बालुवाटारको चियापानमा ओलीको सन्देश के हाे ?

उपेन्द्र शाही
३ चैत २०७७ १५:३०

काठमाडौं। पछिल्लो एक महिनामा नेपालको राजनीतिक वृत्तमा उथलपुथल आएको छ। सर्वोच्च अदालतले गरेको पछिल्ला महत्वपूर्ण दुईवटा फैसला पश्चात संसद र दुई ठूला सरकारमा रहेका दल नेकपा एमाले र माओवादी केन्द्र व्यूँतिएका छन्। यसपश्चात पुर्नजीवित नेकपा एमालेमा यतिखेर माहोल गर्माएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक ११ बजे सुरु हुने पूर्व कार्यतालिका थियो। तर, बैठक ढिलो गरी सुरु भयो। त्योबीचमा नेता कार्यकर्ताहरुमाझ केही अनौपचारिक छलफल भएको थियो। पत्रकारहरुलाई एक घण्टा बाहिर राखेर १२ बजे मात्रै भित्र प्रवेश अनुमति दिइयो।

आजको बैठक नेकपा एमालेको नेपाल समूहले आयेजना गर्न लागेको ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको काउन्टरको रुपमा अथ्र्याइएको छ। तर, एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली समूहले भने यो बैठकलाई पार्टीभित्र तिक्तताको माहोल अन्त्य गरी हार्दिकताको माहोल निर्माण गर्नको लागि प्रयासकारुपमा चियापान कार्यक्रम आयोजना गरिएको बताएको छ।

सोमबारमात्रै प्रधानमन्त्री आली र नेपालबीच पार्टीभित्रको विवादको बारेमा छलफल भएको थियो। उक्त बैठकलाई ओली पक्षले सकारात्मक रुपमा लिए पनि नेपाल पक्षले भर्ने संवादहिनताको अवस्थामा बैठक बस्नु राम्रो भएपनि अन्तिममा खल्लो महशुस भएको प्रतिक्रिया दिएको छ।

नेपाल पक्षले ओली समूह गत फागुन २८ गतेको निर्णयबाट ब्याक हुनुपर्ने माग राखेको थियो। ओली समूह त्यसबाट ब्याक नहुने छनक पाएपछि नेपाल समूहले यस्तो बताएको हो। यस्तै सोमबार उक्त बैठक सकिने बित्तिकै नेपाल समूहले अर्याल होटेलमा कार्यक्रम गर्यो। जसअनुसार पूर्वनिर्धारित राष्ट्रिय कार्यकर्ता भेला ४ र ५ गते आयोजना हुने बैठकलाई निरन्तरता दिने निर्णय गर्यो। उक्त बैठकले नै ओली समूहले बोलाएको मंगलबारको चियापान कार्यक्रममा कोही पनि नजान निर्देशन जारी गरेको थियो। उक्त निर्णय अनुसार नै सबै नेता तथा कार्यकर्ता गएनन्।

मंगलबारको चियापानमा एमाले अध्यक्ष ओलीको सन्देश

नेपाल समूह नआएको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओली कडा रुपमा प्रस्तुत भए। उनले नेपाल समूहको अनुउपस्थितिलाई जोडेर भने, ‘पार्टीको बैठकमा साथीहरुको उपस्थिति नभएको कुनै कारणवस होला भन्ने हामीलाई लाग्छ। केही जानकारी प्राप्त भएको त छैन। उहाँहरु समानान्तर कमिटी गठन गरेरे अगाडि बढ्ने भनेको सुन्न पाएको छु। त्यस्तो होइन होला।’

प्रधानमन्त्री ओलीले चियापान कार्यक्रमको आयोजनको बारेमा भने, ‘चियापान आयोजना गर्नुको खासै कारण त केही थिएन। पार्टीभित्रका साथिहरुको भेटघाट पनि नभएको अवस्था र संसद पनि चल्न नसकेको अवस्था छ। यस्तो अवस्थामा एउटा पार्टीका नेताकार्यकर्ताहरुमा हार्दिकता थपोस र एकताको सन्देश जान मद्दत गरोस भन्ने हो। उनले एउटा नयाँ परिस्थिति निमार्ण भइसकेको अवस्थामा प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिए।

उनले सभामुखको भूमिकालाई कडारुपमा आलोचना गर्दै सरकारप्रमुखले सेटिङमा चलेको आरोप लगाए। संसदलाई दलको खिचातानिको विषय नबनाई जनताका हक हितका मुद्दा र मागहरु सम्बोधन हुने थलो बनाउनु पर्ने बताए।

उनी आफ्नो पार्टीको अर्को पक्षले गरेको क्रियाकलापप्रति भने आवश्यक परे निकै कडा रुपमा प्रस्तुत हुने संकेत गरेका छन्। कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पार्टीमा बसेर पार्टीको एकता विरोधी कुराहरुलाई अब सहन नसकिने बताए। उनले भने, ुपार्टीमा बस्ने जो कोहीले पार्टीको विचारमा एकमत र अनुशासनको पालना गर्नुपर्छ।’

उनले रुष्ट पक्षलाई कारवाहीको चेतावनी दिँदै भने, ‘कानुनको नजरमा सबै बराबर छन्। पार्टीको एकता विरोधि बोल्ने जो कोहीलाई संविधान, पार्टीको विधान, संसद नियमावली, संसदीय दलको निर्णय अनुसार चल्नु पर्छ। नभए कारवाही हुन सक्छ।’ यस्तो अवस्थामा मात्रै पार्टी गतिशिल र एकतावद्ध भएर अगाडि बढ्ने बताए।

यस्तै नेपाल पक्षले आयोजना गर्न लागेको ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलातर्फ संकेत गर्दै उनले कोही पनि नेता कार्यकर्तालाई गुटगत भेलामा नजान सचेत गराए। नयाँ परिस्थितिमा नयाँ ढंगले अगाडि बढ्नु पर्ने बताउँदै उनले एकदमै अपराध गर्नेलाई पनि आलोचना र आत्मआलोचनाका माध्यमबाट आउने जो कोहीलाई पार्टीको ढोका खुला रहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *