ढुलमुलमा सरकार, मारमा निजी क्षेत्र

उपेन्द्र शाही
२४ फागुन २०७७ ६:५६

काठमाडौं। सरकारले पर्यटक आगमन सम्बन्धी सहजीकरण व्यवस्थामा ढिलाई गर्दा त्यसको प्रत्यक्ष असर नेपालको उड्यन क्षेत्र र पर्यटन व्यवसायमा परेको छ। पर्यटन व्यवसायीहरुले पटक पटक पर्यटक आवागमन सहजीकरण गर्न सरकारलाई अनुरोध गर्दै आएका छन्।

व्यवसायीहरुको पर्यटक आगमनसम्बन्धी व्यवस्था सहजीकरण गर्न गरेको माग मन्त्रालयमा बुझाएको तीन महिना बित्दा पनि सम्बोधन हुन सकेको छैन। मन्त्रालयले भुलेको भन्दै व्यवसायीहरुले पुनः पत्रकार सम्मेलन गरेर मन्त्रालयका सचिवलाई ध्यानाकषर्ण गराएका छन्।

सरकारको ढुलमुले नीतिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण सबैभन्दा धेरै थलिएको पर्यटन क्षेत्र र हवाई उड्यन क्षेत्रलाई प्रत्यक्ष असर पारेको छ। हाल आन्तरिक पर्यटन पुरानै अवस्थामा फर्किन लाग्दा पनि अन्तर्राष्ट्रिय पर्यटनमा भने सुधार हुन सकेको छैन।

सरकारले पर्यटक आवागमन सहजीकरण सम्बन्धी व्यवस्था सम्बोधन नगर्दा व्यवसायी थप मारमा परेको व्यवसायीहरुले गुनासो गरेका छन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले सरकारले पर्यटन क्षेत्रलाई हेला गरेको बताए।

उनले भने, ‘कोभिडको प्रभावबाट थलिएको सबैभन्दा धेरै पर्यटन क्षेत्र हो। सरकारले आवश्यक नीति नियममा सहजीकरण गर्दा व्यवसायीहरु थप मर्कामा परेका छन्। तीन महिना बित्यो हामीले पर्यटक आवागमन सम्बन्धी व्यवस्था सहजीकरण गर्न सरकारलाई अनुरोध गरेको। सरकारले सम्बोधन गर्नु त कहाँ हो कहाँ बरु पत्रकार सम्मेलन गरेर मन्त्रालयका सचिवलाई पुनः ध्यानआकर्षण गराउनु प-याे।’

सरकारले यति धेरै सभा तथा जुलुस गरिरहँदा कोरोना नफैलिने तर, विदेशबाट कोरोना नेगेटिभ भएका र खोप लगाएका मानिसहरुले भने क्वारेन्टाइन बस्नु पर्ने यो कस्तो नीति हो?’ उनले प्रश्न गर्दै भने, ‘सरकारले पर्यटन क्षेत्रलाई पुर्नउत्थान गर्न चाहेको छ भने पर्यटक आवागमनसम्बन्धी व्यवस्था परिवर्तन हुन जरुरी छ।’
व्यवसायीहरुले अनअरआइभल भिसा खुला गर्नु पर्ने, पर्यटकले इन्सुरेन्स गर्दा ५ हजार डलरलाई कम गरिनु पर्ने, अन्तर्राष्ट्रिय सीमा नाकाहरु खोलिनु पर्ने, विमानस्थलमा पीसीआरको व्यवस्था गरिनु पर्ने, क्वारेन्टाइनको व्यवस्थामा फेरबदल हुनु पर्ने लगाएतका माग राखेका छन्।

नेपाल पर्यटन बोर्डले भने सरकारलाई अनुरोध गरिएकोले अब छिट्टै त्यो व्यवस्था हुने बताएको छ। बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले व्यवसायीहरुको अनअराईभल भिसा सम्बन्धी र कोभिड १९ प्रोटोकल सम्बन्धी व्यवस्था पर्यटन मन्त्रालयमार्फत सीसीएमसीसम्म पुगेकोले अब छिट्टै निर्णय हुनेमा आफू आशावादी रहेको बताए।

उनले भने, “१४ दिनको क्वारेन्टाइनबाट ५ दिनमा झारिएको छ। तर, यो व्यवस्था कायम हुनु अनिवार्य छैन। हाल विभिन्न देशहरुले भाइरस सम्बन्धी खोप कार्यक्रम सञ्चालन गरिरहेका छन्। पहिलेको जस्तो अवस्था छैन। क्वारेन्टाइन प्रक्रियाले भ्रमण गर्न आउनेलाई झन्झटिलो मात्रै बनाएको छ। यसले धेरै पर्यटक निरुत्साहित हुन सक्छन्। त्यसैले छिटोभन्दा छिटो अनअरआइभल भिसा दिनु पर्ने र कोभिड १९ को प्रोटोकल सहज बनाउनु पर्छ।”

मारमा हवाई क्षेत्र पनि

आन्तरिक हवाई उडान पुरानै अवस्थामा फर्किन थाले पनि बाह्य पर्यटक नहुँदा अन्तर्राष्ट्रिय उड्यन भने बढ्न सकेको छैन्। जनजीवन सामान्य हुँदै गएको र कोरोना विरुद्धको खोप लगाउने मानिसहरुको संख्या बढेसँगै नेपालको आन्तरिक हवाई उड्यन क्षेत्र पुरानो अवस्थामा फर्किन थालेको छ। नेपाल नागरिक उड्यन प्राधिकरणले आन्तरिक उड्यन ७० प्रतिशत पुरानो अवस्थामा फर्किसकेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

प्राधिकराणले दिएको तथ्याकं अनुसार सन् २०२० को जनवरी महिनामा ६ हजार ५ सय ५३ वटा उडान भएका छन्। यस्तै यो सन् २०२१ को जनवरी महिनामा आन्तरिकतर्फ ६ हजार १ सय ६० उडान भएका छन्। यो संख्या सन् २०२० को जनवरी महिनाको तुलनामा भने बाह्य उडानको संख्या २ हजार ८ सय ३१ थियो।

जनवरी महिनामा ६ हजार ५ सय ५३ वटा फलाईट उडान भएका थिए। जसमा ६ लाख १४ हजार १ सय ९९ जनाले ओहोर दोहोर गरेका छन्। यो सन् २०२१ को जनवरी महिनाको भन्दा ३ सय ९३ फ्लाइट कम हो।

यस्तै सन् २०२० को आन्तरिकतर्फ फेबु्रअरि महिनामा १० हजार ८ सय ८६ उडान हुँदा २०२१ को फेबु्रअरि महिनामा ९ हजार ३ सय ७७ उडान भएका छन्। यो संख्या सन् २०२१ को भन्दा १५ सय ९ फ्लाइट कम हो।

अन्तर्राष्ट्रियतर्फ सन् २०२० को जनवरीमा २ हजार ८ सय ३१ फ्लाइट हुँदा सन् २०२१ को सोही समयमा ८ सय ८० फ्लाइट मात्रै हुन सकेका छन्। यो संख्या सन् २०२० को भन्दा १ हजार ९ सय ९१ फ्लाइट कम हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *