१२ वर्षको उमेरमा आमा बलात्कृत भएपछि जन्मेका छोराले २६ वर्षपछि आमाको लागि न्याय खोज्दै

डिसी नेपाल
२४ फागुन २०७७ १७:३८

काठमाडौं। १२ वर्षकी बालिका बलात्कारको शिकार भइन् तर उनले न्याय पाइनन् । उनी गर्भवती भइन् त्यसपछि एक छोरालाई जन्म दिइन् । आमाले छोरालाई हुर्काउँदै गइन् । अहिले ती छोरा २४ वर्षका भए । अहिले तिनै छोरा आमालाई न्याय दिलाउन लागिपरेका छन् । भारतको उत्तर प्रदेशको शाहजहाँपुरमा ती महिलाले घटनाको २६ वर्षपछि दुई साख्खै दाजुभाइविरुद्ध बलात्कारको उजुरी दिएकी छिन् । महिलाका अनुसार उनी १२ वर्षकी हुँदा यी दाजुभाइले उनलाई बलात्कार गरेका थिए ।

महिलाका अनुसार बलात्कारपछि उनले छोरा जन्माएकी थिइन् तर बदनामीको डरले एक दम्पतीलाई छोरा पाल्न दिएकी थिइन् । तर, यो रहस्य पछि खुल्यो । उनका छोराले ठूलो भएपछि आमासँग नै प्रश्न सोध्न थालेपछि अन्ततः उनले छोरालाई सबै कुरा बताउनु पर्यो । महिलाका अनुसार १२ वर्षको उमेरमा उनी दिदी भिनाजुको घरमा बस्थिन् । छिमेकका दाजुभाइले उनलाई बलात्कार गरेका थिए । पछि पनि उनीहरुले उनलाई बलात्कार गरिरहे । उनी गर्भवती भइन् तर उनको उमेर कम भएकोले डाक्टरले गर्भपतन गर्न मानेनन् र उनले छोरा जन्माइन् । छोरा उनले एक दम्पतीलाई पाल्न दिइन् ।

४–५ वर्षपछि उनको विवाह भयो । विवाहपछि उनले अर्को एक छोरा जन्माइन् । तर, विवाहको केही वर्षपछि नै उनका पतिले उनको अर्को एक छोरा भएको थाहा पाए । त्यसपछि पतिले पनि उनलाई छोडिदिए । जुन दम्पतीले उनको छोरा पाल्नको लागि लिएका थिए उनीहरुले पनि छोरा फर्काइदिए । अहिले जेठा छोरा २४ वर्षका र कान्छा छोरा १९ वर्षका छन् । जेठा छोराले १० कक्षापछि पढ्न छोडे । कान्छा छोराले इन्टरमिडिएटसम्म पढेका छन् । अहिले महिला लखनउमा बस्छिन् ।

ठूलो भएपछि महिलाका छोराले आफ्नी आमाको सानैमा बलात्कार भएको र आफू जन्मिएको थाहा पाए । त्यसपछि उनले आमासँग उनको शोषण गर्नेहरुको बारेमा सोध्न थाले । छोराले लगातार सोध्न थालेपछि महिलाले अन्ततः पुलिसमा आएर उजुरी दर्ता गराइन् । तर, घटना भएको २६ वर्ष भइसकेकोले पुलिसले उजुरी लिन मानेन । पुलिसले उजुरी नलिएपछि उनका छोराले अदालतको ढोका ढक्ढक्याए । अन्ततः अदालतको आदेशपछि मुद्दा दर्ता भएको छ । अदालतको आदेशमा मुद्दा दर्ता गरिएपछि अब आरोपीहरुको डिएनए परीक्षण गरिनेछ र प्राप्त प्रमाणको आधारमा कारवाही गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *