फर्केर हेर्दा, २०७७ : कालाे बादलभित्र चाँदीकाे घेरा

उपेन्द्र शाही
१ वैशाख २०७८ ६:४७

काठमाडौं। कोरोना महामारीका कारण वर्ष ०७७ अस्तव्यस्त रह्यो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विश्वव्यापी अर्थतन्त्र खुम्चियो। सोही कारण नेपालको अर्थतन्त्र पनि ४१ वर्षपछि श्रृणात्मक रह्यो।

विसं २०७६ चैत ११ गतेदेखि कोरोना भाइरसको नियन्त्रणका लागि गरिएको लकडाउनका करिव ६ महिना रह्यो। त्यसपछि पनि पटक–पटक लगाइएको निषेधाज्ञाले अर्थतन्त्रलाई थलिएको, भद्रगोल अवस्थामा पुर्यायो। मानव जगतलाई नै चुनौती दिएको कोरोना भाइरसले पर्यटन व्यवसायी र यातायात व्यवसायीलाई सबैभन्दा धेरै मर्का पर्यो।

यो बाहेक भूकम्पपछिको पुर्ननिर्माण, भौतिक पूर्वाधार, उर्जा उत्पादन तथा वितरण, लगानी, उद्योग, सञ्चार, नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य लगाएतका सबै क्षेत्रमा महामारीले नकरात्मक असर पार्यो।

चारै तिर अस्त व्यस्तता र त्रासकाबीच शुरु भएको वर्ष २०७७ ले नेपालीलाई विपद्सँग लड्न र भिड्न सकिन्छ भन्ने सन्देश भने दिएको छ। समग्रमा वर्ष २०७७ अर्थतन्त्रका लागि विर्सन लाएक वर्ष रहे पनि सम्झन लायक पाँच प्रमुख घटना यस्ता छन्।

बिकासोन्मुख मुलुकमा स्तरोन्ति

नेपालले सन् २०२६ सम्ममा आफूलाई विकासोन्मुख राष्ट्रमा सूचिकृत गराउने भएको छ। नेपालको प्रतिव्यक्ति आय, मानव विकास सुचाकांक र आर्थिक जोखिम सुचकांकहरुमा सुधार गरेकाले अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन लागेको हो।

संयुक्त राष्ट्रसंघको कमिटी फर डेभलपमेन्ट (सीडीसी)ले नेपाललाई विकासशील राष्ट्रमा स्तरउन्नति गर्न सिफारिस गरेको हो। राष्ट्रसंघले नेपाललाई पाँच वर्षको तयारी समय दिएर अतिकम विकसित मुलुक (एलडिसी) बाट विकासशील मुलुकमा सिफारिस गरेको छ।

यो नेपाललाई अन्तर्राष्ट्रिय देश र मानिसले हेर्ने दृष्टिकोणमा परिर्वतन हुने यस क्षेत्रका जानकारहरु बताउँछन्। जसकारण नेपालको अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति मजबुत हुने आशा गर्न सकिन्छ।

मेलम्चीको सपना विपना भएको वर्ष

विक्रम सम्वत् २०५१ को मध्यावधि चुनावमा काठमाडौंबाट उठेका पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जिते “काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने” बताएका थिए। त्यसपछिका धेरै प्रधानमन्त्री र मन्त्रीहरुले मेलम्चीको नाराले धेरै चुनाव जिते। प्रतिबद्धता जनाए। तर, मेलम्ची काठमाडौं पुग्न २२ वर्ष लाग्यो।

सुरुमा सुन्दा सपना जस्तै लाग्ने मेलम्ची लामो समयको बहु प्रतिक्षा पछि काठमाडौंवासीका धाराधारामा पुगेको छ। बुढा पाका मानिसहरुले यसलाई सपना देखेको कुरा विपना पनि हुँदै रहेछ भनेर टिकाटिप्णी गरेका छन्।

यही फागुन २२ गते मेलम्चीको पानी काठमाडौं आइपुगेको थियो। काठमाडौं पुगेको २४ दिनपछि अर्थात चैत १६ गतेदेखि मेलम्चीको पानी धारा धारामा पुगेको छ। दशकौं देखि पानीको हाहाकार भोग्दै आइरहेका लाखौँ मानिसहरु यसबाट प्रत्यक्ष लाभान्वित भएका छन्।

पुँजी बजारमा इतिहासमा कीर्तिमान माथि कीर्तिमान

वर्ष २०७७ साल पुँजीबजारको लागि धेरै नै सुखद रह्यो। यो वर्ष नेप्से सूचक १४ सय ६३ दशमलव ३४ अंकले बढेको छ। २०७६ सालको कारोबारको अन्तिम दिन नेप्से सूचक १२ सय ५१ दशमलव ४५ रहेकोमा ७७ सालको अन्तिम दिनमा नेप्से सूचक २७ सय १४ दशमलव ७९ को बिन्दुमा पुगेको छ। यसर्थ २०७७ सालमा नेप्से हाल सम्म कै उच्च बिन्दुमा पुगेको छ ।

त्यस्तै बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भएको छ। २०७६ सालको कारोबारको अन्तिम दिन बजार पुँजीकरण १६ खर्ब रहेकोमा ७७ सालको अन्तिम दिन बजार पुँजीकरण ३७ खर्ब ५८ अर्ब ९७ लाख कायम भएको छ।

यहि वर्ष नेप्सेले सर्बाधिक कारोबार रकम, सर्वाधिक कारोबार कित्ता, सर्वाधिक आईपिओ निष्काशन कम्पनी, आईपिओ निष्काशन रकम, आईपिओमा आवेदन दिने आवेदक, दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता लगायतमा नयाँ रेकर्ड कायम गरेको छ।

यसै वर्ष डिम्याट खाता खोल्नेको संख्यामा नयाँ रेकर्ड कायम भएको छ भने यसै वर्ष पुँजीबजारमा स्टक डिलरको प्रवेश भएको छ। सेयर बजारमा भएको वृद्धिले कोभिडको कहरमा रहेका मानिसहरुमा केही मात्रामा भए पनि मलम लगाउने काम गरेको छ।

नेपालकै ठूलो ढल्केबर सबस्टेसन सञ्चालनमा

नेपालको अहिलेसम्मकै ठूलो ढल्केबर धनुषाको सबस्टेसन सञ्चालनमा आएको छ। १३ बिगाहा जमिनमा फैलिएको ४०० केभी र २२० केभी सबस्टेसनबाट एक हजार मेगावाट बिजुली आदानप्रदान हुनसक्छ। धनुषाको मिथिला नगरपालिका–७ स्थित ढल्केबरमा निर्माण भएको यो देशकै ठूलो र पहिलो ४०० केभीको प्रसारण लाइन हो।

यो ढल्केबर–मुजफ्फपुर पहिलो ४०० केभी क्रसबोर्डर प्रसारण हो। यसबाट नेपाल र भारतबीच एक हजार मेगावाटसम्म विद्युत् आदान–प्रदान गर्न सकिन्छ। मुलुकभित्र पूर्व–पश्चिम विद्युत् आपूर्ति र भारतसँग विद्युत व्यापारका लागि ग्यास इन्सुलेटेड सबस्टेसन (जीआईएस) प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै ठूलो विद्युत् हब बनेको छ।

देशभर ३ सय बढी आधारभूत अस्पतालको एकैपटक शिल्यान्यास

विश्वव्यापी महामारी बनेको कोभिड १९ ले मानिसको स्वास्थ्य भन्दा ठूलो कुरा केही नभएको प्रस्ट्याइ दिएको छ। स्वास्थ्यको बेवास्ता गर्दै विकासमा बत्तिएको मानव समुदाएलाई स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राख्नुपर्छ र त्यसमा लगानी बढाउनुपर्छ भन्ने सन्देश दिएको छ।

सरकारले सोही आवश्यकतालाई महसुस गर्दै एकै पटक देशभर गत मङ्सिर १५ गते ३ सय १५ अस्पताल भवनको शिलान्यास ग¥यो। नेपालको स्वास्थ्य क्षेत्रका लागि सरकारको यो सत्प्रयास यस वर्षको महत्वपूर्ण कामको रुपमा स्थापित भएको छ भने अर्थतन्त्रमा चहल पहल गराउने छ।

किनभने सरकारले सो कार्यका लागि मात्रै रु ५८ अर्ब लाग्ने अनुमान गरेको छ। कूल ७ सय ५३ स्थानीय हमध्ये ६ सय ४९ स्थानीय तहमा आधारभूत अस्पताल नभएको सन्दर्भमा न्यूनतम पाँच शैय्या देखि अधिकतम १५ शैय्या बराबरको अस्पताल निर्माण गर्न लागिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *