चोरी शिकार नियन्त्रणमा युवाको भूमिका महत्वपूर्ण

डिसी नेपाल
२० फागुन २०७७ ८:१८

नवलपुर । चोरी शिकार नियन्त्रणका लागि युवाको भूमिका महत्वपूर्ण हुने सरोकारवालाले बताएका छन्। ‘वन र जीविकोपार्जन : पृथ्वीमा दिगो जीवनको आधार’ भन्ने नारासहित मनाइएको विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले समुदायमा हुने वन्यजन्तु चोरी शिकारलाई नियन्त्रण गर्नका लागि युवाहरु सक्रिय हुनुपर्नेमा जोड दिए।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुली नगरपालिकामा आयोजित कार्यक्रममा सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रबहादुर पाण्डेले वनजङ्गल र जैविक विविधतालाई संरक्षण गरी उचित मात्रामा प्रयोग गर्नसके दिगो जीविकोपार्जन गर्न सकिने बताए। उनले वन्यजन्तु मुलुकको महत्वपूर्ण निधि भएको भन्दै यसको संरक्षणमा लाग्नुपर्ने बताए। भावी सन्ततिलाई देखाउनका लागि पनि वन र वन्यजन्तुको संरक्षण गर्नुपर्ने आजको आवश्यकता रहेको पाण्डेले बताए।

समुदायमा आधारित वन्यजन्तु चोरी शिकार नियन्त्रण युवा जागरण अभियानका अध्यक्ष ढुण्डीराज केसीले चोरी शिकारीमा संलग्न ४० वर्षमुनिका हुने गरेको बताए। उनले चितवन राष्ट्रिय निकुञ्जको अपराध अनुसन्धान शाखाबाट प्राप्त भएको तथ्याङ्कअनुसार पक्राउ परेकामध्ये ९० प्रतिशत मानिस ४० वर्षमुनिका भएको बताए। आपराधिक गतिविधिमा संलग्न हुने युवाको समूह धेरै भएको भन्दै केसीले युवालाई संरक्षण शिक्षा प्रदान गरेर परिचालन गरेमा चोरी शिकारी नियन्त्रण गर्न सकिने बताए।

केही दिन पहिले मात्रै चितवन राष्ट्रिय निकुञ्जले दुर्लभ एक सिङ्गे गैँडा मारेको अभियोगमा जिल्लाका विभिन्न स्थानबाट अरोपी पक्राउ गरेको थियो। जिल्लाबाट पक्राउ परेका सबै आरोपित ४० वर्षभन्दा कम उमेरका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *