कोरोना संकटः बैंक तथा वित्तिय संस्थालाई राष्ट्र बैंकको ९ बुँदे निर्देशन
काठमाडौं। नेपाल राष्ट्र बैंकले कोरोनाको दोस्रो लहर तिब्ररुपमा फैलिएपछि जोखिम न्यूनीकरण र सुरक्षित सेवाप्रवाहका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौ बुँदे निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकले निर्देशनमा क देखि घ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवाप्रवाह गर्न, सेवाप्रवाहका क्रममा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न निर्देशन दिएको छ। त्यसैगरी, सेवाग्राहीको भिडभाड नहुने व्यवस्था मिलाउन, भौतिक दूरी काम गर्न तथा यथासम्भव विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन छ।
राष्ट्र बैंकले एटिएम प्रयोगबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राख्न तथा सेनिटाइजरको व्यवस्था गर्न भनेको छ। त्यस्तै, बैठक, गोष्ठी, सेमिनार, तालिमलगायत कार्यक्रममा पर्याप्त भौतिक दूरी कायम राख्न र सकेसम्म यस्ता कार्यक्रम भर्चुअल माध्यमबाट गर्न निर्देशन दिइएको छ।
राष्ट्र बैंकले कर्मचारीलाई संक्रमणको जोखिमबाट बचाउन जोखिम न्यूनीकरणका विभिन्न उपाय अवलम्बन गर्न भनेको छ । कर्मचारीहरूको समूह विभाजन गरी एक समूहको अर्को समूहसित प्रत्यक्ष सम्पर्क नहुने व्यवास्थ गर्न तथा रिमोट एसेस, वर्क फ्रम होम, सिफ्टवाइज वर्क जस्ता उपाय अवलम्बन गर्न राष्ट्र बैंकको सुझाव छ।
संक्रमणको शंका लागेका बिरामीलाई तत्काल आइसोलेट गरी परीक्षण गर्न र कन्ट्र्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई क्वारेन्टिनमा राख्नसमेत निर्देशन गरिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment