एनआरएनएद्वारा लाप्राकवासीलाई घरको साँचो र लालपूर्जा वितरण

रिता बस्नेत
९ वैशाख २०७८ १६:२०

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘लाप्राक नमूना वस्ती’को निर्माण कार्य पुरा गरी पाँच सय ७३ वटा घरहरुको साँचो र लालपूर्जा सेवाग्राहीलाई हस्तान्तरण गरेको छ। एनआरएनएद्वारा निर्मित चार कोठाको दुई तले घर बिहीबार पाँच सय ७३ जनाले पाएका हुन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिईओ) सुशील ज्ञवाली, सांसद हरिराज अधिकारीको उपस्थितिमा बिहीबार एनआरएनएका अध्यक्ष कुमार पन्तले धार्चे गाउँपालिका अध्यक्ष सन्तोष गुरूङलाई बस्ती हस्तान्तरण गरेका हुन्।

भूई तलामा दुई र माथि तलामा दुई गरी चार वटा कोठाको प्रत्येक दुईतले घरको भुईँ तलासँगै छुट्टै शौचालय रहेको छ। प्रत्येक घर तीन आना एक पैसामा बनेको हो। सबै एकै प्रकारका घरहरु रहेका छन्। ५७ करोड ६६ लाख रुपैयाँभन्दा बढी लागतमा पाँच सय ७३ वटा घरहरु १८ दशमलव ३२ हेक्टर जग्गामा बनेका हुन्। उक्त जग्गा भने नेपाल सरकारले उपलब्ध गराएको हो।

एनआरएनए, नेपालका कार्यकारी निर्देशक राजेश राणाका अनुसार दाताहरुको नाम राखेर वस्ती नजिक शिलापत्रसमेत राखिएको छ। प्रायजसो सेवाग्राही साँचो र लालपूर्जा पाएसँगै उक्त घरमा बस्न सुरु गरेका थिए।

करिब साढे पाँच वर्षमा पूरा भएका सबै घरमा मोटर छिर्ने बाटो रहेको छ। एनआरएनएको लागतमा बनेका ति घरहरु बनाउन नेपाली सेनाको श्रमदान र गाउँलेहरुको गिट्टी, ढुंगा, काठहरुले सहयोग रहेको राणाले बताए। उनले भने, ‘उहाँहरु(घर पाउने व्यक्ति) सबैजना आज निकै खुशी देखिनु हुन्थ्यो।’

त्यसैगरी, प्रत्येक घर (पाँच सय ७३ वटै घर)लाई सरकारले चार लाखका दरले पूर्वाधार निर्माणको लागी दिने घोषणा गरेको छ। वस्तीसम्म पुग्ने बाटो आदि लगायतका बाँकी निर्माणको लागी सरकार दिने करिब २३ करोड लागतको पूर्वाधार निर्माणको जिम्मा भने एनआरएनएले नै लिएको छ।

२०७२ बैशाख १२ गते गएको भूकम्पमा परी गोरखाको लाप्राकमा कूल पाँच सय ७३ घर भत्किएका थिए। भत्किएका घर निर्माणको जिम्मा एनआरएनएले लिएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *