हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु हुने

डिसी नेपाल
४ वैशाख २०७८ २३:२२
24
Shares

मकवानपुर। हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ ।

मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी तीन वटा डायलायसिस मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराइसकिएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिए। उनले जिल्लाका विभिन्न गाउँपालिकाबाट डेढ सयभन्दा बढी मिर्गौला रोगबाट पीडितले डायलायसिस सेवा लिन सम्पर्कमा आइसकेको बताए।

उनका अनुसार रोटरी क्लब अफ हेटौँडाले अबको केही हप्ताभित्रै थप दुई वटा डायलायसिस मेसिन उपलब्ध गराउने भएको छ । मुटु रोगको शल्यक्रिया तथा नवजात शिशुको आपतकालीन उपचारका लागि विशिष्ट कक्षको निर्माण र सम्बन्धित विशेषज्ञ चिकित्सक उपलब्ध गराउन अस्पतालले सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गरेको बताइएको छ ।

यसैगरी आगामी आर्थिक वर्षको पुस मसान्तसम्ममा मुटु रोगसँग सम्बन्धित उपचार सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको पनि हेटौँडा अस्पतालका प्रमुख चिकित्सक डा प्रविण श्रेष्ठले जानकारी दिए। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *