१० खेलाडीमा सीमित इंग्ल्यान्डले मेक्सिकोलाई ३–२ ले हराउँदै क्वाटरफाइनलमा
काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा इंग्ल्यान्डले सहआयोजक मेक्सिकोलाई ३–२ को रोमाञ्चक नतिजामा हराउँदै अन्तिम आठको यात्रा तय गरेको छ। मेक्सिको सिटीस्थित ऐतिहासिक अज्टेका स्टेडियममा भएको यस खेलमा इंग्ल्यान्डले अधिकांश समय दश खेलाडीमा रहेर पनि उच्च धैर्यता र सङ्घर्षका साथ ऐतिहासिक जित निकाल्न सफल भयो।
खेलको सुरुवातदेखि नै आक्रामक देखिएको इंग्ल्यान्डका लागि युवा स्टार जुड बेलिङ्घम नायक सावित भए। उनले ३६औँ र ३८औँ मिनेटमा दुई मिनेटको छोटो अन्तरमा गोल गर्दै इंग्ल्यान्डलाई २–० को ठोस अग्रता दिलाए। यद्यपि, पहिलो हाफको अन्त्यतिर मेक्सिकोका जुलियन क्विनोनेसले एक गोल फर्काउँदै खेलमा प्रतिस्पर्धाको सम्भावना कायम राखेका थिए।
दोस्रो हाफ इंग्ल्यान्डका लागि ठूलो चुनौतीपूर्ण रह्यो। ५४औँ मिनेटमा जारेल क्वान्साहले खतरनाक ट्याकलका कारण रातो कार्ड बेहोर्दै मैदान बाहिरिएपछि टोली ठूलो दबाबमा पर्यो। तर, हार नमानेको इंग्ल्यान्डले ६०औँ मिनेटमा कप्तान ह्यारी केनको पेनाल्टी गोलमार्फत अग्रता ३–१ मा पुर्यायो। ६९औँ मिनेटमा मेक्सिकोका राउल जिमेनेजले पेनाल्टीमार्फत अर्को गोल थपेर अन्तर कम गरे पनि घरेलु टोलीले बराबरी गोल फर्काउन सकेन।
अन्तिम समयमा मेक्सिकोले निरन्तर दबाब सिर्जना गरे पनि गोलरक्षक जोर्डन पिकफोर्डको उत्कृष्ट प्रदर्शन र इंग्ल्यान्डको बलियो रक्षापंक्ति अगाडि घरेलु टोली निरिह बन्यो। यस जितसँगै अब इंग्ल्यान्डले क्वाटरफाइनलमा ब्राजिललाई स्तब्ध पार्दै अघि बढेको नर्वेको सामना गर्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment