संसारका सबैभन्दा धनी व्यक्तिसँग डिभोर्स गरेर म्याकेन्जीले शिक्षकसँग बिहे गरिन्

डिसी नेपाल
२४ फागुन २०७७ ११:५५

काठमाडौं। संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोससँग सम्बन्धविच्छेद गरेकी म्याकेन्जी स्कटले एक शिक्षकसँग विवाह गरेकी छिन् । जेफ बेजोस र म्याकेन्जीको २०१९ मा सम्बन्धविच्छेद भएको थियो । बेजोससँग सम्बन्धविच्छेदपछि म्याकेन्जीले क्षतिपूर्तिको रुपमा ३८ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति पाएकी थिइन् ।

म्याकेन्जी एक लेखिका र समाजसेवी हुन् । न्यूयोर्क टाइम्सका अनुसार उनले अमेरिकाको सिएटलमा बस्ने विज्ञान शिक्षक ड्यान जेवेटसँग बिहे गरेकी हुन् । यी दुवैलाई परोपकारी काममा रुची छ र उनीहरुले साथमा परोपकारका लागि राम्रो रकम दान गर्ने तयारी गरेका छन् । जेफ बेजोस म्याकेन्जीसँग सम्पत्तिको ठूलो हिस्सा बाँडेपछि पनि अझै संसारका सबैभन्दा धनी छन् । उनको सम्पत्ति १७६.६ बिलियन डलर छ ।

बिहेपछि ड्यानले आफूले आम मानिसको जीवनमा परिवर्तन आउने गरी जीवनमा यति ठूलो रकम दान गर्न पाउँछु भन्ने कहिल्यै कल्पना नगरेको बताएका छन् । ड्यान कैयौं दशकदेखि शिक्षक छन् र उनी अहिलेसम्म पनि त्यउही लेकसाइड स्कुलमा पढाउँछन् जहाँ म्याकेन्जीका छोराछोरीले पढेका थिए । म्याकेन्जीले गएको जुलाइमा कोरोनाबाट प्रभावित मानिसहरुको सहयोगको लागि ११६ समाजसेवी संस्थाहरुलाई १.६८ अर्ब डलर रकम दान गरेकी थिइन् ।

म्याकेन्जी अमेरिकामा सबैभन्दा दान गर्ने व्यक्तिहरुमध्ये दोस्रो स्थानमा छिन् । पहिलो स्थानमा उनका पूर्वपति जेफ बेजोस नै छन् । उनले १० अर्ब डलर दान गरेर बेजोस अर्थ फण्ड बनाइसकेका छन् । २०१९ मा बेजोस र म्याकेन्जीको सम्बनधविच्छेदको प्रक्रिया पूरा भएको थियो । बेजोससँग छुट्टिएपछि म्याकेन्जी विश्वकी चौथो धनी महिला बनेकी थिइन् । यो विश्वको सबैभन्दा ठूलो डिभोर्स सेटलमेन्ट थियो । बेजोस र म्याकेन्जीको बिहे १९९३ मा भएको थियो । यसको एक वर्षपछि बेजोसले आफ्नो ग्यारेजबाट अमेजन कम्पनी सुरुवात गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *