कोभ्याक्सको खोप आइतबार आउँदै, ७२ प्रतिशत जनसङ्ख्यालाई खोप दिने लक्ष्य

डिसी नेपाल
२२ फागुन २०७७ १७:४२

काठमाडौं । कोभ्याक्स संयन्त्रबाट प्राप्त हुने तीन लाख ४८ हजार खोप आइतबार नेपाल आउने भएको छ । सरकारले कोभ्याक्स संयन्त्रमार्फत एक करोड ३० लाख खोप ल्याउने तयारी गरेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा कोभ्याक्समार्फत बर्मा, श्रीलङ्का र नेपालले मात्र खोप पाउने भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले भारतको सेरम इन्स्टिच्युट कम्पनीसँग खरीद गरेको खोप पनि एक हप्ताभित्र आउने बताए। उनले आइतबारदेखि शुरु हुने खोप १५ हिमाली जिल्लाका ५५ वर्षभन्दा माथि र बाँकी अन्य जिल्लाका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लगाइने बताए । करीब ६ हजार खोप केन्द्रबाट प्रत्येक दिन दुई लाखका दरले खोप प्रदान गरिने उनको भनाइ छ । उनले असार १५ गतेसम्म ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई पहिलो र दोस्रो मात्राको खोप लगाइसक्ने तयारी रहेकोसमेत जानकारी दिए ।

खोप सबै नेपालीमा पुर्याउने सरकारको प्रयासः मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्याउने प्रयास भइरहेको बताए ।

मन्त्रालयले आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पुर्याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पुर्याउने प्रयासमा छौँ ।”

सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए । यसअघि सरकारले भारत सरकारको अनुदानमा १० लाख मात्रा खोप र खरीद गरेको १० लाख मात्रा खोप आइसकेको छ भने १० लाख मात्रा खोप भारतबाट आउने प्रक्रियामा रहेको ।

मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप नेपालमा परीक्षणका लागि धेरै प्रयास भए पनि नदिएको स्पष्ट पारे । “खोपको परीक्षण नेपाली जनतामाथि गर्ने धेरै प्रयास भएका थिए”, उनले भने, “तर हामीले नेपाली जनतामाथि परीक्षण गर्न दिएनौँ ।” उनले अहिले तेस्रो चरणको परीक्षणपश्चात् विश्व स्वास्थ्य सङ्गठनले पनि अनुमोदन गरिसकेकाले ढुक्क भएर कोभिशिल्ड खोप लगाउन सबैमा आग्रह गरे । उनले खोपबारे गलत प्रचार नगर्नसमेत अनुरोध गरे ।

सरकारले भोलिदेखि दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप लगाउन थालेको छ । २० दिनसम्म चल्ने खोप अभियानमा १६ हजार ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिँदैछ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना भाइरसले आक्रमण नगर्ने भएकाले सबैलाई खोप लगाउन आग्रह गरे । यसअघि पहिलो चरणको खोप अभियानअन्तर्गत चार लाख २९ हजारले खोप लगाएका थिए । पहिलो चरण गत माघ १४ देखि फागुन १० गतेसम्म सञ्चालन भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *