साधनाबाट नै साहित्य अङ्कुरित, पुष्पित र पल्लवित हुन्छ : गोपाल अश्क – Dcnepal

साधनाबाट नै साहित्य अङ्कुरित, पुष्पित र पल्लवित हुन्छ : गोपाल अश्क

नेपाली साहित्य र समालोचनाका विषयमा कलम चलाउने भोजपुरी महाकाव्यका रचयिता गोपाल अश्क साहित्यका एक प्रखर हस्ताक्षर हुन्। नेपाली, भोजपुरी र हिन्दी साहित्यमा अश्कको कलम बढी चलेको छ। बुबाले आफूलाई काखमा राखेर गुनगुनाउने गरेका धार्मिक गीत, वाचन गरेका रामायण र महाभारतका श्लोकहरुले अश्ककोे बाल्यकालको कलिलो मानसपटलमा साहित्य अङ्कुरित भयो।

कक्षा ३ मा पढ्ने बेलादेखि गीत गाउन रुचाउने साहत्यकार समालोचक अश्कले कक्षा ८ मा पढ्दै गर्दा औपचारिक रुपमा साहित्यमा प्रवेश गरे। स्थानीय पत्रपत्रिकामा पत्थरको हृदय नामक कथा प्रकाशन गरेपछि अश्कले औपचारिक साहित्यको यात्रा सुरु गरेका हुन्।

एसएसलीसम्मको अध्ययन नेपालमा गरेका अश्कले आइए र बीए भारतमा गरे। जीवनमा धेरै संघर्ष गरेर पढेका अश्कले सरकारी जागिर खाने इच्छा गरेनन्। निजी क्षेत्रको जागिरबाट रिटायर्ड भएका उनका हालसम्म ५० कृति बजारमा छन्। भोजपुरी भाषाको महाकाव्य लेखेका उनले नेपाल भाषाको गजलमा पनि महाकाव्य लेखेका छन्। समालोचना र अनुवादको काम पनि थुप्रै गरेको साहित्यकार अश्कले अनुभव सुनाएका छन्।

तिनै बहु विधामा कलम चलाउन सक्ने साहित्यका प्रखर हस्ताक्षर गोपाल अश्कसँग डिसी नेपालका लागि तर्कबहादुर थापाले गरेको कुराकानीको सम्पादित अंशः

प्रकाशनको हिसाबले कथाबाट यहाँको साहित्य यात्रा सुरु भएको भन्नु भा छ। मैले पनि यहीबाट सुरुवात गरेँ। पहिलो कथा लेख्दाको अनुभव सुनाइदिनुस् न ?

मैले २०३२ सालमा पहिलो कथा लेखेको थिएँ। मेरो एक जना सँगै पढ्ने साथीको वास्तविक कथामा आधारित छ। उनकी सौतेनी आमा थिइन्। उनले सौतेनी आमाबाट पाएका पीडाहरु हामीलाई सुनाउँथे। खाजा खान जाने बेलामा उनले सुनाएका पीडाहरुलाई समेटेर मैले पत्थरको हृदय कथा लेखेको थिएँ। त्यो त्यहाँको स्थानीय पत्रिकाले प्रकाशित गरेको थियो।

म ८ कक्षामा पढ्ने बेला लेखेको हुँदा धेरै कुराहरु याद छैनन्। मेरो लेखाई के थियो। कस्तो थियो। त्यो अलग कुरा हो। हाम्रो पढाइको हिसाबले हामी त्यो बेलामा अहिलेको उमेरका बच्चा जस्तो स्मार्ट थिएनौं। चप्पल लगाएर स्कूल जानु पर्ने, राम्रो काम गरेमात्र जुत्ता किनिदिन्छु भन्ने। एसएलसी पास भएपछि मात्र घडी दिने यस्तो अवस्था थियो। त्यस्तो अवस्थामा कथा लेखेको थिएँ।

मैले ३ कक्षा पढ्दादेखि नै गीत गाउँथेँ। त्यो अझै पनि सम्झना छ। ५ वर्ष भएपछि १ कक्षामा नाम लेखाउने चलन थियो। ३ कक्षा पढ्दासम्म त म ८ वर्षको भइसकेको थिएँ।

यहाँको कुरा सुन्दा पारिवारिक वातावरण पनि साहित्यमय थियो भन्न मिल्छ ?

त्यो वातावरण मेरो घरम थियो। बुवाले रामायण, महाभारत लगायतका पुस्तकहरु पढ्नु हुन्थ्यो। महाभारत ७ दिनसम्म लगातार पढ्नु हुन्थ्यो। ८औँ दिनमा बन्द गर्नु हुन्थ्यो। तर, रामायण भने नियमित पढ्ने गर्नु हुन्थ्यो।

उहाँले मलाई काखमा राखेर महामारतका श्लोकहरु भन्नु हुन्थ्यो। कृष्णको नाम पनि गोपाल मेरो नाम पनि गोपाल, म त गोपाल भनेर श्लोक पढ्दा मेरै नामको पढेको हो भनेर मख्ख पर्दो रहेछु। बुबाको त्यो संस्कारले मलाई पनि प्रभावित पारेको हुनसक्छ। त्यो बेलामा पनि बुबाले लेख्नु हुँदो रहेछ। उहाँको मृत्यु भएपछि मैले केही भेटेको थिएँ। प्रकाशन गर्न सकिएन।

पढाइमा त्यति राम्रो विद्यार्थी थिइन भन्नु हुन्छ। ५० वटा जति पुस्तकहरु लेख्नु भएको छ। कसरी बुझ्ने ?

साहित्यकार, दार्शनिक, बैज्ञानिकलगायतका प्रतिभाहरु समाजका हुन्छन् पनि हुँदैनन् पनि। सामाजिक प्राणी त हुन तर, कता कता समाजभन्दा धेरै टाढा हुन्छन्।

उनीहरुलाई समाजले बुझ्न सकेको हुँदैन। उनीहरुको सोच नै अलग हुन्छ। आफ्नो बाटो बनाउने, आफ्नै बाटो बनाउने मान्छेहरु अलमलिएका हुन्छन्।

उनीहरु त्यो कताजाउँ भन्ने खोजमा असफल भइरहेका हुन्छन्। निरन्तरको साधना र लगनशीलताले उनीहरुलाई फरक तरिकाले स्थापित गरिदिन्छ। त्यो बाटो बनाएर मैले हिडेँ। पढाइमा कमजोरको अर्थ पनि अन्य धेरै कुराहरु सोचि रहेको हुन्थे। अहिले लाग्छ मलाई साहित्यकार बन्नु थियो र म त्यस्तो भएँ।

नेपाली, भोजपुरी र हिन्दी तीनवटै भाषामा कलम चलाउदाको यहाँको अनुभव सुनौं न ?

मैले पहिलो नेपाली, अनी मात्र अरु भाषाहरु लेख्ने गरेको छु। कारण पढाइको भाषा नेपाली, कामकाजको भाषा नेपाली, अझ मेरो जमनामा हाम्रो राजा, हाम्रो देश, एउटै भाषा एउटै भेषको नीति थियो। त्यो भएर पनि नेपालीमा धेरै कमल चल्यो। भोजपुरी त मेरो मातृ भाषा नै हो। र अर्को जुन हिन्दीमा लेखेको छु, त्यो भाषामा अनुवाद मात्र गरेको हो।

नेपाली पनि अहिले तपाईँसँग बोलेको नेपाली मेरो गाउँमा थिएन। हामीलाई नेपाली पढाउने गुरुले पनि नेपाली पढाउँदा भोजपुरीमा अनुवाद गरेर सुनाउनु हुन्थ्यो। हामी भोजपुरीबाट नेपाली पढ्थ्यौं।

भाषामा प्रभाव हुने गर्छ। भारोपीय भाषाहरु एकअर्कामा उस्तै उस्तै हुन्छन्। अहिले त मातृभाषा पनि भन्ने चलन हराउन थाल्यो। पहिलो भाषा, दोश्रो भाषा भन्ने चलन सुरु भयो।

यहाँले विभिद विषयमा कलम चलाउनु भएको छ। साहित्यको पनि गद्द र पद्द दुबै विधामा यहाँको कलम चलेको छ। सजिलो कुन विषय हुन्छ ?

पहिला कविहरुको कसौटी भनेर गद्दलाई चिनिन्थ्यो। गद्द लेख्न गाह्रो छ भनिन्थ्यो। छन्दवादी कविहरुमाथि भाषा विगारेको आरोप लाग्ने कारण यो पनि हो। तर, मेरो विचारमा त्यस्तौ हैन।

दुई वटै विधाका आ–आफ्नो शक्ति र सामर्थ छ। प्रतिभा सम्पन्न हस्ताक्षर र साधना गर्ने हस्ताक्षरले दुइटैलाई सजिलै रुपमा लिन्छन जस्तो लाग्छ। जब मलाई सजिलो हुँदैन भने मैले किन लेख्छु। यसको अर्थ लेख्ने साधना गरेपछि दुबै विधा सजिलो छन्। साधना गरेन भने दुबै विधा गह्रो छन्। बल पु¥याएर साहित्य कति लेख्न सकिन्छ।

कहिलेसम्म लेख्न सकिन्छ र। साहित्य साधना भनेकै जटिलता हो। त्यो सजिलो भए त सबैजना कवि हुन्थे।

यहाँको समालोचक व्यक्तित्वलाई प्रश्न गरे मैले। भोजपुरी साहित्यको अवस्था के छ कहाँ छ ?

सन्तोषजनक छ। किन भने १० वटा महाकाव्य छैन, २० वटा कथा छैन, १० वटा उपन्यास छैन। भनाइको अर्थ छन्, मात्रा कम छ। लेख्ने साधकहरु कम छन्। नेपालीको भन्दा अपेक्षाकृत कम छन्।

कारणहरु धेरै छन्। त्यो मध्येको एउटा कारण हो भाषाको प्रयोग। नेपाली भाषाको प्रयोग सबै तिर छ तर, भोजपुरी भाषाको प्रयोग सिमित मात्र छ। जबसम्म कुनै पनि भाषा रोजिरोटीसँग जुट्दैन त्यो विक्षित हुँदैन। राज्यबाट भाषा संरक्षित भएनन् भने पनि भाषा विकसित हुँदैनन। आरक्षण गरेर कति विक्री गराउँन सकिन्छ। आरक्षणको पनि सीमा हुन्छ आरक्षणको अर्थ केही समयमा त्यो समूदाय र त्यो वर्गलाई उठाउनको निमित्त आरक्षण ठिक हो।

राज्यले आफ्नो ड्यटी पुरा गरेको छ। भाषाको संरक्षणमा राज्यले गर्ने काम गरेपछि सरोकारवालाले पनि आफ्नो काम गर्नु प¥यो नि। पहिलेको दृष्टिकोणमा अहिले भोजपुरी साहित्य धेरै छ। २००९ सालमा हरिहर प्रसाद यादवको गीतबाट भोजपुरी साहित्य सुरुहुन्छ। तर, समृद्ध छन् भन्न मिल्दैन।

भोजपुरी साहित्यलाई राज्यले विभेद गरेको हो ?

मन तितो गरेर पनि हो भन्नुको विकल्प छैन। त्यस्तो किसिमको नीति ल्याइदिएन। पहिला एउटै भाषा एउटै भेष भन्ने थियो। तर, आजको स्थिति त्यो छैन। त्यो बेलामा राज्यले विभेद गरेका कारण भोजपुरी साहित्य स्थापित हुन सकेन भन्न सकिन्छन्। तर, अहिले सरोकारवालाले पनि सोच्नु पर्छ, आफ्नो तर्फबाट गर्नु पर्ने काम गर्नु पर्छ।

राज्यले कुनै भाषाको सम्बर्धनको लागि पैसो खर्च गरिदिने। कुनै भाषाको लागि नगर्ने। यो राज्यनको नीतिले गर्दा पनि साहित्यमा राज्यले विभेद गरेको भन्न सकिन्छ। तर, बहुभाषिक, बहु सांस्कृतिक देश भइसकेपछि, संघीयतामा देश गइसकेपछि, हामीले पनि त्यो विषयमा सोच्नु त पर्छ नै।

सम्बन्धित भाषा भाषिका साहित्यकारहरुले पनि आफूले गर्ने काम गरिदिएनन्। पोलिसी जस्तो भए पनि भाषाभाषिका साहित्यकारले गर्ने काम त गरेको भए राज्यले विभेद ग¥यो भन्नै पर्दैनन् नि। मैले भोजपुरीमा साहित्य लेख्छु। कतिपय भोजपुरी साहित्यकारलाई मेरो नामै थाहा छैन हो। मैले लेखेको पुस्तक पढेकै छैन होला। भन्नुको अर्थ आफ्नो भाषाभाषिका साहित्यको बारेमा खोज अनुसन्धान गर्नु जरुरी छ।

साहित्य लखेर बाँच्न कति गाह्रो छ ?

डायमण्ड समशेरलाई छोड्यौं भने बाँच्न गाह्रो छ। उहाँले मात्र सेतो बाघले रोएल्टी दिएको कुरा सुनाउनु भएको हो। त्यो भन्दा बाहेक हामीले विसुद्ध रचना गरेर बाँच्न गाह्रो छ।

हाम्रो देशमा मात्र होइन साहित्यको अवस्था दक्षिण एसियाकै हालत उस्तै छ। मलाई लाग्छ हाम्रो पुस्ताले किताब लेखेरै बाँच्न सकिन्छ भन्ने देख्न पनि पाउँदैन होला। छिमेकी देश भारतको कुरा गर्दा पनि हालत उही छ। हाम्रो देशको त कुरै छोडौं। गाह्रो छ।

साहित्य कसरी लेखिन्छ ?

स्वस्फूर्त रुपमा आउँछ। बुद्धि जब स्थिर हुन्छ, तब त्यसलाई व्याख्या गर्दै लेख्ने साहित्य हो। साहित्य सिकाएर सिक्ने विषय होइन्। सत्य कुराहरुसँग रहनु साहित्य हो।

साहित्यले जे देख्न त्यो नै लेख्छ। त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिएको हो। अरु विधा जस्तो साहित्य सिकाएर सिकिने कुरा हैन। साधनाबाट नै साहित्य अङ्कुरित, पुष्पित र पल्लवित हुन्छ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो