साङ्केतिकरूपमा ४१५ औँ हप्ताको वाग्मती सफाइ

डिसी नेपाल
११ वैशाख २०७८ १८:४९

काठमाडौं। नयाँ भेरियन्टसहितको कोरोना जोखिम बढ्न थालेपछि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूरा गरेर वाग्मती सफाइ महाअभियानको ४१५औँ हप्ताको सफाइ गरिएको छ ।

वाग्मती र रुद्रमती दोभान रुद्रेश्वर महादेव मन्दिर क्षेत्रमा अभियानकर्मीसहित २५ जना मात्र उपस्थित भएर साङ्केतिकरूपमा सफाइ गरिएको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए। सफाइमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई स्वास्थ्य सुरक्षाका कारण नबोलाइएको पनि उनले बताए।

काठमाडौँ महानगरपालिका वडा नं ११ को विशेष सक्रियतामा भएको सफाइबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा जनप्रतिनिधिलगायत अभियानकर्मीको सक्रियता थियो । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीबाट बच्न विसं २०७६ चैत ११ गतेदेखि जारी बन्दाबन्दीका समयमा पनि रोकिएन । यसैले आज पनि ४१५औँ हप्ताको सफाइ २५ अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी मास्क, पञ्जालगायत साधन प्रयोग गरी समपन्न भएको छ ।

यसैगरी उपत्यकाका गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, वाग्मतीको तिलगङ्गा र सुन्दरीघाट खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डमा पनि स्वास्थ्य मापदण्ड पूरा गरेर सम्पन्न गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइसँगै स्थानीयवासीलाई कोरोनाबाट बच्न फोहरको सही व्यवस्थापन गरौँ, भौतिक दूरी कायम गरौँ भन्ने नारासहित सामाजिक जागरणसमेत फैलाइएको छ । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *