कर्णालीमा इन्टरनेट सेवा अवरुद्ध – Dcnepal

कर्णालीमा इन्टरनेट सेवा अवरुद्ध

मुगु । हप्ता दिनदेखि कर्णालीका पाँच जिल्लामा इन्टरनेट सेवा अवरुद्ध भएको छ । यही वैशाख २ गते दैलेख र कालीकोट सिमाना महावुलेकमा रहेको नेपाल टेलीकमको रेडियो लिङ्कमा चट््याङले हानेपछि इन्टरनेट अवरुद्ध भएको हो ।

कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा इन्टरनेट सेवा नहुँदा सेवा लिने र दिने कार्यमा समस्या भएको छ । रेडियो लिङ्कमार्फत नेपाल टेलिकमले दिँदै आएको फोरजी सेवा र एडिएसएल सेवा अवरुद्ध भएपछि मुख्य गरी बैंक तथा वित्तीय सस्थाको सेवा प्रवाहमा समस्या परेको हो ।

मुगुका पाँच वाणिज्य बैंक र दर्जन बढी अन्य सहकारीले आफ्नो वित्तीय सेवा एडिएसएलमार्फत दिँदै आएका थिए । यो सेवा अवरुद्ध भएपछि अहिले ती सस्थालाई नगद भुक्तानी, जम्मा, ऋण लगानी, किस्ता जम्मालगायत कार्यमा समस्या भएको वाणिज्य बैंक मुगुका प्रवन्धक हरिन्द्र बोहोरा बताउँछन् ।

राष्टिय वाणिज्य बैंक मुगु शाखाले नेपाल टेलिकमको एडिएसएलसहित मर्कनटाइलको कम्पनीको सेटेलाइट इन्टरनेट सेवा पनि राखेकोले बैंकमा आउने सेवाग्राहीले ढिलो भएपनि सेवा पाइरहेका छन् तर एनटिसी कै भरमा चलेका अन्य बैक तथा वित्तीय सस्थाले भने हप्ता दिनयताबाट आफ्ना सेवा दिन सकिरहेका छैनन् ।

टेलिकम मुगुका प्रमुख विशालकुमार देवकोटाले महावुमा बिग्रेको उपकरण मर्मत गर्न प्राविधिक टोली बुधबार बिहान हिडिसकेको बताए । उनले मौसममा आएको परिवर्तनका कारण टोलीलाई महावुलेक चढन समस्या आएकाले सेवा अवरुद्ध लम्बिएपनि बिहिबारसम्म अवरुद्ध इन्टरनेट सेवा सञ्चालनमा आउनेछ भने । गत चैत महिनाको १० गतेबाट पनि एक हप्तासम्म सो क्षेत्रमा इन्टरनेट सेवा अवरुद्ध भएको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो