यूनिट्राभले बुझायो पर्यटनमन्त्रीलाई १७ बुँदे मागपत्र

फुर्पा शेर्पा
१० चैत २०७७ १६:४४

काठमाडौं। यूनिट्राभ नेपाल (नेपाल ट्रेकिङ, ट्राभल्स, र्याफ्टिङ्ग, एयरलाइन्स, संस्कृती, पुरातात्विक, कार्गो कुरियर, श्रमिक यूनियन)ले विभिन्न माग राखी सरकारलाई १७ सुत्रीय मागपत्र पेस गरेको छ। मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई भेट गरी यूनिट्राभ नेपालका प्रतिनिधिहरुले १७ बुँदे मागपत्र बुझाएका हुन्।

कोभिड–१९ पछि पर्यटन क्षेत्र निकै नाजुक अवस्थामा पुगेको र यसको उत्थानसँगै श्रमिकको जीवन रक्षाको निम्ति आवश्यक पहलकदमी लिनु र समस्या समाधान गर्न पर्यटन मन्त्रीसँग माग गरेका छन्। यूनिट्राभले पर्यटन क्षेत्रका श्रमिकहरुको सामाजिक सुरक्षा कोष, ज्याला तथा न्यूनत्तम पारिश्रमिक बृद्धि, नेचर गाइडको समस्या समाधान सम्बन्धमा, पदमार्ग क्षेत्रका श्रमिकमाथि हुने विभेदको अन्त्य, फिट टिमिस बन्द गर्न, माउन्टेन गाइडको तलब र बीमा निर्धारण गर्न, हेलिकष्टर रेस्क्यूमा हुने विभेदको अन्त्य गर्न माग गरेका छन् ।

यस्तै पदमार्ग क्षेत्रमा इजाजतपत्र परीक्षणको व्यवस्था गर्न, विकासका नाममा बजेट सिध्याउनका लागि महत्वपूर्ण पदमार्गमा डोजर चलाउने कार्य तत्काल बन्द गर्न, महिला पथप्रदशकमाथि हुने विभेदपूर्ण व्यवहार अन्त्य गर्न, हरेक पदमार्गको प्रवेशद्वारमा अनिवार्यरुपमा प्राथमिक उपचारका सामग्रीहरुके निशुल्क व्यवस्था गर्न, साँस्कृतिक तथा पुरातात्विक क्षेत्रमा कार्यरत श्रमिकहरुलाई अनुभवको आधारमा आन्तरिक प्रतिस्पर्धाद्वारा स्थायी गर्न माग गरेका छन् ।

यूनिट्राभले विभिन्न पदमार्ग क्षेत्रमा लागेका सिण्डिकेटहरु बन्द गर्न, पर्यटन विभागबाट इजाजतपत्र प्राप्त गरी पदप्रदर्शकमा कामगर्दै आएको सबै गाइडहरुलाई श्रमिकमैत्री रुपमा व्यक्तिगत प्यान उपलब्ध गराउन, सगरमाथा पदमार्ग क्षेत्रमा सगरमाथा राष्ट्रिय निकृञ्जले गाइड श्रमिकहरुलाई अनावश्यक लिदैं आएको रकम लिन बन्द गर्न माग गरेका छन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘पर्यटन क्षेत्रलाई राज्य, व्यवसायी र श्रमिक क्षेत्रले उच्च महत्वका साथ उठान गरिरहेको भएपनि सैद्धान्तिक रुपमा जुन बहस हुने गरेको छ, सोही अनुरुप कार्य भने हुन सकेको छैन्। विश्वव्यापी कोभिड–१९ महामारीपछि पर्यटन क्षेत्र अस्तव्यस्त छ, थलिएको छ। यही बीचमा विगत एक वर्षदेखि थलिएको पर्यटन क्षेत्रका श्रमिकहरु भने हात मुख जोर्न नसक्ने अवस्थामा पुगेका छन्। तर पर्यटनको अग्रभागमा रहेर सेवा दिने पर्यटन श्रमिकका विषयमा राज्य र व्यवसायी उदासिन देखिन पुग्दा हामी मर्मासित भएका छौं।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *