कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

डिसी नेपाल
७ वैशाख २०७८ ६:१८

काठमाडौं। नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत फेरि महाधिवेशनको आन्तरिक कार्यतालिका हेरफेर गरेको हो ।

जसअनुसार क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ । यसअघि सो मिति गत चैत मसान्तसम्मका लागि निर्धारण गरिएको थियो भने त्यसअघि ११ चैतसम्म तोकिएको थियो ।

कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको र त्यसपछि स्वतः प्रणाली बन्द हुने जानकारी दिए ।

‘क्रियाशील सदस्यताको नामावली अनलाइन प्रणालीमा पठाउने अन्तिम म्याद १५ जेठ राति १२ बजेसम्मका लागि तोकिएको छ, सो समयभित्र विवरण नआए प्रणालीले नै पछि विवरण लिने छैन, त्यसपछि स्वतः प्रणाली बन्द हुनेछ,’ कांग्रेस सहमहामन्त्री महतले कार्यतालिका परिवर्तनबारे जानकारी दिँदै राजधानीसँग भने ।

विवरण अनलाइन प्रणालीमा पठाइसकेपछि पनि सोबारे औपचारिक जानकारी पार्टी केन्द्रलाई गराउनुपर्ने निर्णय बैठकले गरेको कांग्रेसले जनाएको छ ।

‘क्रियाशील सदस्यता नवीकरण र वितरणसम्बन्धी कार्य पार्टीको विधान, नियमावली केन्द्रको परिपत्रबमोजिम तत्काल सम्पन्न गरी वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्लासम्मका सबै कार्यसमितिका निर्णयको प्रतिलिपि, सदस्यता शुल्क र लेवी रकमलगायतका कागजातसहित जिल्लाको प्रतिवेदन १७ वैशाख ५ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा बुझाई सक्नुपर्नेछ ।’ बैठकपछि कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यसैगरी अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गरेका सदस्यको क्रियाशील सदस्यता समायोजन सम्बन्धमा ‘अन्य राजनीतिक दल समायोजन समितिको निर्णयअनुसार केन्द्रबाट जिल्लामा पठाउन बाँकी रहेका (अन्य पार्टीबाट आएका व्यक्ति, समायोजन वा वडामा न्यूनतम संख्या नपुगेका) क्रियाशील सदस्यताका फारम १५ वैशाखभित्र केन्द्रीय कार्यालयले जिल्लालाई उपलब्ध गराउने, त्यस्ता फारम सबै प्रक्रिया पूरा गरी जिल्ला कार्यसमितिले वैशाख मसान्तभित्र केन्द्रमा पु¥याइसक्नुपर्ने र त्यसको कम्प्युटर ‘इन्ट्री’ क्रियाशील सदस्यता छानबिन समितिले नै केन्द्रमा गर्नेगरी व्यवस्था गर्ने निर्णय बैठकले गरेको छ ।

संसद् स्थगनमा ‘नियत खराब’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित र हठात् अन्त्य गरेको विषयलाई ‘नियत खराब’ भनेको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले हठात् संसद् स्थगन गर्नु ‘नियत खराब’ भएको बताएका हुन् ।

‘प्रतिनिधिसभाको अधिवेशन अप्रत्यासित र हठात् अन्त्य गर्नुबाट सरकारको ‘नियत खराब’ देखियो,’ महतले राजधानीसँग भने । कांग्रेसले सरकारले हठात् संसद् स्थगन गर्नुलाई गम्भीरतापूर्वक लिएको छ ।

‘वैशाख ७ गते बैठक बस्ने निर्धारित कार्यक्रम र छलफल गर्नुपर्ने जनसरोकारका कयौं महŒवपूर्ण विषय विद्यमान भएको अवस्थामा त्यसलाई नजरअन्दाज गरेर संसद्बाट भाग्ने काम लोकतान्त्रिक मूल्य, मान्यता र संसदीय पद्धतिविरुद्ध रहेको ठहर बैठकले गरेको छ । यो बैठक सरकारको स्वेच्छाचारी प्रवृत्तिको घोर भत्र्सना गर्दछ ।’ कांग्रेसले बैठकपछि जारी विज्ञप्तिमा भनेको छ ।

कांग्रेसले कोरोनाबाट जनताको सुरक्षा गर्ने विशेष कार्ययोजना तत्काल निर्माण गर्नेबारे समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

बैठकले कोरोना महामारीको पछिल्लो चरणमा बढ्दो प्रतिकूलता दृष्टिगत गरेर जनताको जीवन रक्षाका लागि अविलम्ब विशेष कार्ययोजना निर्माण गर्न र त्यसलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न सरकारसँग माग गरेको हो ।

विश्व बजारमा उपलब्ध भइसकेको भ्याक्सिन पर्याप्त रूपले आयात गरेर ‘हरेक नागरिकलाई भ्याक्सिन, हरेक नागरिकको सुरक्षा’को व्यापक र द्रूत अभियान सञ्चालन गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । साथै कोरोनाबाट जोगिन सर्तकताका साथ सुरक्षाका रणनीति अनिवार्य रूपले पालना गर्न आमजनतालाई समेत अपील गर्ने निर्णय कांग्रेस बैठकले गरेको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *