भरतपुरको ‘लर्ड्स बिजनेस कम्प्लेक्स’लाई तीन लाख जरिवाना
चितवन । भरतपुर महानगरपालिका-१० मा सञ्चालित ‘लर्ड्स बिजनेस कम्प्लेक्स’ले उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय चितवनले उक्त होटललाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ। उपभोक्ताहरूबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको टोलीले मंगलबार गरेको आकस्मिक अनुगमनका क्रममा होटलको भान्सामा गम्भीर लापरबाही भेटिएको हो।
अनुगमनका क्रममा होटलले मानव स्वास्थ्यका लागि हानिकारक गुणस्तरहीन खाने तेलको प्रयोग गरिरहेको फेला परेको थियो। साथै, भान्सामा प्रयोग गरिएका तरकारीहरू ताजा नभएको र समग्रमा खानेकुराको स्वच्छतामा समेत गम्भीर कमी पाइएपछि प्रशासनले तत्काल कारबाही अघि बढाएको हो।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार होटलको उक्त कार्य ‘उपभोक्ता संरक्षण ऐन, २०७५’ को दफा १६ र दफा ३८ को व्यवस्था विपरीत रहेको पुष्टि भएको छ। सोही ऐनको दफा ३९ को उपदफा १ (ख) बमोजिमको कानुनी कारबाही गर्दै प्रशासनले होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराएको हो। जरिवानाको निर्णयसँगै अनुगमन टोलीले होटलबाट बरामद गरिएका अखाद्य तथा गुणस्तरहीन खाद्य सामग्रीहरू तत्काल नष्ट गर्न पनि कडा निर्देशन दिएको छ।
हाल भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चलिरहेको र ठूलो संख्यामा आगन्तुकहरूको चाप रहेकाले पनि प्रशासनले होटल तथा रेस्टुरेन्टहरूको गुणस्तर र स्वच्छतामा विशेष निगरानी बढाएको छ। प्रशासनले व्यावसायिक मर्यादा कायम राख्न, कानुनको पूर्ण पालना गर्न र उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड नगर्न जिल्लाका सम्पूर्ण व्यवसायीहरूलाई सचेतसमेत गराएको छ।








डिसी नेपाल







Facebook Comment