सुनसरी घटनाको विरोधमा जनकपुरधाम बजार ठप्प

डिसी नेपाल
१४ साउन २०८३ १२:३५

जनकपुरधाम। हिन्दू सम्राट सेनाको आह्वानमा बिहीबार मधेश प्रदेशको राजधानी जनकपुरधामको बजार पूर्ण रूपमा बन्द गरिएको छ।

सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोध गर्दै जनकपुरधामका स्थानीय हिन्दू युवाहरूले बिहानैदेखि प्रदर्शनमा उत्रिएर बजार बन्द गराएका हुन्। प्रदर्शनकारीहरूले नगरका मुख्य-मुख्य चोकहरूमा टायर बालेर सरकार र गृहमन्त्रीविरुद्ध कडा नाराबाजी गरेका छन्।

प्रदर्शनका क्रममा उनीहरूले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका छन्। साथै, प्रदर्शनकारीहरूले हिन्दू राष्ट्र कायम हुनुपर्ने, मुस्लिम आयोग खारेज हुनुपर्ने र हिन्दू समुदायमाथिको आक्रमण बन्द हुनुपर्नेजस्ता नारा लगाउँदै बजार क्षेत्र परिक्रमा गरेका थिए।

बन्दका कारण जनकपुरधामको सम्पूर्ण व्यापारिक प्रतिष्ठान, पसल तथा बजार ठप्प बनेको छ भने यातायात सेवासमेत प्रभावित भएको छ। अचानक भएको बजार बन्दका कारण सर्वसाधारणको दैनिक जीवनयापनका साथै टाढा-टाढाबाट आएका यात्रुहरू समस्यामा परेका छन्।

अप्रिय घटना हुन नदिन र शान्ति-सुरक्षा कायम राख्न जनकपुरका प्रत्येक मुख्य चोक तथा संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली तैनाथ गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *