नागरिकले कर्तव्य पूरा गरे, अब परिणाम देखाउने जिम्मेवारी रास्वपाको काँधमा छः महामन्त्री शाह

डिसी नेपाल
९ असार २०८३ २२:५४

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री भूपदेव शाहले निर्वाचनमार्फत नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेकाले अब परिणाम देखाउने जिम्मेवारी रास्वापको काँधमा आएको बताएका छन्।

चितवनको भरतपुरमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा आज सम्बोधन गर्दै उनले लोकतन्त्र र संविधानका सिद्धान्त र मूल्य–मान्यतालाई अझ गहिरो तथा दिगो रूपमा संस्थागत र सुशासनलाई व्यवहारमा उतार्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्ने प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्नु अहिलेको मुख्य राष्ट्रिय कार्यभार भएको बताए।

“हामीले युवा नेतृत्व, नयाँ विकल्प, बहुमत र दुई तिहाइ मत चाहिन्छ भन्यौँ, नागरिकले यसपालि हामीले भनेकै युवालाई भोट दिएँ, नयाँ शक्तिलाई विश्वास गरेर मत दिएँ, बहुमत दिएँ, र दुई तिहाइ पनि दिएँ,” महामन्त्री शाहले भने, “हामीले मागेको हरेक कुरा र अपेक्षा नागरिकले पूरा गरेका छन्। अब दिने पालो रास्वपा र सरकारको हो।”

एक्काइसौँ शताब्दीमा सुशासन र भौतिक पूर्वाधारको विस्तार मात्र पर्याप्त नहुने उल्लेख गर्दै उहाँले नागरिकको आर्थिक उन्नतितर्फ पनि उत्तिकै ध्यान दिनुपर्ने बताएयो। समृद्धिको जनअपेक्षा पार्टी र सरकारको साझा प्रतिबद्धता र सहकार्यबाट मात्र सम्भव हुने उनको भनाइ छ।

वैकल्पिक राजनीतिको नेतृत्व गर्दै गर्दा रास्वपाले व्यापक जनसमर्थन र चुनौतीलाई स्वीकार गरेर आफूलाई परिष्कृत गर्दै लगिरहेको जनाउँदै महामन्त्री शाहले पार्टी ठूलो हुनु मात्र पर्याप्त नभई जिम्मेवार हुनु अहिलेको आवश्यकता भएको बताए।

रास्वपा साङ्गठनिक रूपमा देश हाँक्न सक्षम छ र कम्तीमा २० वर्षसम्म देशलाई सही दिशामा अघि बढाउन सक्ने क्षमता छ भन्ने सन्देश महाधिवेशनले दिएको महामन्त्री शाहले बताए। महाधिवशेनले पार्टी एकताबद्ध छ भन्ने सन्देश पनि स्पष्ट रूपमा दिनुपर्ने उनको भनाइ छ।

बहुलता र विविधतामा आधारित खुला समाजमा हरेक युवा र नागरिकको आत्मसम्मानपूर्वक स्वदेशमै गरिखाने सपना पूरा हुनुपर्नेमा जोड दिँदै उनले रास्वपाको ध्येय यही आशा जगाउने, अवसर जुटाउने र बाटो देखाउने हुनुपर्छ भने।

पार्टीभित्र विचार, अनुभव र कार्यशैली फरक–फरक हुन सक्ने भन्दै महामन्त्री शाहले गन्तव्य भने फरक हुन नसक्ने बताए। “लोकतन्त्रको सुन्दरता विविधतामा हुन्छ, तर सङ्गठनको शक्ति एकतामा हुन्छ, त्यसैले विचारको विविधतालाई विभाजन होइन, शक्ति बनाउँदै विधि, मर्यादा र अनुशासनको साझा घेराभित्र अघि बढ्नु आजको आवश्यकता हो”, उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *