विद्युत् दुर्घटनामा घाइते कर्मचारीलाई प्राधिकरणले साढे १९ लाख क्षतिपूर्ति दिने
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका आफ्ना कर्मचारीलाई साढे १९ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।
प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले घाइते कर्मचारीको उपचार र अन्य क्षतिपूर्तिबापत कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ दिने निर्णय गरेको हो।
प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार मेलम्ची वितरण केन्द्रअन्तर्गत मेलम्ची नगरपालिका–१० आम्बोटेमा १५ केभी प्रसारण लाइनको डिस्क पिन फेर्ने क्रममा २०८२ चैत ११ गते खोटाङका २५ वर्षीय सन्देश मगर (शेरबहादुर मगर) करेन्ट लागेर घाइते भएका थिए।
घाइते मगरको सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचार गरिएको थियो, जहाँ ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको थियो।
विद्युत् प्राधिकरणको क्षतिपूर्ति विनियमावलीअनुसार १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचार खर्चबापतको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल रकम स्वीकृत गरिएको हो। घाइते मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लगिसकेकाले बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत उपलब्ध गराइने सदस्य शाहीले जानकारी दिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment