सुनको आपूर्ति बढाउन पहल गर्ने मन्त्री भट्टकाे प्रतिबद्धता

डिसी नेपाल
२० फागुन २०७७ २१:५६

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुनको आपूर्ति बढाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । बजारमा कच्चा सुनको अभाव देखिएपछि तत्काल आपूर्ति वृद्धि गर्न सुनचाँदी व्यवसायीले गरेको आग्रहपछि मन्त्री भट्टले समस्या समाधानका लागि पहल गर्ने बताएका हुन् ।

महासङ्घका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा आज गएको सुनचाँदी व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग मन्त्री भट्टले बजारमा देखिएको सुनको अभावबारे आफू पनि जानकार रहेको उल्लेख गरे ।

बजारको आवश्यकताअनुसार कच्चा सुन आपूर्ति नभए त्यसले कालोबजारीलाई समेत प्रोत्साहन गर्न सक्नेतर्फ सचेत रहनुपर्नेमा उनले जोड दिए । सो अवसरमा महासङ्घका अध्यक्ष शाक्यले बजारमा कच्चा सुनको चरम अभाव देखिएकाले तत्काल समस्या समाधान गर्न मन्त्री भट्टसँग आग्रह गरे ।

कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकाले अहिलेको समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक २५ देखि ३० किलोसम्म सुनको माग रहेकाले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ । लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *