कांग्रेसमा पुनः महाधिवेशन कार्यतालिका हेरफेर

डिसी नेपाल
३० चैत २०७७ ६:१७

काठमाडौं। नेपाली कांग्रेसको पूर्वनिर्धारित १४औं महाधिवेशनको कार्यतालिका फेरि हेरफेर हुने भएको छ ।पार्टीको क्रियाशील सदस्यता वितरणमा भएको ढिलाइ, नयाँ वितरित र नवीकरण सम्पन्न विवरण प्रणालीमा राख्न गरिएको ढिलाइ र अन्य पार्टीबाट आएकाको समायोजन प्रक्रिया बाँकी रहेका कारण प्रभावित बनेको कार्यतालिकालाई कांग्रेसले हेरफेर गर्ने भएको हो ।

कांग्रेसले पछिल्लोपटक २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत क्रियाशील सदस्यको विवरण देशभरिबाट अनलाइन प्रणालीमा इन्ट्री गर्ने समय चैत मसान्तसम्मका लागि तोकेको थियो । यसअघि कांग्रेसले १० चैतसम्म सो मिति तय गरेकोमा समयभित्र नसकिएपछि पुनः समय थप गरेको थियो ।

कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले आइतबारसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यको विवरण इन्ट्री भएको र समयावधि थप गर्ने कि नगर्ने भन्ने विषयमा सोमबार ९आज० बस्ने केन्द्रीय समिति बैठकले निर्णय लिने जानकारी दिए । ‘हालसम्म देशभरबाट ५ लाख ४६ हजार सदस्यको विवरण इन्ट्री भएको छ, अब फेरि समयावधि थप गर्ने कि नगर्ने भन्ने विषय केन्द्रीय समितिमा छलफल हुन्छ,’ समितिका संयोजक रहेका नेता लेखकले भने ।

हालसम्म ५० जिल्लाले मात्रै क्रियाशील सदस्यको नवीकरण भएको र नयाँ वितरण गरिएको विवरण केन्द्रीय कार्यालयले बनाएको अनलाइन प्रणालीमा पठाउन सुरु गरेका छन् । यस्तै, केही जिल्लाले धेरैजसो विवरण पठाइसकेका छन् भने केहीले सुरु नै नगरेको नेताहरू बताउँछन् ।

विवरण पठाउन सुरु नै नगर्ने जिल्लामा सोलुखुम्बु, सप्तरी, सिराहा, बारा, रौतहट, सिन्धुपाल्चोक, बर्दिया, डोटी र कैलाली छन् । विवरण पठाउन भएको ढिलाइपछि सो विषयमा छलफल गर्न भन्दै आइतबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी र पूर्वपदाधिकारीसहित सदस्यता छानबिन समिति र संगठन समायोजन समितिका सदस्यको बैठक बसेको थियो । सो छलफलमा कम्तीमा १५ दिन समय थप गर्ने विषयमा अनौपचारिक छलफल भएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल नै अनुपस्थित भएपछि थप छलफल सोमबारको बैठकमा नै गर्ने निर्णय लिएको हो । कांग्रेसले आगामी ७–१० भदौसम्म आफ्नो १४औं महाधिवेशनका लागि कार्यतालिका तय गरिसकेको आजको राजधानी दैनिकमा खवर छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *