नेपालसँग सिधा उडान संचालन गर्न पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई आग्रह

डिसी नेपाल
२० फागुन २०७७ १०:३२

काठमाडौं। पाकिस्तान र नेपालसँग व्यापार र आर्थिक सहयोग बढाउने ठूलो सम्भावना रहेको पाकिस्तानका लागि नेपालका राजदूत तपस अधिकारीले बताएका छन् । अधिकारीले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआइए)ले नेपालसँग सिधै उडान सुरु गर्ने सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिँदै यसले दुई देशबीचको व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने समेत बताए ।

इस्लामाबाद च्याम्बर अफ कमर्स एण्ड इण्डस्ट्री (आइसीसीआइ) मा व्यापारिक समुदायसँगको बैठकमा राजदूत अधिकारीले व्यापार प्रवद्र्धनले दुवै देशलाई बेरोजगारी कम गर्न र आफ्ना जनताको जीवनस्तर उकास्न मद्दत गर्ने बताएको पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनले जनाएको छ । उनले विश्वका सबैभन्दा अग्लो र दोस्रो अग्लो हिमाल क्रमशः नेपाल र पाकिस्तानसँग रहेको बताउँदै पाकिस्तान र नेपालले पर्यटन क्षेत्रमा सहकार्य बढाउने ठूलो दायरा रहेको प्रष्ट पारे ।

दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि नेपाली व्यवसायीको प्रतिनिधिमण्डललाई पाकिस्तानमा ल्याउने प्रयास गर्ने क्रममा पाकिस्तानको व्यापारिक समुदायले नेपाल भ्रमण गर्नुपर्ने आधिकारीले बताए । उनले पाकिस्तानप्रति नेपाली जनताको अपार माया रहेको र पाकिस्तानसँग व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्न चाहेको जिकिर गरे ।

सो अवसरमा बोल्दै आइसीसीआइका अध्यक्ष सरदार यासिर इलियस खानले व्यापारको वर्तमान परिमाण दुवै देशको वास्तविक सम्भावनाभन्दा निकै कम भएकाले पहुँच नपुगेका सबै क्षेत्रको अन्वेषण गर्न पाकिस्तान र नेपालले आफ्ना निजी क्षेत्रबीच बलियो व्यापारिक सम्बन्ध विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताए ।

उनले पाकिस्तानले नेपाललाई मेसिनरी तथा पार्टस्, फर्मास्युटिकल्स, इलेक्ट्रोनिक्स सामान, कपडाका सामान, छालाका सामान, फर्निचर, फलफूल तथा तरकारी, मासुजन्य वस्तु र अन्य धेरै उत्पादन उपलब्ध गराउन सक्ने भएकाले दुवै देशले पारस्परिक फाइदाको नतिजा हासिल गर्न प्रत्यक्ष व्यापारका उपाय खोज्नुपर्ने बताए । खानले पाकिस्तान र नेपालले कृषि तथा पशुपालन, उद्योग, ऊर्जा, पर्यटन, सूचना प्रविधि, बैंकिङ तथा वित्त क्षेत्रमा सहकार्य गर्न सक्ने सम्भावना रहेको औँल्याए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *