विश्व फुटबलमा हल्लाहल्ला, ठूला क्लव र खेलाडीलाई प्रतिबन्ध लगाउने फिफाको चेतावनी

डिसी नेपाल
७ वैशाख २०७८ १२:२९

काठमाडौं। युरोपका सबैभन्दा ठूलामध्येका १२ वटा क्लवहरुले मिलेर युरोपियन सुपर लिग बनाएपछि अहिले विश्व फुटबलमा हल्लाखल्ला भएको छ । यी क्लवहरुले आइतबार युरोपियन सुपर लिगको घोषणा गरेका थिए । युरोप फुटबलको सबैभन्दा ठूलो लिग च्याक्पियन्स लिगलाई टक्कर दिने गरी नयाँ लिगको घोषणा गरिएपछि अहिले युरोपेली फुटबल बोर्ड (युइएफए), विश्व फुटबलको बोर्ड (फिफा) र यी ठूला क्लवहरुबीच युद्धको स्थिति छ ।

च्याक्पियन्स लिगलाई नै चुनौती दिने गरी ल्याइएको यो लिगमा पुरस्कार राशी पनि च्याक्पियन्स लिगको भन्दा कैयौं धेरै छ । लिग आगामी अगष्टबाट सुरु हुने बताइएको छ । यसमा आबद्ध हरेक संस्थापक क्लवले ३.५ बिलियन युरो पाउनेछन् । यो २०२० को भ्याक्पियन्स लिग विजेताले पाएको रकमभन्दा ४ गुणा बढी हो ।

उता युरोपियन फुटबल एसोसिएसन र फिफाले भने यो लिगलाई अस्वीकार गरेका छन् । दुवै संगठनले यो लिगमा सहभागी हुने क्लवहरुलाई घरेलु, युरोपेली वा विश्वस्तरीय कुनै पनि प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाउन सकिने र यी क्लवका खेलाडहिरुलाई आफ्नो देशको राष्ट्रिय टिमको प्रतिनिधित्व गर्न समेत बञ्चित गर्न सकिने चेतावनी दिएको छ ।

यी क्लवहरुले भने अहिलेको युरोपेली फुटबलको आर्थिक मोडल कोरोना महामारीका कारण डगमगाएको बताएका छन् । उनहिरुले अब युरोपेली फुटबलको ढाँचा बलियो हुने र यसको मूल्य बढाउन सकिने रणनीतिक र व्यवसायिक दृष्टिकोण आवश्यक भएको बताएका छन् । अहिले युरोपको प्रमुख फुटबल लिग च्याम्पियन्स लिग हो जो युइएफएको नियन्त्रणमा छ । लिगबाट हुने आम्दानीबाट ठूलो रकम यिनै ठूला क्लवहरुले पाउँछन् । नयाँ सुपर लिग आएपछि भने च्याम्पियन्स लिगका सबेभन्दा आकर्षक र सफल टिम उसको नियन्त्रणबाट बाहिर जानेछन् ।

अहिले सुपर लिगको संस्थापक १२ क्लव छन् । यी १२ मध्ये ६ क्लव प्रिमियर लिगका, ३ क्लव ला लिगाका र ३ क्लव सिरी ए का छन् । प्रिमियर लिगका आर्सनल, चेल्सी, लिभरपुल, म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हटस्पर्स, ला लिगाका बार्सिलोना, रियल मड्रिड र एथ्लेटिको मड्रिड तथा सिरी ए का युभेन्टस, एसी मिलान र इन्टर मिलान छन् । यीबाहेक अन्य ३ संस्थापक थपिने बताइएको छ ।

लिगमा कूल २० टिम खेल्नेछन् तीमध्ये १५ संस्थापक टिम हरेक सिजनमा हुनेछन् । अर्थात संस्थापक टिम अघिल्लो सिजनको कमजोर प्रदर्शनबाट रेलिगेसनमा पर्ने छैनन् । १५ संस्थापक टिम हरेक सिजन खेल्नको लागि क्वालिफाइ हुनेछन् । अन्य ५ टिम भने छनोट चरण पार गरेर प्रतियोगितामा आउनेछन् ।

अहिलेसम्म फ्रान्स र जर्मनीका कुनै पनि क्लव यो लिगमा संस्थापक बन्न मानेका छैनन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि यसलाई फुटबलको लागि निकै हानिकारक भन्दै आफूले यी क्लवहरुको कामको समर्थन नगर्ने बताए । यी क्लवमा रहेका खेलाडीहरु विश्वका चर्चित र स्टार खेलाडीहरु हुन् । लियोनेल मेस्सी, क्रिस्टियानो रोनाल्डो जस्ता खेलाडी यो लिगमा छन् । यदि फिफाले उनीहरुमाथि कारवाही गरेका विश्व फुटबलमा ठूलो अस्तव्यस्तता आउने निश्चित छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *