युएइमा १३ हजार अविवाहितलाई घरबाट निकालियो

डिसी नेपाल
२४ फागुन २०७७ १२:५७

काठमाडौं। संयुक्त अरब इमिरेट्समा परिवारका लागि बसोवास गर्न भनेर तोकिएको क्षेत्रमा अवैध रुपमा बसोवास गरिरहेका १३ हजार अविवाहितलाई घरबाट निकालिएको छ । युएइको शारजाह शहरमा कुमार–कुमारीहरुविरुद्ध शारजाह सिटी म्युनिसिपलिटीले कारवाही गरेको हो । उनीहरुलाई ती आवासीय क्षेत्रबाट बाहिर निकालिएको छ जो केवल परिवारको लागि निर्धारित छन् ।

खलीज टाइम्सको रिपोर्टअनुसार एससीएमका महानिर्देशक थाबित अल तुरैफीले ब्याचलरहरुविरुद्ध कारवाही गरिएको पुष्टि गरे । यसको लागि शारजाहमा ठूलो अभियान चलाइएको थियो । अधिकारीहरुले यसको लागि ३ हजार भन्दा धेरै पटक ती आवासीय क्षेत्रमा निरीक्षण भ्रमण गरेका थिए । यही क्रममा अवैध रुपमा नियम उल्लंघन गरेर बसिरहेका १३ हजार जनामाथि कारवाही गरिएको हो ।

शारजाहका कैयौं आवासीय टावरमा अवैध रुपमा बसिरहेका अविवाहितहरुलाई बाहिर निकालिएको हो । यी टावर केवल परिवारको बसोवासको लागि निर्धारित छन् । यो अभियानमा पुलिस र शारजाह विद्युत, पानी र ग्यास प्राधिकरणको पनि सहयोग लिइएको थियो । शारजाहका शासक तथा सुप्रिम काउन्सिलका सदस्य डा. शेख सुल्तान मोहम्मद अल कासिमीले अवैध रुपमा बस्नेहरुविरुद्ध अभियान चलाउन आदेश दिएका थिए ।

अल तुरैफीका अनुसार परिवारका लागि निर्धारित क्षेत्रमा बस्नेहरुलाई आदर्श वातावरण दिनको लागि यस किसिमका अभियान भविष्यमा पनि जारी रहनेछ । अल तुरैफीले आम मानिसहरुसँग यस्तो कुनै पनि उल्लंघनबारे जानकारी भए तत्काल अधिकारीहरुलाई सूचित गर्न आग्रह गरेका छन् ताकि त्यस्ता स्थानमा निरीक्षणपछि नियम उल्लंघन गर्नेविरुद्ध कारवाही गर्न सकियोस् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *