निर्दोष भएर पनि २३ वर्ष जेलमा बस्न बाध्य भएका व्यक्तिलाई ६ करोड रुपैयाँ क्षतिपूर्ति

डिसी नेपाल
२० फागुन २०७७ १७:२३

काठमाडौं। निर्दोष हुँदाहुँदै पनि जेलमा २३ वर्षसम्म बस्न बाध्य पारिएका एक व्यक्तिले अन्ततः न्याय पाएका छन् । अदालतले ती व्यक्तिलाई निर्दोष ठहर गर्दै उनलाई क्षतिपूर्तिको रुपमा ५ लाख डलर (५ करोड ८३ लाख रुपैयाँ) क्षतिपूर्ति दिइनुपर्ने फैसला गरेको छ । कर्टिस फ्लावर नामका यी व्यक्तिलाई १९९७ मा पक्राउ गरिएको थियो । उनीमाथि भिनोना सहरमा ४ जनाको हत्या गरेको आरोप थियो । घटना एक फर्निचर स्टोरमा भएको थियो ।

युएसए टुडेका अनुसार त्यसपछि उनलाई जेलमा राखिएको थियो । २३ वर्षपछि २०१९ मा मात्र उनी जेलबाट छुटेका थिए । मिसिसिपीका न्यायाधीश जर्ज मिचेलले सरकारको नाममा आदेश जारी गर्दै कर्टिसलाई हरेक वर्ष ५० हजार डलरका दरले १० वर्षसम्म पैसा दिन आदेश दिएका हुन् । यसका अलावा वकिलको शुल्कवापत थप ५० हजार डलर समेत कर्टिसलाई दिन न्यायाधीशले आदेश दिएका छन् ।

घटना भएको फर्निचर स्टोरमा कर्टिसले काम गर्थे । उनले घटना हुनुभन्दा २ हप्ता पहिलेदेखि मात्र त्यो स्टोरमा काम गर्न सुरु गरेका थिए । कर्टिसको केसमा न्यायसम्पादनमा लापरवाही भएको र उनलाई आरोप प्रमाणित नहुँदा पनि कैयौं वर्षसम्म जेलमा राखिएको समेत खुलासा भएको छ । अमेरिकी मिडियासँग कुरा गर्दै कर्टिसले क्षतिपूर्तिवापत प्राप्त धनराशी अलि बढी हुनुपर्ने बताउँदै जे भए पनि आफूलाई राम्रो लागेको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *