के काठमाडौं बस्न योग्य शहर होइन र? – Dcnepal

के काठमाडौं बस्न योग्य शहर होइन र?

हालैका केही दिनहरुमा काठमाडौं लगायतका देशका धेरै ठाँउमा बाक्लो तुँवालो लागेर आँखा पोल्न थालेपछि स्कुल र विश्व विद्यालयहरू केही दिनका लागि बन्द गरियो।

हिउँदको लामो समय पानी नपरेर सुख्खा परेपछि आकाश खुलेको थिएन। केही दिन पहिले परेको पानीले मौसममा सुधार आयो र आकाश अलि खुलेको जस्तो देखियो। पानी परेपछि काठमाडौंको ठाँउठाँउमा राखिएको वायु गुणस्तर मापक यन्त्रले पनि वायुमण्डलको गुणस्तरको सुचक पीएम २.५ को मात्रा (AQI = Air Quality Indicator) १५० प्रतिघनमिटर भन्दा कम नै देखायो।

यो मात्रा गतहप्ता ३०० भन्दा माथि नै थियो। कतै कतै त ४०० प्रतिघनमिटर भन्दा पनि बढि रेकर्ड गरिएको थियो। यो मात्रा भनेको विश्व स्वास्थ्य संगठनले तोकेको उचित मापदण्ड भन्दा बिसौ गुणा बढी हो। आउने केही दिनामा त झन ४५० प्रतिघनमिटर कट्ने देखाएको छ। कतिपय पूर्वानुमान गर्ने संस्थाहरुको वेभसाइटले।

वायुमा रहेको धुलाका कणहरु नाप्न र वायको गुणस्तर बताउनको लागि पीएम (Particulate Matter) युनिटको प्रयोग गरिन्छ। हावामा भएको तैरन सक्ने धुलाका कणहरुलाई विभिन्न तहमा नापिन्छ। २५-५० माइक्रोन भन्दा बढी ब्यास भएका कणहरू, नाक र मुखबाट भित्र नछिर्ने भएकाले स्वास्थ्यमा यिनीहरूको प्रभाव ज्यादै कम हुन्छ।

१० माइक्रोनसम्म ब्यास भएका कणहरू (PM10) ले श्वासनली र फोक्सोको माथिल्लो भागसम्म पुग्दछन्। त्यस्तै २.५ माइक्रोन भन्दा कम ब्यास भएका कणहरू फोक्सोको भित्री भागसम्म पुग्दछन् र रगतसँग मिसिएर शरीरका अन्य भागमा पुगेर दम, एलर्जी आदि रोगहरू लगाउने गर्छ। फोक्सोको क्यान्सरको एक प्रमुख कारणमा धुलाका कणहरु पनि मानिन्छ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार धेरै समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाबिन्दु आदि लाग्ने संभावना बढी हुन्छ। धुवाँमा बस्ने गर्भवती महिलाका बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्मने वा कारण मृत बच्चाको जन्मने सम्भावना हुन्छ।

श्वास फेर्ने हावामा २.५ माइक्रोन भन्दा सानो ब्यास भएको धुलाको कण (PM2.5) हुनु भनेको प्रदुषण हुनु हो। यी कणहरुलाई नाङ्गो आखाले देख्न सकिन्न। यो निकै सानो हुन्छ। मानिसको रौंको चौडाइ भन्दा तिसौं गुना सानो हो। किनकी रौंको चौडाइ लगभग ७० माइक्रोन हुन्छ।

हावाको गुणस्तर सूचक वा एक्युआई (AQI) ले २.५ माइक्रोन भन्दा कम ब्यास भएका कणहरूको मात्रालाई बताउँछ। यसको मात्रा जिरोदेखि ५०० सम्म हुन्छ। सामन्यतया एक्युआईको मात्रा ५० सम्म हुनुलाई खासै नराम्रो मानिँदैन।

तर यो स्तर बढ्दै गएमा स्वास फेर्नको लागि अयोग्य बन्दै जान्छ। यसको मात्रा १०० देखि २०० सम्म हुनु अस्वस्थ्यकर मानिन्छ। र यसले बालबच्चा, जेष्ठनागरिक, दीर्घरोगी, छाती र मुटुको बिरामीलाई तुरुन्त असर पुर्याउँछ।

यसको मात्रा २०० देखि ३०० सम्म हुनु एकदमै अस्वस्थ्यकर अवस्था हो। जसले सबैखाले उमेर समूहका मानिसहरूलाई असर गर्छ। हालैका केही दिनहरुमा काठमाडौं उपत्यकामा यस्तै मात्राको वायु प्रदुषण देखिएको छ।

दुषित हावाको कारण यसको सम्पर्कमा आउने भागहरु जस्तै छाला चिलाउने, आँखा पोल्ने, आँखा हेर्न अप्ठेरो हुने, आँसु आउने, श्वास फेर्न असजिलो हुने, घाँटी दुख्ने, र लामो समय भएमा स्वासप्रश्वास र रक्तसञ्चार सम्बन्धी स्वास्थ समस्या देखिन थाल्छ।

विश्व स्वास्थ्य संगठनको प्रतिवेदन अनुसार धेरै समयसम्म दुषित वायु भएको वातावरणमा बस्नेहरूमा दम, दीर्घखोकी, फोक्सोको क्यान्सर, मोतियाबिन्दु आदि लाग्ने संभावना बढी हुन्छ। धुवाँमा बस्ने गर्भवती महिलाका बच्चा समयभन्दा अगाडि जन्मने, कम तौलको बच्चा जन्मने वा कारण मृत बच्चाको जन्मने सम्भावना हुन्छ।

यस्तो प्रदुषित हावाले मानिसलाई मात्र नभई घरेलुजीवजन्तुमा समेत नकारात्मक असर पार्ने गर्छ। वन्यजन्तु र वोटविरुवामा पार्ने असरको बारेमा त झनै नेपालमा प्रयाप्त अध्ययन नै भएको छैन।

जनावरको प्रजनन् क्षमतामा आउने ह्रास, खाने आहारमा पर्ने प्रभाव र बासस्थानमा पर्नसक्ने समस्याहरुको बारेमा बेलाबेलामा रिपोर्ट भने प्रकाशित भैरहेका छन्। बन्यजन्तुको बढ्दो बसाईसराई र लोप हुनेको संख्या बढ्नुमा पनि यस्तै प्रदुषणजन्य कारणहरु हुन्छन्।

कसरी हुन्छ त वायुप्रदुषण?

अमेरिकी वातावरणीय संरक्षण एजेन्सीले (Environmental Protection Agency) प्रायगरी सतहमा हुने ओजोन, नाईट्रोजन अक्साईड, सल्फर अक्साइड, कार्बनमोनोअक्साइड र ग्याँस तथा ठोसका अति न्यून कणको जटिल मिश्रण (particle pollution) गरी पाँच किसिमका मुख्य वायुप्रदुषक मानेको छ।

यिनीहरुको स्रोत भने खुला रूपमा फोहर जलाँउदा आउने धुँवा, सवारी साधनको ईन्धनबाट उत्सर्जन हुने ग्यास, अब्यबस्थित बिग्रेका सडक, अब्यबहारिक यातायात ब्यवस्थापन, पुराना र थोत्रा बिग्रेका सवारी संचालन, निर्माण कार्यमा प्रयोग हुने मेसिनहरु, इँटाभट्टा जस्ता विभिन्न उद्योगको उत्सर्जन नै प्रमुख हुन्।

घरभित्रको प्रदुषणको मुख्यकारकमा अप्रशोधित जैविक श्रोतहरूलाई ऊर्जाको रुपमा प्रयोगलाई मान्न सकिन्छ। अझै पनि हाम्रो घरेलु उर्जाको श्रोतको रुपमा काठ, दाउरा, कोइला, गुइँठा, पशुजन्य वस्तुका अवशेष र कृषिजन्य सामाग्री जस्तै घाँस, पराल, धानको भुस, बाँस जस्ता सामाग्रीहरु पर्दछन्।

तथ्यांकहरुले पनि कुल ऊर्जाको करिब ८० प्रतिशत खाना पकाउने र तताउने प्रयोजनका लागि घरायसी रूपमा प्रयोग हुन्छ, यसमध्ये दाउराको प्रयोगबाट मुख्य उर्जा प्राप्त हुन्छ। यसैगरी ग्यास, मट्टीतेल, कोइला जस्ता खनिज पदार्थहरु बाल्दा निस्कने प्रदुषण, कस्मेटिक सामग्रीहरू, रंगरोगन, फर्निचर, घर सफाइका सामानहरुबाट पनि वायुप्रदुषण हुने गर्छ।

नेपालमा खासगरी चैतदेखि जेठ सम्म वायु प्रदुषण निकै उच्चतहमा पुग्ने गर्छ। लामो सुख्खा हिउँद, देशब्यापी डढेलो, कमजोर पश्चिमी वायु र सवारीप्रदुषणले अहिलेको अवस्था आएको कुरामा कसैको पनि दुईमत छैन। अक्टोवरमा बाहिरिएको मनसुनी वायुपछि आउनुपर्ने पश्चिमीवायु कमजोर देखियो।

मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार मंसिरदेखि फागुनसम्म गत वर्ष जस्तै करीव ४५ मिलिमिटर हिउँदे पानी पर्नुपर्नेमा जम्मा ४ मिलिमिटर (१० प्रतिशत) मात्रै परेको देखिन्छ यसले पनि वायु प्रदुषणमा प्रभावकारी भुमिका खेलेको पाइन्छ।

हिउँदे बर्षा घट्नु, प्रि-मनसुन पनि कमजोर देखिनु, तराई र पहाडमा लाग्ने डढेलो मनाङ जस्तो हिमाली जिल्लाहरुमा पनि देखिनु, देशैभरि (७३ जिल्लामा) डढेलो बढेको तथ्याङ्क आउनु जस्ता घटनाहरु कतै विश्वब्यापी जलवायुमा आएको परिवर्तनले गर्दा त होइन, अध्ययनको आवश्यकता देखिन्छ।

काठमाडौ झन धेरै खतरामा छ किन?

मन्दिरै मन्दिरले चिनिने काठमाडौ शहर हालैका केहि बर्षदेखि भने धुँवाधुलोको शहर बनेको छ। समन्द्री सतहदेखि झण्डै १३०० मिटरको उचाईमा रहेको काठमाडौ उपत्यका चारैतिरबाट २००० मिटर भन्दा अग्ला पहाडहरुले घेरेर कचौरा जस्तो बनाएको छ, जसले दैनिक निस्केका प्रदुषित ग्यासहरुलाई उम्कन नदिएर वायु दुषित राख्न सहायकको रुपमा काम गर्छ। यस्तो अवस्थामा मौसम सफा हुनको लागि कि ठूलो पानी पर्नुपर्छ कि भने ठूलो चैते हुरी चल्नुपर्छ।

बढ्दो शहरीकरणले काठमाडौमा जनघनत्व पनि निकै धेरै छ। तथ्याङ्क विभागको तथ्याङ्क जानकारी अनुसार २०६८ सालमा झण्डै १३०० मानिसहरु प्रतिकिलोमिटर क्षेत्रफलमा बस्थे र यो क्रम प्रतिबर्ष ५ प्रतिशतले बढेर हाल २००० मानिस पुगेको अनुमान गरिएको छ।

काठमाडौं उपत्यकाले धान्न सक्ने भन्दा बढी जनसंख्यालाई ब्यवस्थापन गर्ने उपयुक्त विधिको छनौट गरिएन भने अबको केही वर्षमा नै काठमाडौ उखलमाउलो, सुख्खा र प्रदुषित शहर बन्छ र बालबच्चा र जेष्ठ नागरिकको लागि सुरक्षित वासस्थानको खोजी गर्नु पर्ने हुन्छ।

विगत १५ बर्षको तथ्याङक हेर्ने हो भने बागमती प्रदेशमा सवारी साधनको दर्ताको क्रम पनि निकै बढेको देखिन्छ। २०६२/०६३ सालमा २६,७८१ सवारी दर्ता भएकोमा गत बर्षसम्ममा १,१९,९५६ पुगेको तथ्याङ्क यातायात व्यबस्था विभागमा पाइन्छ र यिनीहरु मध्ये अधिकांश काठमाडौ उपत्यकामा नै चल्छन्।

विगतको पन्ध्र बर्षमा सवारी दर्ता करीब ४० गुणाले बढेको प्रमाण हो। यिनीहरु मध्ये अधिकांश प्राइभेट मोटरसाइकल र कारहरुले ओगटेका छन्। सार्वजनिक यातयात प्रणाली कमजोर भएको हाम्रो जस्तो परिवेशमा हुने नै यही हो।

अब के गर्न सकिन्छ?

नेपालमा सर्वसुलभ हुन सक्ने उर्जामा आधारित बातावरणमैत्री सवारी साधनहरुको अधिक प्रयोग गर्नको लागि समयाबधि तोकेर प्रभावकारी कार्यान्वयन शुरु गर्नुपर्छ। ईभी (Electric vehicle) को प्रयोगमा कमी र अधिक सवारी साधनहरू डिजेल पेट्रोलबाट चल्नु वा विद्युतीय सवारी साधनको प्रयोग बढाउन नसक्नु र जनचेतनामा कमी नै वायप्रदुषणका मुख्य पक्षहरु हुन्।

यही दशकको अन्तिम सम्म आधा जति विजुलीबाट चल्ने सवारी साधनहरुको अनिवार्य ब्यवस्थापन गर्नको लागि सरकारी बजेटले किन्दा डिजेल पेट्रोलबाट चल्ने सवारी अब किन्न नपाइने, जनतालाई पनि सुसूचित गरी कर, विमा लगायतका शुल्कमा अनुदान वा छुटको ब्यवस्था गर्नुपर्छ।

उद्योगधन्दा, निर्माण कार्यमा प्रयोग हुने खनिज तेलहरुबाट उर्जा निकाल्दा निस्कने विभिन्न ग्यासहरुले शहरी वायुप्रदुषणमा निकै ठूलो योगदान दिने गर्छ। त्यसैले दीर्घकालीन वायु प्रदुषण नियन्त्रणका लागि निश्चित समय तोकेर डिजेल पेट्रोलबाट चल्ने मेसिनहरुलाई बैकल्पिक उर्जामा आधारित गरेर चलाउनु पर्ने हुन्छ।

उद्योग र निर्माणबाट आउने प्रदुषण नियन्त्रणका लागि मापदण्ड बनाइ कडाइका साथ लागु गर्नुपर्छ। अझै चल्दै गरेका जेनेरेटरहरुको विकल्पको रुपमा फेरि चलाउन नपर्ने गरी विद्युत आपूर्ति सुनिश्चितता गरिनु पर्छ।

अब बन्ने घरहरुमा बातावरणमैत्री हरित शहर (Green City) को अवधारणा अनुसार घरको वरपर खाली जमिनमा कंक्रिटले नछोपी खुला जमिन देखिने गरी राख्ने र त्यसमा हरिया वनस्पति वा भान्सामा उपयोगी तरकारी खेती गर्न प्रोत्साहन जरुरी छ। घर भित्रै पनि हरियालीको लागि गमलामा अप्राकृतिक प्लाष्टिकले बनेको विरुवाको सट्टामा प्राकृतिक वनस्पति राख्ने पक्षमा शिघ्र योजना बनाई थालनी गरिनु पर्छ।

खुला ठाँउमा बालिने गरेको फोहोरमैला बाल्न नदिएर, कुहिने र नकुहिने फोहोरमैला छुट्याएर उचित ब्यवस्थापन गर्नुपर्छ। सबै फोहोरलाई डम्पिङसाइटसम्म नलाने, कुहिने जति सबै फोहोर घरमै जैविक मल बनाउन र करेसाबारी वा गमला प्रयोग गर्न प्रोत्साहन गर्नुपर्छ। स्थानीय निकायले यस्तै योजनाहरुको विकास गरेर फोहोरमैलाको दिगो ब्यवस्थापन गर्नसक्छन्।

मुख्य कुरा जति नै योजना बनाएपनि जनसहभागिता भएन भने उपलब्धी शून्य नै हुन्छ। जनचेतना अभिबृद्धि गर्ने र प्रदुषण गर्नेलाई दण्ड सजायँ गर्ने गरी प्रत्येक घरपरिवारले प्रदुषण नियन्त्रणका लागि उसको जिम्मेवारी बोध गराइदिनुपर्छ।

स्थानीय जनताहरूको प्रत्यक्ष्य संलग्नताको अनिवार्य ब्यवस्था मिलाएर अल्पकालीन र दीर्घकालीन योजना अनुसार काम गर्न सकेमा प्रकृतिको कारणले हुने यस्ता उथलपथलबाट बच्न सकिन्छ। नभए आज स्कुलमात्र बन्द गरेर बस्न पाइदा भोलिका दिनहरुमा घरै वा शहरै बन्द गरेर लामो समय लुक्नु नपर्ला भन्न सकिन्न।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो