पोस्टमार्टम गर्न लाग्दा लाशको हातका रौं ठाडो भए, त्यसपछि…
काठमाडौं। २७ वर्षका एक युवकलाई डाक्टरहरुले मृत घोषित गरिदिएपछि उनलाई अर्को अस्पतालमा लगेर पोस्टमार्टम गर्न लाग्दा अचानक उनको हातका रौहरु ठाडो भए । आश्चर्यजनक र अविश्वसनीय लाग्ने यो घटना सत्य हो । घटना भारतको कर्नाटक राज्यमा भएको हो । हिन्दूस्तान टाइम्सका अनुसार पोस्टमार्टम गर्न लाग्दा लाशको हातका रौहरु उठे अनि उनको शरीरमा हल्का हलचल पनि देखियो । यो सब देखेर चकित परेका डाक्टरले उनलाई तत्काल अस्पतालमा सारे । अहिले उनको शरीरले उपचारप्रति प्रतिक्रिया दिइरहेको छ र उनको उपचार जारी छ ।
कर्नाटकको महालिंगापुरमा २७ फेब्रुअरीमा २७ वर्षका युवक शंकर गोम्बी दुर्घटनामा परेका थिए । उनलाई तत्काल एक निजी अस्पतालमा भर्ना गरियो । अस्पतालमा २ दिन राखिएपछि अस्पतालले शंकरलाई ब्रेन डेड घोषित गरिदियो । अस्पताल प्रशासनले शंकरका परिवारसँग शव लिएर जान र सरकारी अस्पतालमा पोस्टमार्टम गराउन भने । निजी अस्पतालबाट शंकरको शरीरलाई बगलकोटस्थित महालिंगापुर सरकारी अस्पताल पठाइयो ।
यता डाक्टरहरुले पोस्टमार्टमको तयारी थाले भने उता शंकरका परिवारले अन्तिम संस्कारको तयारी सुरु गरे । अस्पतालले डा. एसएस गालगलीलाई पोस्टमार्टमको जिम्मेवारी दियो । डा. गालगली अस्पताल पुग्दा शंकरलाई भेन्टिलेटरमा राखिएको थियो । शंकरका परिवारका अनुसार निजी अस्पतालका डाक्टरले उनीहरुलाई भेन्टिलेटर हटाउनासाथ शंकरको सास रोकिने बताएका थिए त्यसैले पोस्टमार्टम अघिसम्म उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
डा. गालगलीका अनुसार उनले शंकरको शरीरको पोस्टमार्टम गर्नुभन्दा पहिले जाँच गर्ने सोच बनाए । त्यही बेला डा. गालगलीले शंकरको हातका रौं ठाडो भएको देखे । उनको हातमा हल्का हलचल पनि महसुस भयो । डा. गालगलीले तत्काल अक्सिमिटरमा उनको मुटुको धडकन जाँच गरे, ढुकढुकी चलिरहेको थियो । डा. गालगलीले भेन्टिलेटर हटाए । त्यसपछि जे भयो त्यो देखेर सबै मानिसहरु चकित परे ।
शंकरको हात जोडले हल्लियो । त्यसपछि डा. गालगलीले शंकरका परिवारलाई बोलाएर यो खबर सुनाए । उनले परिवारलाई शंकरलाई अर्को अस्पतालमा लगेर उपचार गराउन भने । परिवारले तत्काल शंकरलाई अस्पताल लिएर गए जहाँ २ दिनदेखि शंकरको उपचार भइरहेको छ । शंकर जीवित छन् र उनका शरीरका अंगहरुले उपचारप्रति प्रतिक्रिया दिइरहेका छन् । डा. गालगलीले आफूले १८ वर्षको करिअरमा ४ सयभन्दा धेरै पोस्टमार्टम गरेको तर यस्तो केस कहिल्यै नदेखेको बताए ।
बागलकोट पुलिससँग यसबारे सोध्दा एक पुलिस अधिकारीले नाम नखुलाउने शर्तमा अहिलेसम्म कसैले पनि कुनै उजुरी गर्दा नगराएको बताए । पुलिस अधिकारीका अनुसार मेडिकल लापरवाहीको विरुद्ध मुद्दा चलाउने कि नचलाउने भन्ने निर्णय गर्ने कुरा जिल्ला स्वास्थ्य विभागको कार्यक्षेत्रभित्र पर्छ । निजी अस्पतालविरुद्ध मुद्दा चलाउने वा नचलाउने भन्ने निर्णय विभागले गर्नुपर्छ । निजी अस्पतालसँग यो घटनाबारे सोध्दा अस्पतालले जवाफ दिन अस्वीकार गरेको छ ।
Facebook Comment