ब्यंग्य : घिउ नपचेको कुन्नि के

डिसी नेपाल
२१ चैत २०७७ ७:०९

कुन्नी कल्लाई हो घिउ नपचेको हुनाले सोचे अनुसार केही नबचेको भन्ने हल्ला धेरै अघिदेखि सुन्दै आएको भएपनि कुरा चाहीँ राम्ररी बुझिएको थिएन। शायद अरुले पनि बुझेका थिएनन् होला। तर नबुझेपनि निकै बुझेजस्तो गरेर र सबैलाई उछिन्दै अघि सरेर ठूलो ठूलो स्वरमा कराउँदै गर्दा खास मौका चाहीँ टरेर गएको थाहा नपाउने मान्छे धेरै छन्।

सबै ज्यादै ठूला,सबै ज्यादै शक्तिशाली, सबै ज्यादै बुद्धिमान, सबै ज्यादै लोकप्रिय, सबै ज्यादै राष्ट्रवादी, सबै ज्यादै जनवादी, सबै ज्यादै बिकास प्रेमी, सबै ज्यादै विधि विधानका अनुयायी, सबै ज्यादै भ्रष्टाचार बिरोधी, सबै ज्यादै न्याय प्रेमी, सबै ज्यादै अनुशासन प्रेमी, सबै ज्यादै स्वच्छ छविवाला आदि आदि बिशेषणद्वारा आफैंले आफैंलाई सुशोभित गर्नेहरुले आफू बाहेक अरु सबैलाई यसको ठिक उल्टो चरित्रको देख्ने रोगबाट सबैजना ग्रस्त भएर सधैंभरी एकअर्कासित त्रस्त हुँदै कुनै गुण र विचार नमिलेपनि बाध्यतावश एकअर्कासित टाँसिएको र बिभिन्न स्वार्थले गाँसिएको देखेर जनताले सारै राम्रो माने।

जनता नामक निरीह प्राणीलाई त के छ र? एउटाले फलानो चोर, फलानो फटाहा,फलानो हत्यारा,फलानो बलात्कारी, फलानो साधु,फलानो साक्षात भगवान,फलानो सबैभन्दा ठूलो व्यक्ति, फलानो नभए देश पुरै भड्खालोमा जाकिन्छ, फलानो नै तिमिहरुको तारणहार हो, फलानोले मात्रै तिमीहरुको भएजति सबै इच्छा आकाँक्षा पूरा गर्न सक्छ आदि आदि भनेर जसले जसलाई भनेपनि ताली पड्काउने र बुझ्नु न सुझ्नुसित चाहिँदो नचाहिँदो ठाउँमा हलो अड्काउने हामी जनता नै हाैं भनेर हामीले गर्व गर्न पर्छ।

अहिलेसम्म जनता नामधारी प्राणीले धेरै रुपका शासन व्यवस्था र शासकहरुको अनुभव पाएर र उहाँहरुको अर्ति उपदेश खाएर आफूलाई निकै तिखारिसकेका छन्। जति तिखारिएको सम्झेपनि जनताको टुप्पो चाहिँ भुत्ते नै रहेको हुनाले सबैखाले बादिहरुको सबैखाले कार्यक्रममा सशरीर उपस्थित भएर सबैखाले भाषणमा हत्केला र औँलाहरु सुन्निने गरी थपडी मार्ने र त्यत्रो थपडी मार्दापनि सबैतिरबाट हार्ने अनि सँधैभरी नेताहरुको गर्जोमात्रै टार्ने काममा प्रयोग हुनपाएबाट अति सन्तुष्ट भएर आफ्नो तन्नम हालतको खासै वास्ता र मतलब गर्न आवश्यक पनि छैन।

आफ्नै दलको सरकार प्रधानले छिमेकीले जबरजस्ती मिचेको र अहिलेसम्म बलजफती सबैलाई थिचेको आफ्नो जमिन हाम्रो हो भनेर प्रष्ट रुपमा दावी गर्दै नक्शा समेत प्रकाशित गरेर लागू गर्नासाथ आफ्नै दलका स्वघोषित महान नेता समेतका नेताहरुबाट सरकार प्रधानको घोर बिरोध सुरु हुनुलाई जनताले ज्यादै सकारात्मक रुपमा लिइदिन पर्ने दावी मान्नै पर्ने खालको छ।

शासक र नेताहरुले जनताको नाममा लिएको आनन्द र दिएको गफ सुनेर त्यसैबाट मख्ख पर्ने जनता भएपछि नेताहरुलाइ जे गर्नपनि छुट भएकाले जति लुट मच्चाए पनि भयो। सबै तहका नेताले आफ्नो तह र औकात अनुसार बजेट बजाउने त्यसमा सबैखाले जनताले चाहीँ मरुन्जेल ताली बजाउने गरेपछि सबैलाई हाइसन्चो।

आफूलाई ठूला आशनमा पुर्याउने जनतालाई मिठो भाषण मात्रै दिए पुग्ने हुनाले नेताहरुलाई पनि के को टाउको दुखाउन पर्यो र? अझ त्यसमा उखान टुक्का मिसाउने र एकअर्कालाई गाली गर्दै रिसाउने खुबी छ भने त कुरै सकिइहाल्यो। धेरै अगाडिको कुरा गर्नै पर्दैन राणा शासन सुरु भएदेखि अहिलेसम्म जनताको स्तर र औकातमा खासै भिन्नता आएको कमसेकम आम जनताले थाहा पाएको छैन।

जसले दाना खुवायो उसैको गाना गाउन जान्ने जनताको कुरा बेग्लै हो। चिन्ताले चितातिर लैजान्छ भन्ने उक्तिलाई मनन् गर्ने जुक्ति अनुसार नेताहरुले जनताको चिन्ता नगर्नु र जुनसुकै व्यबस्था आएपनि जनताको स्थान नहर्नुलाई सबैले ज्यादै सकारात्मक रुपमा लिइदिन पर्छ।

राणा शासनदेखि हालसम्म राजनीतिमा अनेक जाल गरेर नगदी माल हान्ने र गाल परेमा अर्काको नाम तान्ने चलन उस्तै छ। आफू बाहेक अर्काले लाएको खाएको र पाएको देख्न नसक्ने प्रवृत्तिमा उहिलेदेखि अहिलेसम्म कुनै फरक आएको देखिन्न। यसरी आफ्नो परम्परालाई निरन्तरता दिनसक्नु र यसलाई सबैको गर्वको साथ लिनसक्नु धेरै राम्रो हो।

पहिलेपनि एउटाले जे गरेर भएपनि सत्ता हत्यायो र त्यसको आधारमा अरुलाई लत्यायो भने आफ्नै नजिकका सम्झिएका मान्छेहरु उसलाई त्यहाँबाट खसाल्न र आफूलाई त्यस ठाउँमा बसाल्न अनेक खाले दृश्य अदृश्य प्रयासमा लाग्थे अनि एकअर्का बिरुद्ध जाग्थे। त्यसबेलापनि आप्mनो सत्तामा समस्या पर्लाजस्तो शंका मात्र भयो भनेपनि दाइ भाइ छोरा नाति नातेदार आदि केही नभनि डाँडो कटाउने र कुनै खतरा नहुने गरी जिम्मेवारीबाट हटाउने चलन थियो।

अहिलेपनि त्यो प्रथा कायम नै छ भन्ने कुरा बर्तमान सरकार प्रधान र उनका एउटै दलका एकै तहका समकालीन र अनुभवी सहकर्मीहरुबाट प्रत्यक्ष प्रसारण हुन गयो अनि जे जस्तो परिवर्तन भनेपनि खाने पाउने बिषय आएपछि कुरो उही रहेछ भन्ने सबैलाई थाहा भयो।

चुनावको मुखमा आएर दुई ठूला बामपन्थि घटकले चटक देखाएजस्तो गरेर दलको एकता गरेपछि र एउटै दलको रुपमा चुनावमा भाग लिन अघि सरेपछि सबै अचम्ममा परेका थिए। यसबाट इतिहासमै नभएको नतिजा सहित झण्डै दुइ तिहाइ मतसहित पाँच वर्षको लागि एकलौटी सरकार गठन हुन पुग्यो। दलमा दुई अध्यक्ष दुई वरिष्ठ नेतासहित ठूला ठूला दर्जा पदवीहरु बाँड्दै ठूलो तडक भडकसहित सडकमा समेत अपार हल्लाखल्ला गर्दै घोषणा भएको एकतामा पहिलो दिनबाटै धमिरा लाग्न थालेको थियो।

सरकार प्रधानको स्वास्थ्य धरमर भएर के हो के हो जस्तो हुन्जेलसम्म ठिकठाक चलेको सरकार उनको स्वास्थ्य ठिक हुनासाथ अर्का अध्यक्षले ढलेको कल्पनासहित अनेक हर्कत गर्न थालेपछि र आफ्नै दलको दुईतिहाई बहुमतको सरकार ढाल्ने कदम चालेपछि एउटाले भनेको नाटकै हो र अर्कोले भनेको नौटँकी नै हो भनेर एकतालाई भनिएको रहेछ भन्ने जनताले बल्ल बुझे।

यस बीचमा भए गरेका र जनतालाई मन परेका नाटक र नौटंकीहरु सबैका सामु छर्र्लँग नै छन्। आफ्नै दलको सरकार, आफ्नै दलको सरकार प्रधान, आफैंं दलको दुइटा अध्यक्ष, आफ्नै दलका वरिष्ठ नेताहरु हुँदापनि आफ्नै दलको सरकार गिराउन र सरकार प्रधानको कुर्सीमा आफ्नो जिउ छिराउन सरकार प्रधान बाहेक माथिका सबैजना मिलेर गरेको मरिहत्ते देख्दा जनतालाई बडा मजा आएजस्तो देखियो।

यसैको बिकसित रुपमा आफ्नै दलका वरिष्ठहरुबाट सरकारलाई चरम असहयोग,भेटघाट, वार्ता, छलफल र फेरि भेटघाट, वार्ता, छलफलको कहिल्यै नसकिने र कहिल्यै टुंगोमा नपुग्ने महिनौंको कसरतको सिलसिलाको अन्त्यमा संसद बिघटनबाट कहानीमा भयंकर ट्विस्ट आयो अनि देख्नेसुन्ने सबैले चित खायो।

त्यसपछि एकै दलका सरकार पक्ष र बिपक्षको गाली गलौज र दोषारोपणले भट्टीमा निम्न कोटीको ठर्रा खाएर झर्रा भाषामा गालीको पर्रा छोड्दै बाटो दोबाटोमा झगडा गरेर लढ्दैपढ्दै हिँड्नेहरुलाई बिर्साउने गरी एकअर्कालाई नंग्याउने कार्यले दुवै पक्षका ठूला नेताहरुको मनस्थिति र औकात दुनियाँका अगाडि प्रष्टसित ठडियो अनि गालीगलौज बाहेक देश र जनताको काम चाहीँ जहाँको त्यहीँ अडियो।

उसैपनि भिडमा जम्मा भएर जुलुस गइदिने र यिनै नेताहरुले भनेको चुनाव चिन्हमा छाप हानेर उनीहरुलाई जिताउने पुनित कार्यमा सहभागी भइदिने बाहेक अन्य समयमा जनताको कुनै काम रहेनछ भन्ने यसपाली अझ प्रष्ट भयो।

छिमेकीलाई कम्फोर्टेबल हो कि अनुकूल हो कि सुविधाजनक सरकार बनाउन पर्छ र यताभन्दा उतै बफादारिता जनाउन पर्छ भन्ने उद्घोष आएपछि स्वघोषित महान नेता रुपी खेलौनाको रिमोट कहाँ रहेछ भन्ने सबैले राम्ररी बुझ्न पाए। आफ्ना जनताले त जस्तै भाँग्रे वा पाँग्रे सरकार बनेपनि कम्फोर्टेबल मानिदिएकै र आफ्नै ठानिदिएकै छन्। नेताहरुले आफ्नो दलको झण्डे र झोले बाहेक अरुलाई जनता नठानेपनि जनताले चाहीँ त्यस्ता सुकर्म गर्ने कुरै आएन।

विदेशीले हरियो डलर देखाएको भरमा उतैका खेताला लेखनदासहरुबाट लेखाएको सविधान लागू भएको मितिबाट सुरु भएको समस्या सुल्झिने भन्दापनि अझ बढी उल्झिने गरेको देख्दा सबैजना तिनछक परेका छन्।

राष्ट्र प्रधान, सरकार प्रधान, प्रदेशका पदाधिकारीहरु, पालिकाहरु र त्यसका पदाधिकारीहरु लगायत कसैलेपनि नमानेको, कसैलेपनि आफ्नो नठानेको र त्यस अनुसार काम गर्नै नजानेको जस्तो लाग्ने सँबिधान नामक पुस्तक बमोजिम नै जाने हो भने देश र जनताको भविष्य निकै उज्ज्वल देख्नेहरुपनि हार खान थालेका हुनाले कसले कसबाट कतिखेर मार खाने हो थाहा छैन भनेर कुभलो चिताउनेहरुलाई त के भन्न सकिन्छ र?

आफ्नै दलको सरकार प्रधानले छिमेकीले जबरजस्ती मिचेको र अहिलेसम्म बलजफती सबैलाई थिचेको आफ्नो जमिन हाम्रो हो भनेर प्रष्ट रुपमा दावी गर्दै नक्शा समेत प्रकाशित गरेर लागू गर्नासाथ आफ्नै दलका स्वघोषित महान नेता समेतका नेताहरुबाट सरकार प्रधानको घोर बिरोध सुरु हुनुलाई जनताले ज्यादै सकारात्मक रुपमा लिइदिन पर्ने दावी मान्नै पर्ने खालको छ।

छिमेकीलाई कम्फोर्टेबल हो कि अनुकूल हो कि सुविधाजनक सरकार बनाउन पर्छ र यताभन्दा उतै बफादारिता जनाउन पर्छ भन्ने उद्घोष आएपछि स्वघोषित महान नेता रुपी खेलौनाको रिमोट कहाँ रहेछ भन्ने सबैले राम्ररी बुझ्न पाए। आफ्ना जनताले त जस्तै भाँग्रे वा पाँग्रे सरकार बनेपनि कम्फोर्टेबल मानिदिएकै र आफ्नै ठानिदिएकै छन्। नेताहरुले आप्mनो दलको झण्डे र झोले बाहेक अरुलाई जनता नठानेपनि जनताले चाहिँ त्यस्ता सुकर्म गर्ने कुरै आएन।

आफ्नै दलभित्रको झगडा मिलाउन नसकेपनि आफूलाई दलको सबैभन्दा तगडा मान्ने र आफ्नो काम बाहेक सबैथोक जान्ने शिर्ष तहका नेताहरुको ब्यक्तिगत महत्वाकाँक्षा, स्वार्थ, लोभ, डाह, रिस, इष्र्या, कुण्ठा, मै खाउँ मै लाउँ प्रवृत्तिको साथै बिदेशीको इशारा सहित सञ्चालित स्वार्थका गोटी जस्ता कारणले धेरै चोटी जग हँसाइ गर्दागर्दै परिस्थिति यहाँसम्म आइ पुगेको हो भनेर जनताले भनेपनि कसले पत्याउँछ र?

अदालतले दलहरुलाई एकताभन्दा पहिलेको स्थितिमा पुर्याइदिएपछि जग हँसाइ अझ बढेको र जनताले यसलाई राम्रोसित पढेको छ। एउटै दलका बरिष्टहरुले सरकार प्रधानलाइ दलको साधारण सदस्य समेत नरहने गरी दल र अन्य सबै जिम्मेवारीबाट निष्काशन गरे रे भन्ने सुनिएपनि उनि झण्डा हल्लाउँदै हिँडेका छन्।

दल भित्रै अर्को समूह खडा गरेर चर्को कुरा गर्दै हिँडेका दुई वरिष्ठलाई सरकार प्रधानले छ महिनाको लागि निलम्बित गरे रे भन्नेपनि सुनिन्छ। नसुध्रेर दलको हित विपरितका गतिविधिको घडा भरिँदै गएमा अझ कडा कारवाही गरिने चेतावनी दिइएको छ रे। यो समूह समानान्तर सगठन बिस्तार गर्दै र डेरा खोज्ने चक्करमा आफ्नो अस्तित्व जोगाउन ठक्कर खाँदै हिँडेपनि सरकार प्रधानलाई टक्कर दिँदै हिँडेको देखिन्छ।

स्वघोषित महान नेता पुनः मुसिको भवः को अबस्थामा सरकार हाँक्ने दलको अध्यक्ष, गुटको नेता, जनतामा जाने नाममा सडक छाप नेता, पुरानै दलका नेता,सरकार ढाल्ने र घुमाइ फिराइ आफू सरकार प्रधान हुन कदम चाल्ने सिलसिलामा विभिन्न नेताहरुका घरघरमा पुगेर साबिक अनुसार सत्ताको दलाली गर्दागर्दै नागरिक समाजका दुईचार जनाले मुस्किलले जम्मा गरेको पचास साठी जनाको विशाल छलफल कार्यक्रममा गएर रोइकराई गरेपनि प्रश्नहरुको चित्त बुझ्दो जवाफ दिन नसकी लुत्रुक्क परेर फर्केको देख्दा धेरैलाई यिनीमाथि दया पनि लाग्यो रे भन्ने सुनियो।

यति हुँदापनि संसदमा सरकारलाई दिइरहेको समर्थन कायम राखेर आफ्नो असली चरित्र भने यिनले सबैलाई ठूलोठूलो स्वरमा बताइरहेका र सँधैभरी दुनियाँलाई उल्लु बनाइराख्न सकिन्छ भनेर माहौल तताइरहेका छन्।

मैले फलाना फलानालाई सरकार प्रधानको दर्जा टिको लगाएर दिएको हुँ भनेर दिनदिनै जस्तो कुर्लने र कसैलाई मान्छे नगनेर म भन्दा ठूलो कोही छैन भनेर उर्लने ब्यक्ति आफ्नो अस्तित्व बचाउन र पाएसम्म सबैलाई पुरानै तरिकाले नचाउन प्रयासरत रहेको देखिन्छ। जसले जे भनेपनि सास छउन्जेल आश गर्नु राम्रै हो।

झण्डै तिन पुस्तासम्म जनतालाई उचालेर कहिले क्रान्ति, कहिले आन्दोलन, कहिले जन शब्दको दरुपयोग गर्दै लादिएको धनयुद्ध, अरु वर्षौंसम्म भएका र हुने गरेका बन्द हडताल जुलुस आदिको त कुनै लेखाजोखा नै गर्न परेन। यस सिलसिलामा मरेका, घाइते भएका, अपांग भएका, विस्थाथित भएका र सर्वस्व गुमाएका जनताले पाउने र उनीहरुका दिन आउने समयपनि अझै कुरिराख्न परिहाल्यो।

यसै बीचमा नेताहरुको हैसियत बढ्दाबढ्दा अब त बढाउने ठाउँपनि नभएको हो कि जस्तो देखेर जनता अति सन्तुष्ट र आफैंले लाए खाए र पाएजस्ता भएका छन्। नेताहरुले भनेजस्तै दुई तिहाइको सरकार बनाउन पाएदेखि अहिलेसम्म देखिएका र जनताको हितमा लेखिएका समस्याहरु छुमन्तर गरी हटाउने बाचा गरेकालाई नै जनताले दुईतिहाइ बहुमत दिँदापनि यस्तो रमिता देखिनुलाई कुन्नी के लाई घिउ नपचेको बाहेक अरु केही भन्न सक्ने जनताको तागत छैन।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *