सरकारको नेतृत्व लिन कांग्रेसलाई कुन शक्तिले रोकिरहेछ ?

जगदीश दाहाल
२० चैत २०७७ ११:१३

संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानसभाले जारी गरेको संविधान अनुसारको पहिलो संघीय संसदको निर्वाचनमा जनताले सहज बहुमत दिएर नेकपालाई मुलुक बनाउने जिम्मेवारी सुम्पिए। जनताले नेकपालाई मुलुकको शासन चलाउने, विकास निर्माणका काम गर्ने अर्थात मुलुकका सबै कुरालाई अनुकूल बनाएर मुलुकलाई समृद्धितर्फ लैजाने म्यान्डेट दिए।

तर, जनताले नेकपालाई मुलुक चलाउने जुन जिम्मवारी दिए, त्यसमा नेकपाले खेलवाड गर्यो। यो नेपाल र नेपाली जनताको लागि बिडम्बना थियो, दुर्भाग्यपूर्ण थियो। जनताले नेकपाको चुनाबी एजेण्डाप्रति जुन विश्वास देखाए त्यसलाई नेकपाले कायम राख्न सकेन। अनुत्तरदायी र गैरजिम्मेवारीपन देखायो।

जनमतको अपमान हुने यो लापरवाहीमा नेकपाको कुनै एउटा नेता मात्रै नभएर माथिल्लो दर्जाका सबै नेताहरु उत्तिकै जिम्मेवार छन्। जनताले दिएको मतअनुसार मिलेर पाँच वर्ष मुलुक चलाउन सक्छौं भनेर अगाडि आएका नेताहरु २ वर्षमै एक आपसमा विभाजित भए। विपक्षीले भन्दा पनि आफ्नै पार्टीका सहकर्मीहरुले असहयोग गर्ने, खुट्टा तान्ने हुन थालेपछि अन्ततः नेकपाका नेताहरु ५ वर्षसम्म मुलुक चलाउन नसक्ने देखिए।

राजनीतिमा परिपक्व रुपमा अगाडि बढ्ने र समयको मागअनुसार कुन बेला के गर्ने भन्ने कुरामा नेतृत्वले विचार पुर्याउन सक्नुपर्छ। जनताले नेकपालाई बहुमत दिएकोले सरकार संचालन गर्ने र मुलुकलाई सही दिशा दिने पहिलो जिम्मेवारी त नेकपाकै हुन्छ। तर त्यसो भन्दैमा मुलुकलाई यो भन्दा बढी बिग्रिन र लथालिंग हुन पनि त दिनु भएन।

हामी अब मिल्यौं, मुलुक चलाउँछौ, अब कुनै पनि शक्तिले विभाजन ल्याउन सक्दैन भनेर एक ठाउँमा उभिएका नेता दुई वर्ष पनि नपुग्दै एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिने अवस्थाको सृजना भयो। भागबण्डालाई लिएर झगडा गर्ने, आ–आफ्नो स्वार्थमा लिप्त हुने जुन प्रवृत्ति नेकपाका नेता प्रचण्ड, केपी ओली, माधव नेपाल, झलनाथ खनाललगायतमा देखियो, यो प्रवृत्ति र चिन्तनले यी नेता वा यो पुस्ता कहिल्यै सुध्रिँदैन भन्ने संकेत पनि गरेको छ।

देश र जनताको लागि अर्को झनै ठूलो बिडम्बना त के भइदियो भने जनताले नेकपाको विकल्प पाउने अवस्था पनि देखिएन। सत्ताधारी दल सत्ता संचालनमा असक्षम देखिएमा विपक्षीले विकल्प अगाडि सार्नुपर्ने हो। त्यसमा पनि प्रमुख प्रतिपक्षी दलले सरकारको विकल्प दिने कुराको नेतृत्व गर्नुपर्ने हो।

नेकपा सरकार संचालनमा विफल भएको अवस्थामा नेकपा इतरका राजनीतिक शक्तिहरुले वा खासगरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सबै प्रजातान्त्रिक शक्तिलाई समेटेर नयाँ सरकारको विकल्प अगाडि सार्नुपर्ने हो। तर, कांग्रेस किन अगाडि सरेको छैन? स-साना कुरामा नअल्झिकन किन मुलुकको अगाडि आउने सक्ने संभावनालाई विकल्प दिन तयार छु भन्दैन?

नेपाली काग्रेसले यो नभन्नुको कारण केवल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीका बीचको लेनदेन वा अरु कुनै सम्बधकै कारण हो वा विदेशीको दबावका कारण हो? जनताले शंका गर्ने ठाउँ प्रशस्तै देखिदएको छ। यस्तो बेलामा प्रतिपक्षी दलले आफ्नो धर्म निर्वाह गर्न र विकल्प दिन तयार छु भन्न हिच्किचाउन नहुने हो।

राजनीतिमा परिपक्व रुपमा अगाडि बढ्ने र समयको मागअनुसार कुन बेला के गर्ने भन्ने कुरामा नेतृत्वले विचार पुर्याउन सक्नुपर्छ। जनताले नेकपालाई बहुमत दिएकोले सरकार संचालन गर्ने र मुलुकलाई सही दिशा दिने पहिलो जिम्मेवारी त नेकपाकै हुन्छ। तर त्यसो भन्दैमा मुलुकलाई यो भन्दा बढी बिग्रिन र लथालिंग हुन पनि त दिनु भएन।

त्यतातर्फ पनि नेकपा इतरका सबै प्रजातान्त्रिक शक्तिले सोच्न जरुरी छ। म र म जस्तै चेतनशील नागरिकले आआफ्ना विचार संचारमाध्यममार्फत प्रकाशन गर्ने र राजनीतिक नेतृत्वलाई मद्दत पुगोस भन्ने सोचाइ र चिन्तन प्रस्तुत गर्ने र देखाउने जुन काम मिडियामार्फत गर्छौं त्यसले चाहे सत्तामा भएको राजनीतिक शक्ति होस, चाहे प्रतिपक्षमा भएको राजनीति शक्ति होस् यस्ता राजनीतिक शक्ति र नेताका लागि मुलुक र जनताको समस्या देख्ने आँखा नै मिडिया हो।

जनताका कुरा सुनाउने र सुन्ने कान पनि मिडिया नै हो। यसरी हामी चेतनशील नागरिकको चिन्तन र सोचाइका कारण नै हामी समय समयमा सरकारको नेतृत्वलाई होस वा प्रतिपक्ष दलको नेतृत्वलाई होस, केही विरोध केही समर्थन र सहयोग नै पुग्ला भने आफूले देखेको र लागेको विषय मिडियामार्फत उहाँहरु समक्ष पुग्ला भनेर पुर्याउने काम गर्छौं।

हुन त म जस्तोलाई एउटा मिडियाको सार्वजनिक कार्यक्रममा एकजना पूर्व एजी विद्वान वरिष्ठ अधिवक्ता सुशील पन्तले जगदीशजी बेला बेलामा तपाईँको बिचार मिडियामार्फत पढ्छु भन्दा आफूले त्यसलाई ठूलो पुरस्कार ठानेर गौरवान्तिव त भए नै आनन्द यसकारणले पनि लाग्यो नागरिक समाजका अग्रज र राजनीतिक दलको नेतृत्वले समय समयमा हाम्रा विचार र धारणा पक्कै पनि देख्छन् र सुन्छन् भन्ने कुरामा विश्वस्त हुन पुगियो।

त्यसैले आउने दिनमा नेकपाको जस्तो सशक्त र संगठित क्याडरबेस राजनीतिक शक्ति सधैं दह्रो बलियो र एकीकृत भएर मुलुकको रक्षा, समुन्नत नेपाल र सुखी नेपाली उज्वल भविष्यका लागि काम गरोस भन्ने चाहना रहन्छ।

यदि कम्युनिष्टले गैर जिम्मेवारीपन देखाउँदा र जनताको मतको दुरुपयोग गर्न पुग्दा त्यस्तो अवस्थामा मुलुकलाई नेतृत्व दिन वृहत्तर प्रजातन्त्रिक शक्ति बनाएर कांग्रेसले मुलुकको बागडोर सम्हाल्न र मुलुक अगाडि बढाउन तयार हुनुपर्छ। लोकतान्त्रिक पद्धतिमा सत्ताधारी विफल हुँदा प्रतिपक्षले नै विकल्प दिने हो र यसका लागि कांग्रेस अगाडि सर्नुपर्छ। यो नै अवका दिनका आवश्यकता हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *