कविता : मलाई फेरि पनि जन्मिन मन छ

डिसी नेपाल
२९ फागुन २०७७ ७:५६

देख्दैछु म आज पनि
सिमाना नजिकको मेरो सानो गाउँ
जहाँ गाडिएको छ झण्डा दुई देशको
जहाँ टाँगिएको छ बोर्ड सीमानाको
बीस बर्षपछि देख्दैछु म आज पनि
त्यहाँ हिँडदैछन् पाइलाहरू
बसेका छन् लुकेर मान्छेकै नजरबाट
देख्दैछु म युद्धभूमिमा मान्छे
कुनै पेसाको
फरक फरक कपडा
फरक फरक देशको।
फरक अनुहारको तर
रगत बग्ने रगत रातो।
कपडाले बनाउँदैछ मान्छेको पहिचान
आज तिनै कपडामा बारूद उड्यो
किल्ला लड्यो गोली बर्स्यो
आवाज गुञ्जियो ‘आमा’
मेरो मातृभूमिू
रगतको खोला बग्यो
लास ओछ्याईए
थाहा छैन मलाई कसले जित्यो कसले हार्यो
किन जित्यो किन हार्यो
अनि देशले के पायोरुजनताले के पाए?

झलझली आयो आँखामा बीस बर्ष अघि
यस्तै भएको थियो
देखेको थिएँ मेरा साना कलिला आँखाले
नजिकै गाउँमा बस्ने मेरा आमा-बा
डरले कामिरहेका
अनि म यो सब देखिरहेथेँ,सुनिरहेथेँ
कलिला यी आँखाले,यी कानले
अनुभव गर्दैछु कलिलो बालमनले
मलाई काखमा च्यापी डराईरहेकी आमाको कम्पित मुटु
अनि जीवन र मृत्युको भय आँखाभरि
प्श्न गर्छु आमा किन भको युद्दरुमान्छे त उस्तै छन्
उनीहरू फरक देहका हुन् बाबू
सीमायुद्ध हो यो साम्राज्यको
मान्छेले मान्छे मार्छन्।

सोच्छु म आज पनि आमाको उत्तरमाथि
ती पनि मान्छे यी पनि मान्छे
जन्माउने उही आमाबा
उही सहबासबाट
फरक छ केवल जन्मेको देशमा
धर्ममा अनि रङमा
पृथ्वी त उहीँ शरिर त उही अनि रगत पनि
देश,धर्म,जाति,स्तर फरक भए के मान्छे फरक हुन्छ?
मान्छेको शरीर बदलिन्छ कि
शरीरको रगत पनि सेतो बग्छ ?
त्यसैले त मलाई पटक पटक जन्मन मन छ
फरक जातिमा,फरक धर्ममा अनि फरक फरक देशमा
अनि अनुभव गर्न मन छ
फरक धर्मको,फरम लिङ्गको,फरक जातको
फरक देशमा
फरक पेसामा
कारण खोज्न मन छ
युद्धको,अशान्तिको

सायद धर्तिमाता भन्थिन क्यार
मान्छे देशअनुसार फरक हुन्छ
धर्तिले धन हेरेर अन्न उब्जाउँछिन्
धनी र गरिबको लाउने कपडा फरक हुन्छ
अनि फरक हुन्छ खाने मुख
फरक हुन्छ फेर्ने सास
फरक हुन्छन् धनी देश र
गरिब देशमा जन्मेका मानिस
अनि फरक हुन्छ शरीरको रगत पनि
पृथ्वीले भन्यो क्यार
धर्म जात रङ्ग र देशले रगतमा फरक पार्छ
अनि शरीरमा
युद्द गर,रगत बगाऊ
तिम्रो देश फरक छ र मान्छे फरक छौं।
मलाई प्रश्न सोध्न मन छ
के धर्तीमाताले विभेद गरेकी हुन्रु
के पृथ्वीले पनि विभेद गरेकी हुन्रु

ममा प्रश्नहरूको क्रान्ति जन्मेको छ
बारूदको झिल्को उडेको छ
म सोध्न चाहन्छु
म खोज्न चाहन्छु
धर्तीलाई, यो पृथ्वीलाई
किन हुन्छ युद्ध?किन मारिन्छन् मान्छे?
म प्रश्नहरूको विगुल फुक्न चाहन्छु
प्श्नमै उत्तर छ अनि उत्तरमै प्रश्न
म सोच्न चाहन्छु
म हिड्न चाहन्छु
एउटा स्वतन्त्र धर्तीमा स्वतन्त्र पृथ्वीमा
म फुक्न चाहन्छु शान्तिको बिगुल
समानताको विगुल
एउटा सिङ्गो पृथ्वीमा
सिङ्गो पृथ्विको अस्तित्वमा
अस्तित्वको बिगुल
अनि म जन्मिन चाहन्छु
फेरि पनि पटक पटक
फरक देशमा,फरक धर्ममा,फरक जातिमा,फरक पेसामा
अनि देख्न मन छ रगतको रङ
के फरक होला?
हेर्न मन छ हारजितको युद्ध
मलाई फेरि पनि जन्मिन मन छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *