कोरोनाको दोस्रो लहर बढी सचेतना जरुरी

डिसी नेपाल
३० चैत २०७७ ६:४५

काठमाडाैं। कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै सङ्क्रमण दरले पुनः गति लिन थालेको छ। दैनिक ४८ जनासम्म ओरालो झरेको सङ्क्रमणपछि पछिल्लो एक सातामा कोरोनाले गम्भीर बिरामी हुनेको सङ्ख्या बढ्न थालेको छ।

केही दिनयता सङ्क्रमितको सङ्ख्या तीन सयभन्दा बढी देखिएको छ। विज्ञहरूले कोरोनाबाट जोगिन अझ बढी सचेत हुनुपर्ने बताउन थालेको छन्।

भारतमा पछिल्ला दिनमा दैनिक एक लाख ५० हजारभन्दा बढी सङ्क्रमित हुँदा एक हजारको हाराहारीमा मृत्यु भइरहेको छ। नेपालमा पनि सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुले खतराको सङ्केत गरेको चिकित्सकहरूको भनाइ छ।

नेपालमा पछिल्ला दिनमा सङ्क्रमण सङ्ख्या विस्तारै उकालो लाग्दै गएको छ। दैनिक सङ्क्रमण मात्रै होइन; सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभर थपिएका नयाँ सङ्क्रमितको सङ्ख्या ३६७ पुगेको जानकारी दिए। यसअघि शनिबार ३६३ जना सङ्क्रमित थपिएका थिए।

मन्त्रालयका अनुसार देशमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ९६१ जना पुगेको छ। केही दिनअघि मात्र सक्रिय सङ्क्रमितको सङ्ख्या सात सयमा झरेको थियो । गत बुधबार सक्रिय सङ्क्रमित दुई हजार २०१ पुगेका थिए।

डा. गौतमले नेपालमा सङ्क्रमितको सङ्ख्या मात्रै नथपिएको भन्दै गम्भीर प्रकृतिका बिरामी पनि बढ्दो क्रममा रहेको जानकारी दिए। एक साताअघि कोरोना सङ्क्रमणले गम्भीर अवस्थामा पुगेका ४७ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेकामा सो सङ्ख्या बढेर आईसीयूमा पुग्ने सङ्क्रमितको सङ्ख्या ६५ र भेन्टिलेटरमा जानेको सङ्ख्या १३ पुगेको थियो। आइतबारको तथ्याङ्कअनुसार आईसीयूमा ८९ र भेन्टिलेटरमा १५ जना छन्।

नेपालमा दोस्रो चरणको नयाँ भेरियन्ट आएको र युवा पुस्तालाई समेत गाह्रो पार्न थालेकाले पनि कोरोनाले थप चिन्ता बढाएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। टेकु अस्पतालका चिकित्सक डा. पुनका अनुसार थोरै लापरबाहीले मुलुकको भविष्य गम्भीर अवस्थामा पुग्न सक्नेछ। उनले कोरोना सङ्क्रमण नियन्त्रणमा आउन लाग्यो भनिरहेका बेला पुनः उचाइ लिन थालेकाले सचेत हुन आग्रह गरे।

पछिल्लो एक साताकै तथ्याङ्क हेर्ने हो भने कोरोनाकै कारण गम्भीर बिरामी हुनेको सङ्ख्या विस्तारै बढेको उनको भनाइ छ। दैनिक सङ्क्रमणसँगै सक्रिय सङ्क्रमित, आईसीयूमा भएका बिरामी र भेन्टिलेटरमा रहेका बिरामीको सङ्ख्या पनि बढ्दो क्रममा देखिएको छ। गाेरखापत्र दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *