कप्तानगञ्ज घटनामा सरकारको मौनताप्रति कांग्रेसको आपत्ति, निष्पक्ष छानबिनको माग
काठमाडौं। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक झडप र त्यसपछि उत्पन्न परिस्थितिबारे सरकारसँग स्पष्ट जवाफ माग गर्दै निष्पक्ष छानबिनको जोडदार माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा बोल्दै सांसद थापाले घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिन्। साथै, उनले झडपमा परी घाइते भएका सर्वसाधारण र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिन्।
नेपालको विविधताभित्रको एकता नै राष्ट्रिय शक्ति भएको उल्लेख गर्दै सांसद थापाले कुनै पनि बहानामा साम्प्रदायिक द्वन्द्व फैलाउने प्रयास संविधान, लोकतान्त्रिक मूल्य र नेपाली समाजको आत्मामाथिकै प्रहार भएको बताइन्। नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन र कसरी सिर्जना भयो भन्दै प्रश्न उठाउँदै उनले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र न्यायिक एवम् विश्वसनीय छानबिन हुनुपर्ने माग राखिन्।
सम्बोधनका क्रममा सांसद थापाले उक्त घटनापछि प्रधानमन्त्री वालेन्द्र शाहले विगतमा सामाजिक सञ्जालमा लेखेका टिप्पणीहरूको स्मरण गराएकी थिइन्। प्रधानमन्त्रीको विगतको आक्रामक अभिव्यक्ति र वर्तमानको मौनतालाई तुलना गर्दै उनले पद परिवर्तन भएसँगै नेतृत्वको दायित्व र व्यवहार पनि परिवर्तन भएको हो कि भनी प्रश्न गरिन्।
सन्तान गुमाउने पीडा सबै अभिभावकका लागि समान हुने उल्लेख गर्दै कप्तानगञ्जमा एक युवाको ज्यान जाँदा र दर्जनौँ नागरिक घाइते हुँदा पनि सरकार संवेदनशील नदेखिएको आरोप उनले लगाइन्। प्रधानमन्त्री र गृहमन्त्री दुवैको मौनताले सरकारको जवाफदेहितामाथि गम्भीर प्रश्न उब्जाएको उनको भनाइ थियो।
नेतृत्व केवल प्रशासन सञ्चालनमा मात्र सीमित नभई सङ्कटका बेला राष्ट्रको मनोबल सम्हाल्ने र भरोसा दिने दायित्व पनि भएको बताउँदै उनले आफ्नै नागरिकको मृत्युमा राज्य मौन बस्दा न्याय प्रणाली र सरकारप्रतिको विश्वास कमजोर हुने चेतावनी दिइन्। नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व भएकाले त्यसबाट विमुख हुने छुट कसैलाई नभएको उनले स्पष्ट पारिन्।
सांसद थापाले सम्पूर्ण नेपालीलाई पहिचानको साझा आधार नेपालीत्व, सहअस्तित्व र भाइचारालाई मजबुत बनाउन आग्रह गर्दै कुनै पनि किसिमको अफवाह, घृणाको राजनीति र सामाजिक विभाजनबाट टाढा रहन आह्वान गरिन्। नेपालको भविष्य हिंसा र अशान्तिमा नभई सहनशीलता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा मात्र निहित रहेको उनको भनाइ थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment