मानिससहित प्राणी र वनस्पति समाप्त हुनेछन्, पृथ्वीमा ब्याक्टेरियाको कब्जा हुनेछ

डिसी नेपाल
२२ फागुन २०७७ १३:५०

काठमाडौं। भविष्यमा पृथ्वीमा मानिससहित प्राणाी र वनस्पतिको अस्तित्व समाप्त हुनेछ र पूरै पृथ्वीमा ब्याक्टेरियाको कब्जा हुनेछ । भविष्यमा पृथ्वीमा अक्सिजनको मात्रा अत्याधिक कम भएपछि यस्तो अवस्था आउने जापान र अमेरिकाका वैज्ञानिकहरुले खुलासा गरेका छन् । वैज्ञानिकका अनुसार १ अर्ब वर्षपछि पृथ्वीमा अक्सिजनको स्तर निकै कम हुनेछ । यो अवस्थाका कारण जटिल एयरोबिक जीव र फोटोसिन्थेटिक जीवको जीवनमा संकट आउनेछ । यी जीवहरु समाप्त हुने आशंका अत्याधिक हुनेछ ।

अहिले पृथ्वीको बायुमण्डलमा अक्सिजन करिब २१ प्रतिशत छ । मानिसजस्ता जटिल संरचना भएका जीवलाई अक्सिजन अत्याधिक आवश्यक हुन्छ । पृथ्वीको सुरुवातमा भने यहाँ अक्सिजन निकै कम थियो । यही अवस्था भविष्यमा १ अर्ब वर्षपछि फेरि हुनेछ । जापानको टोहो युनिभर्सिटीका वैज्ञानिक काजुमी ओजाकी र एटलान्टाको जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीका क्रिस रिनहार्डले पृथ्वीको पर्यावरण, जैविक, भौगर्भिक प्रणालीको एक मोडल तयार गरेका छन् । यसबाट उनीहरुले पृथ्वीमा भविष्यमा हुने बायुमण्डलीय परिवर्तनको गणना गरिरहेका छन् ।

न्यू साइन्टिस्टमा प्रकाशित रिपोर्टअनुसार यी वैज्ञानिकहरुले आगामी १ अर्ब वर्षसम्म पृथ्वीमा अक्सिजनको स्तर अहिलेजस्तै रहने तर त्यसपछि अक्सिजनको स्तरमा भयावह कमी आउने बताएका छन् । वायुमण्डलमा अक्सिजनको उपस्थिति स्थायी उपलब्धी रहने छैन । यसको पछाडिको सबैभन्दा ठूलो कारण सूर्यको ढल्दो उमेरलाई बताइएको छ । सूर्यको उमेर ढल्दै जाँदा सूर्य धेरै तातो हुँदै जानेछ । सूर्य धेरै तातो हुँदा पृथ्वीमा रहेको कार्बन डाइअक्साइडमा यसको प्रभाव पर्नेछ । कार्बन डाइअक्साइड घट्दै जानेछ यसबाट सूर्यको गर्मी सोस्ने पृथ्वीको क्षमतामा कमी आउनेछ ।

यसो हुँदा पृथ्वीको बायुमण्डल टुक्रिन थाल्नेछ । कार्बनडाइअक्साइडमा कमी आउँदा फोटोसिन्थेसाइजिङ जीव समाप्त हुँदै जाँदा अक्सिजनमा भारी कमी आउनेछ । क्रिस रिनहार्डका अनुसार यो कमी निकै भयावह हुनेछ । अक्सिजनको स्तर अहिलेको समयको भन्दा लाखौं गुणा तल झर्नेछ । रुखबिरुवा नष्ट हुनेछन् र अक्सिजनको उत्पादनमा कमी आउनेछ । यी दुई वैज्ञानिकका अनुसार त्यो समयमा पृथ्वीको बायुमण्डलमा मिथेन ग्यासको मात्रा १० हजार गुणा बढ्नेछ ।

नेचर जियोसाइन्स जर्नलमा प्रकाशित शोधपत्रका अनुसार जब पृथ्वीको वायुमण्डलमा यस किसिमको परिवर्तन हुन थाल्नेछ यो निकै तीब्र गतिमा हुनेछ । १ अर्ब वर्षपछि अगाडिका १० हजार वर्षमै पृथ्वीमा अक्सिजनको स्तर समाप्त हुनेछ । काजुमी ओजाकीका अनुसार पृथ्वीको बायोस्फेयरले अचानक भइरहेको यो पर्यावरणीय परिवर्तनलाई सहन गर्न सक्ने छैन ।

त्यसपछि पृथ्वीमा केवल सूक्ष्म जीव मात्रै जीवित रहन सक्नेछन् । अहिले जुन एनएरोबिक र प्राचीन ब्याक्टेरिया लुकेर बसेका छन तिनीहरुले पृथ्वीमा राज गर्नेछन् । जमिन र समुद्रबाट जटिल जीवहरु समाप्त हुन थाल्नेछन् । अक्सिजनबाट पृथ्वीको ओजोन तह समाप्त हुनेछ । ओजोन तह समाप्त भएपछि पृथ्वी र समुद्र अत्याधिक तीब्र पाराबैजनी किरण र सूर्यको तापका कारण बिग्रिन थाल्नेछन् ।

यो अध्ययन नासाको प्लानेट ह्याबिटेबिलिटी परियोजनाको एक हिस्सा हो । जोन हप्किन्स विश्वविद्यालयकी नताली एलेन भन्छिन् ‘पृथ्वीमा अक्सिजन कैयौं रुपमा विद्यमान छ । यो त्यतिबेलादेखि पृथ्वीमा छ जतिबेलादेखि जीवनको सुरुवात भएको हो ।’ तर, नयाँ अध्ययनका अनुसार पृथ्वीमा अक्सिजनको स्तर कम हुन सक्छ । पृथ्वी सधैंका लागि प्राणीहरु बस्न अनुकूल रहने छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *