पर्यटन र कला, संस्कृति जगेर्ना गर्न चौधरी ग्रुपकाे नौलो सुरुवात

उपेन्द्र शाही
५ चैत २०७७ ९:०९

काठमाडौं। गण्डकी प्रदेशको नवलपुरको हर्कपुर। चारैतिर हरियाली आर्कर्षक र मनमोहक दृष्य। त्यसमा सुन्दरता थपेको छ, ‘उन्नति कल्चरल भिलेज’ले। जुन चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा छ।

वरपर थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन्। चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन्। थारू जातिका दैनिकी झल्किने वस्तुले थारु समुदायको सिंगो तस्बिर झल्काउँछ। भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिने छ। करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ।

कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ। कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन्। अर्गानिक खेतीपातीको प्रवर्द्धन र विभिन्न खाद्यान्नउत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ। यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइने छ। सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइने छ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिब, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन्। भिलेजमा ‘कला बाटिका’ का लागि छुट्टै ठाउँ तयार गरिएको छ। जसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ।

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन्। त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पु-याउने योजना छ।

यस्तै नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन्। थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ। नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन्। घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ।

सिजी ग्रुपद्वारा प्रदेश ४ मा यूसीभी सञ्चालनमा

चौधरी फाउन्डेसनद्वारा नवलपुरको हर्कपुरमा निर्मित उन्नति कल्चरल भिलेज (यूसीभी) विधिवत् रूपमा सञ्चालनमा आएको छ। एक समारोहबीच गत फागुन २८ गते (शुक्रबार)देखि भिलेज सञ्चालनमा आएको हो। फाउण्डेसनले देशका सातै प्रदेशमा यस्ता सांस्कृतिक केन्द्र निर्माण गर्ने उद्देश्यअनुरूप पहिलो चरणमा प्रदेश न. ४ को नवलपुरमा सञ्चालनमा ल्याएको हो।

उद्घाटनपछि बोल्दै फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले वर्षौंदेखिको अथक प्रयास र लगनशीलताका कारण ‘यूसीभी’ बलियो गरी उभिएको बताए। कला, साहित्य र संस्कृति कुनै पनि समाजका जग भएको बताउँदै उनले यी जगलाई बलियो बनाउनु पर्नेमा जोड दिए। उन्नति सांस्कृतिक ग्राम वर्तमान र भविष्यको पुस्तालाई सोचेर बनाएको उनको भनाइ छ।

कला, साहित्य र संस्कृतिलाई अर्थतन्त्रसँग जोड्न सके मात्र जीवन्त हुने बताउँदै चौधरीले ‘यूसीभी’ त्यसकै थालनी भएको बताए। कुनै समयमा नेपालका पस्मिना र कार्पेट युरोपका घर घरमा देखेको स्मरण गर्दै अहिले त्यि कहाँ हराए कसैलाई थाहा नभएको बताए। त्यस्ता निधि जगेर्ना गर्न नसकेमा हरेक सांस्कृतिक अवयवहरू हराएर जाने उनले बताए।

फाउन्डेसनका उपाध्यक्ष तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले महिला जनजीविका, स्वावलम्बन, आर्थिक–सामाजिक उत्थान जस्ता क्षेत्रमा फाउन्डेसनले निरन्तर काम गर्दै आएको बताए।

नेपालका सबै कलाकार एवम्साहित्यकार आएर यहाँ आफ्नो कला एवम्साहित्य सिर्जना गर्न सकून भन्ने भिलेजको लक्ष्य छ। भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने र स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउने फाउण्डेसनको दावी छ। संस्कृतिक केन्द्रले स्थानिय कला र संस्कृतिको प्रवर्द्धन र सम्बर्द्धन गर्न मद्दत गर्ने लक्ष्य लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *