एनआरएनए अमेरिकाको उम्मेद्वारी दर्ता पूरा नहुँदै सर्भर डाउन, षड्यन्त्रको आशंका

डिसी नेपाल
८ वैशाख २०७८ ९:४५

वासिंगटनडिसी। गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको उम्मेद्वारी दर्ता गर्ने म्याद ३ घण्टा अगावै सर्भर डाउन भएको छ। उम्मेद्वारी दर्ताको लागि अन्तिम समय कुरिरहेका धेरै अभियन्ताहरु सर्भर डाउनका कारण अप्ठेरोमा परेका छन्।

उम्मेद्वारी दर्ताको समयावधि हुँदा हुँदै यसरी सर्भरले काम नगर्नुलाई धेरैले षड्यन्त्र भन्दै सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन्। अप्रिल २० साँझ ९ बजेदेखि एनआरएनएको निर्वाचनसम्बन्धी कम्प्युटर प्रणालीले काम गरेको छैन।

उम्मेद्वारी दिनेहरुले पटक पटकको प्रयासमा पनि उम्मेद्वारी दर्ता गर्न नसकेपछि सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्न थालेका छन्। उम्मेद्वारी दर्ताको फर्म भरेर बुझाउने बेलामा ‘सरी यु क्यान नट एप्लाई नाऊ, टाइमफ्रेम ह्याज अलरेडी एक्सिडेड’ भन्ने सूचना देखाएर उम्मेद्वारी दर्ता प्रक्रिया रोकिदिएको छ।

अमेरिकाको एनआरएनए चुनावका लागि गठित निर्वाचन आयोगका प्रमुख आयुक्त विश्व बराल अधिल्लो चुनावदेखि नै विवादमा परेका व्यक्ति हुन्। निर्वाचन आयोगले उचित व्यबस्थापन गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा उनको पनि चर्को आलोचना भएको छ।

उनीविरुद्ध एकपक्षीय काम गरेको आरोपसहित अमेरिकी अदालतमा मुद्धासमेत विचाराधीन रहेको छ। विवादित हुँदाहुँदै पक्षधरताका कारण उनलाई नै यसपटकको निर्वाचनको पनि जिम्मेवारी दिइएका कारण चुनावको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ।

उनीमाथि प्रश्न उठेकै बेला निर्वाचन प्रक्रियाको महत्वपूर्ण चरणमा पर्ने मनोनयन पत्र दाखिलाको अन्तिम समयमा सर्भर डाउन हुनुले उनको नियतमाथि पनि प्रश्न उठाउनेहरुलाई प्रशस्त मौका मिलेको छ। अघिल्लोपल्ट सदस्यता लिने बेलामा नै अन्तिम दुई दिन सर्भर डाउन गराइएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *