, यथार्थ पनि हुनु पर्छ। उदाहारणको लागि हामीले बनाएको घर यथार्थ हो। त्यसमा गरेको रंगरोगन, डिजाइन जतिपनि सजावटका कुरा छन नि ती सबै कल्पना हुन। हामीले कल्पनाले त्यसलाई सुन्दर बनाउन सक्छौं। साहित्य पनि त्यही हो विषयवस्तु यथार्थ हो। हामीले गर्ने शब्द चयन, वाक्यको बनावट, प्रयोग गरिने रसहरु, बिम्ब, प्रतिक आदी कल्पना हुन्।

लेख्नका लागि अध्ययन अतिआवश्यक छ। जति बढी पढाई गर्छौं त्यति बढी हामी लेख्न सक्छौं। हामीमा शब्दहरको माला त्यतिधेरै आउँछ। हामीले ती शब्दहरुलाई मालामा गाँस्ने काम त्यतिनै राम्रोसँग गछौँ। पढेपछि हिजोको इतिहास, समाजका बारेमा जानकारी पाइन्छ। भोलिको समाजको बारेमा अनुमान लगाउन सकिन्छ। अनि, कस्तो विषयवस्तुमा लेख्दा भोलिको लागि पनि हुन्छ।

कथाकार ठकुरीसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीमा आधारित

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो