एमाले विवादः झन टाढिए ओली–नेपाल

डिसी नेपाल
१० वैशाख २०७८ २०:५६

काठमाडौं। सत्तारुढ दल नेकपामा विवाद चर्किरहेका बेला बुधबार अकस्मात अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटल मेरियटमा वार्ता भएको खबर बाहिरएपछि एमाले कार्यकर्ताहरु उत्साहित बने। जिल्लादेखि केन्द्रीय नेताहरुलेसमेत सामाजिक सञ्जालमा दुबै नेताहरुलाई मिलेर पार्टीलाई एक ढिक्का बनाउन सुझाव दिए।

बुधबार मेरियटबाट बाहिरिँदै गर्दा ओली पनि प्रतिक्रिया दिएनन्, नेपालले पनि दिएनन्। तर फेरि बैठक गर्नेगरी बुधबारको बैठक सकिएको सूचना बालुवाटारबाट दिइयो। यसले एमालेमा चर्किँदै गरेको विवाद समाधान हुने आशामा रहेका एमाले कार्यकर्ताहरुमा बिहीबार भएको ओली–नेपाल दोस्रो वार्ता तथा शुक्रबार बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिको बैठकका निर्णयले झस्काइदिएको छ।

माधव समूहका नेताहरुलाई पार्टीको स्थायी कमिटीबाट हटाइएको छ भने नेताहरुको जिम्मेवारी बाँडफाँडमा माधव समूहका नेताहरुलाई जिम्मेवारीबिहीन बनाइएको छ।

बालुवाटारमा शुक्रबार भएको यो बैठकले एमालेको विवाद समाधान भन्दा पनि अब पार्टी विभाजनकै दिशामा थप अगाडि बढेको आभास भएको छ। बिहीबार भएको वार्तामा अध्यक्ष ओलीले नेता नेपालसँग उनीहरुको माग नमान्ने बताइसेका थिए। र नेता नेपाल शुक्रबार यसप्रकारको निर्णय हुनेमा विश्वस्थ देखिएका थिए। उनले बिहीबार आफू निकटहरुसँग ओलीले आफ्ना माग पूरा नगर्ने बताएको ब्रिफिङ गरेका थिए। र शुक्रबार भयो पनि त्यस्तै।

फागुन २३ मा सर्वोच्च अदालतले एमालेलाई पुनर्जीवित गरिदिएपछि प्रचण्डसँगको सम्बन्ध तोडेर माधव समूहले एमालेमै सक्रिय हुने निर्णय लिएको थियो। फागुन २८ अघिसम्म माधव समूहका नेताहरुले संयमित भएर अभिव्यक्ति दिइरहेका थिए। फागुन २६ मा प्रतिनिधिसभाको बैठकबाट बाहिरिनेक्रममा नेता नेपालले आफूहरुलाई बैठकमा बोलाइए बैठकमा सहभागी हुने भन्दै आफूसँगै अध्यक्ष ओलीको कुनै सम्पर्क नभएको बताएका थिए।

अर्का नेता झलनाथ खनालले ओली नेतृत्वको सरकार आफ्नै पार्टीको भएको भन्दै सरकारको बचाउमा लाग्ने अभिव्यक्ति दिएका थिए। तर फागुन २८ मा बालुवाटारमा भएको ‘विशेष केन्द्रीय कमिटी’ बैठकले लिएका निर्णयले नेता नेपालहरुलाई एमालेमा सक्रिय हुन बाटो छेकिदिएको माधव समूहका नेताहरु बताउने गर्छन्। र माधव समूहले फागुन २८ को निर्णय सच्याइए पार्टी एकजुट हुने बताउँदै आएको छ।

तर, ओलीले भने संकटमा साथ दिने नेताहरुलाई नत्याग्ने भन्दै फागुन २८ को निर्णयबाट पछाडि नपर्खकिने अडान लिएका छन्। र शुक्रबार सोहीअनुसारको निर्णय गराएर एमालेलाई जिल्लादेखि केन्द्रसम्म आफ्नो पकडमा लिएका छन्।

शुक्रबारको निर्णयपछि वरिष्ठ नेता झलनाथ खनाल, घनश्याम भुसाललागयतले तिखो प्रतिक्रिया दिइसकेका छन्। शुक्रबारको बैठकलाई अवैध भन्दै अवैध बैठकले गरेका निर्णय पनि अवैध हुने नेताहरुले बताएका छन्।

बुधबार र बिहीबार ओली र नेपालबीच भएको वार्ताले एमालेको विवाद सल्ट्याउन भन्दा पनि विषयलाई झन टाढा पुर्याइदिएको विश्लेषण हुन थालेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *