‘वीरगञ्जमा भित्रभित्रै कोरोनाको आगो सल्केको जस्तो अवस्था छ’

तर्कबहादुर थापा
३१ चैत २०७७ ७:४०

वीरगञ्ज भारतको सीमासँग जोडिएको महानगर हो। भारतको उत्तर प्रदेशमा कोरोनाका संक्रमितहरु बढिरहेका बेला सीमाक्षेत्रमा परेको महानगर उच्च जोखिममा रहेको छ। गत वर्ष पनि कोरोनाको इपिसेन्टर नै भएको थियो वीरगञ्ज।

वीरगञ्जले उच्च क्रममा बढेको कोरोनालाई छोटो समयमा शून्य प्रायमा झारेर उदाहरणीय काम समेत गरेको थियो पोहोर साल। कोरोनाको दोश्रो लहर पनि सुरु भएको छ। कोरोनाको दोस्रो लहर सुरु भएपछि सरकारले स्थानीयतहलाई सक्रिय गराउने भएको छ।

कोभिड संकट व्यवस्थापन कमिटीले स्थानीय तहहरुलाई सक्रिय गरेर लैजाने निर्णय गरेको छ। यसै विषयमा वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीसँग कोरोना व्यवस्थापनका बारेमा महानगरको तयारीका बारे गरिएको कुराकानीको सम्पादित अंशः

कोरोनाको दोस्रो लहर सुरु भएको छ। वीरगञ्जमा कोरोनाको अवस्था र यहाँहरुको तयारी कस्तो छ?

वीरगञ्जमा पनि देशका अन्य भागजस्तै कोरोनाको भित्रभित्रै आगो सल्केको जस्तो अवस्था छ। यो आगोलाई निभाउन रणनीतिक तरिकाले नै जानु पर्ने भएकाले हामी पनि रणनीतिक तरिकाले अगाडि बढिरहेका छौं। हामीले गरेको कामको रिजल्ट २/४ दिनमै अगाडि आउँछ।

कोरोनाबाट मानिसहरुमा कत्तिको त्रास देख्नु भएको छ ?

अघिल्लो साल कोरोनाको मन्छेमा डर थियो। यो एक सालको अनुभवले डर घटाइदिएको रहेछ। तर, डराउनु पर्ने अवस्था अहिले धेरै छन्। पहिला हामीले चेकजाँच गर्दा म्याक्सिमम १५ प्रतिशत रिजल्टमात्र पोजेटिभ आउँथ्यो।

अहिले ५० प्रतिशत आउन थालेको छ। जति धेरै चेकजाँच बढायो त्यति धेरै संक्रमितहरु बढ्न सक्छन्। जम्मा चेक गरेको संख्याको ५० प्रतिशत रिजल्ट आउनु भनेको त मैले अघि भनेजस्तै भित्रभित्र सल्किएको आगो झैं भएन त।

यहाँहरु त भारतको सीमासँग जोडिएको नगरमा हुनुहुन्छ। भारतको कोरोनाको संक्रमण दर उच्च छ। सीमा क्षेत्रमा कस्तो सतर्कता अपनाउनु भएको छ?

नाकामा पहिला भन्दा कडा काम गरेका छौं। मान्छेहरुको आउजाउ धेरै भएको ठाउँमा स्वास्थ्य चौकी पनि धेरै राखिएको छ। ती स्वास्थ्य चौकीबाट कोरोनाको पनि टेस्ट भइरहेको छ र मलेरियाको पनि टेस्ट भएको छ। भारतको धेरै रिस्क जोनबाट आएकालाई एन्टिजेन पनि टेस्ट गरिरहेका छौं।

वीरजञ्जबाट देशभरका मान्छेहरु आउने भएकाले पनि यो नाकालाई अझै व्यवस्थित गर्नु आवश्यक ठानेर चेकजाँच गर्र्ने गरेका छौं। पोजेटिभ देखिएकालाई सम्बन्धित जिल्लामै खबर गरेर नगरपालिकाले नै गाडी दिएर पुर्याउने व्यवस्था गरेका छौं।

कोरोना संक्रमितहरु बढेपछि आइसोलेसन र अस्पताल चाहिएला, भारतबाट आएकालाई क्वारेन्टाइन पनि चाहिएला, के व्यवस्था छ?

क्वारेन्टाइन यो वर्ष घरघरमै गराउन थालेका छौं। गत वर्ष हामीले बनाएको क्वारेन्टाइनमा राखेर धेरै राम्रो गर्न सकेनौं। उल्टो त्यहाँबाट कोरोना नहुनेलाई सरेर गयो। घरमा बस्न ठाउँ नभएकालाई स्थानीय वडाको धर्मशालामा राख्ने गरेका छौं।

एन्टिजेन टेस्ट गर्ने र त्यसको रिजल्ट हेरेपछि छोड्ने काम गरिरहेका छौं। आइसोलेसनको लागि पनि केही आइसोलेसन सेन्टरहरु तयार गर्दै छौं। करिव १ सय ५० जना क्षमताको होटललाई हामीले आइसोलेसनका रुपमा प्रयोग गर्दै छौं। ७० बेडको अस्पतालका लागि सरकारसँग माग गरेका छौं। स्वीकृति आउने वित्तिकै हामीले त्यो अस्पताल पनि सुरुवात गर्छौं।

खोपको अवस्था कस्तो छ नि ?

नेपाल सरकारको रणनीतिक परिधिभित्र बसेर खोप पनि लगाएका छौं। अहिल खोप नभएको अवस्था छ। खोप आएपछि दोस्रो डोज पनि दिने र त्यसपछि ५५ वर्षसम्मको उमेर समूहकालाई पनि खोप लगाउने भन्ने तयारी भइरहेको छ। वैशाख ७ देखि ११ सम्म सेकेण्ड डोज दिन्छौं।

गत वर्ष पुरै देश लकडाउनमा गएको अवस्था थियो। अहिले स्थानीय तहलाई सक्रिय बनाउने कुरो छ। लकडाउनका बारेमा केही सोच्नु भएको छ ?

लकडाउन विवेकहीन निर्णय भएजस्तो लाग्छ। जहाँ संक्रमण धेरै छ, त्यो ठाउँ हेरेर व्यवस्थापन गर्नुपर्छ। पहिला पनि विविकहीन निर्णय गरेका कारण देशले ठूलो क्षति व्यहोर्नु पर्यो। अब त्यो गल्ती दोहोरिनु हुँदैन भन्ने हो।

गल्ती के भन्नु हुन्छ भने एक ठाउँमा भएको कोरोनाको वृद्धिका कारण देश नै ठप्प पार्ने। त्यो गल्ती अहिले गर्नु हुँदैन भन्ने हो। अहिले हामीले कोरोनाको संक्रमण देखिएको इलाकालाई शील गरेर त्यसको व्यापक चेकजाँच गर्नुपर्छ।

विद्यालयको विषयमा के सोच्नु भएको छ त?

हालसम्म कुनै पनि विद्यालयको शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण भेटिएको छैन। हामीले विद्यालय क्षेत्रलाई पनि सुरक्षित गर्ने भरपूर कोशिस गर्छौ नै। तर, पढाईको कोर्ष पूरा भएका विद्यालयहरुको परीक्षा लगेर बन्द गर्ने कि भन्ने सोचमा पनि छौं। र आवश्यकता अनुसार काम अगाडि बढाएका छौं।

सिमानाका कारण उच्च रिस्कमा हुनुहुन्छ। चुक्ने अवस्था आउँछ की !

बोर्डको कारण अलिकति उच्च रिस्क भए पनि वीरगञ्जले आफ्नो तर्फबाट गर्नु पर्ने सम्पूर्ण तयारी गरेको छ। वीरगञ्ज कहीँबाट पनि चुकेको छैन। हामीले गएको एक वर्षबाट सिकेर पनि धेरै कुरा बेलैमा ख्याल गरेका छौं। एक वर्षको स्कुलिङलाई अहिलेको व्यवस्थापनमा उपयोग गर्छौं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *