जुरुक्क उठेको धरहरा उद्घाटन मात्रै होइन, चढ्ने समय चाँडै आओस्

उपेन्द्र शाही
१२ वैशाख २०७८ ९:३७

काठमाडौं। बैशाख १२ अर्थात् आजकै दिन ६ वर्ष पहिले विनाशकारी भूकम्पले हामीबाट हाम्रा प्रियहरु खोसेर लग्यो। आज पनि हामी बैशाख १२ भन्ने बित्तिकै झस्किन्छौँ। त्यो दिन सम्झिने बित्तिकै मानसपटलमा एकै पटक झल्किन्छ।

सहयोगका लागि चिच्चाइरहेका मानिसहरु, सडकमा भौतारिरहेका मानिसहरु, भूकम्पले ढलेका घर, मठ मन्दिर, धनी, गरिब सबैलाई खुला आकाशमा पुर्याएको त्यो अवस्था। सँगै खेलिरहेका, हिँडिरहेको, खाइरहेका, सुतिरहेका र रमाइरहेका हाम्रा प्रिय सम्बन्धहरु एक निमेषमा तोडिएको त्यो अवस्था।

छ वर्ष अघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गर्ल्याम गुर्लुम ढल्यो। शनिबारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए।

कति त माथि नै थिए। तीमध्ये ६० जनाले जीवन गुमाए। सयौँ मानिस घाइते भए। उपत्यकाको एक महत्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनःनिर्माण गर्न छ वर्ष लाग्यो।

छ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ। यो सकारात्मक कुरा हो कि ६ वर्षकै अन्तरालमा भए पनि भए पनि धरहरा जुरुक्क उठेको छ। तर, गर्न बाँकी धेरै काम हुँदा हुँदै शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरे।

हुन त उद्घाटन तब हुनुपर्ने हो जब त्यसको सबै काम पूरा भएर सकिएको अवस्था हुन्छ। पुर्ननिमार्ण भएको रानीपोखरी पनि ६ महिना अघि उद्घाटन त भयो त्यो सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन। आशा गरौँ धरहरा चढ्न अब धेरै समय कुर्नु नपारोस्।

धराहरा बनेपनि अरु संरचना निर्माण भइरहेकाले सार्वसाधारणलाई खुला नहुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ। धरहरा चढेर काठमाडौं उपत्यकाको दृश्यावलोकनको लागि भने केही समय अझै कुर्नुपर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिक राजुमान मानन्धरले बताए। ‘आइतबार उद्घाटन भए पनि सर्वसाधरणको लागि खुला हुने छैन।’

बहुप्रतिक्षीत नेपालीहरुको धरोहर धरहरा नयाँ स्वरुपमा निर्माण भएको छ। हेर्न मात्र नभई स्पर्श गर्न पाइने नयाँ स्वरुपको धरहराको हाल सुनधारालाई जीवन्त पार्ने, अन्डरग्राउण्ड पार्किङ, संङ्ग्रहालय, खानेपानीको पाइप, वाइरिङ, लगायत फिनिसिङको काम भइरहेको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको २२ तले धरहराको उचाई ८२ मिटर छ।

उनले भने ‘भूकम्प पछि ढलेको संरचना उठेको छ। तर, राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले पुर्ननिमार्ण गर्दा पहिले नभएको र थप गरी बनाइन लागेका गाडि पार्किङ, सङ्ग्रहालय लगाएतका संरचनाको काम करिव ४५ प्रतिशत बाँकी छ। त्यसको लागि निर्माण व्यवसायीलाई डिसेम्बर २५ सम्मको लागि समय दिइएको छ। त्यहाँ सम्म त उनीहरुले काम नै गर्ने छन्।’

बहुप्रतिक्षित धरहरा चढ्नको लागि भने अझै ६ महिना पछि मात्रै सम्भव हुने छ। यसअघि पनि रानीपोखरीको निमार्ण भए पनि काम अधुरो भएकै कारण सर्वसाधारणका लागि हालसम्म सञ्चालनमा आउन सकेको छैन।

विसं २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनःनिर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो। सोहीअनुसार विसं. २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनःनिर्माण शुरु गरेको थियो।

२०७७ असोज २० मा काम सक्नेगरी सम्झौता भए पनि विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव लगायतका कारणले निर्माण तोकिएको समय भन्दा ढिलो सम्पन्न हुँदैछ।

बहुप्रतिक्षीत नेपालीहरुको धरोहर धरहरा नयाँ स्वरुपमा निर्माण भएको छ। हेर्न मात्र नभई स्पर्श गर्न पाइने नयाँ स्वरुपको धरहराको हाल सुनधारालाई जीवन्त पार्ने, अन्डरग्राउण्ड पार्किङ, संङ्ग्रहालय, खानेपानीको पाइप, वाइरिङ, लगायत फिनिसिङको काम भइरहेको छ। ४२ रोपनी क्षेत्रफलमा फैलिएको २२ तले धरहराको उचाई ८२ मिटर छ।

धरहरा निर्माणको लागि प्राधिकरण र निर्माण कम्पनीबीच ३ अर्ब ४८ करोडमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो। हालसम्म २ अर्ब १० करोड खर्च भइसकेको अवस्था प्राधिकरणले जानकारी दिएको छ।

नयाँ स्वरुप धरहराको

धरहराको स्वरुप भिमसेन थापाकोे भिमसेन स्तम्भ जस्तै छ। झट्ट हेर्दा वास्तुकलामा उस्तै देखिए पनि यसको प्रविधि, साइज र सेवा सुविधामा व्यापक परिवर्तन भएको छ भने बाँकी कुराहरु उही छन्।

प्राधिकरणका प्राविधिक मानन्धरका अनुसार पहिलेको धरहरा खाली माथि चढ्नको लागि थियो। यस्तै सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला गराउन पहिले धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो। त्यो नै मुख्य प्रायोजन थियो। तर, अहिलेको धरहरा प्रमुख पर्यटकीय गन्तव्य स्थलको हिसावमा बन्दैछ।

पहिलोको धरहरा ८० मिटर अग्लो थियो। नयाँ स्वरुपको धरहराको गजुरको उचाई बढेकोले ८२ मिटर अग्लो छ। धरहरा कुल २५ तलाको छ। यसको २ तला जमिन मूनि, एक तला ग्राउन्ड फ्लोर र २२ तला चढ्न मिल्ने छ। यसरी कुल २५ तलाको धरहरा बनेको छ। तर, बाहिरबाट हेर्दा भने धरहरा ११ तलाको देखिने छ।

धरहराको कुन तला के को प्रायोजनका लागि प्रयोग गर्ने भन्ने कुरा अझै पनि निर्कोयोल भइनसकेको छैन। धरहराको मुख्य आर्कषणको केन्द्र भनेको नै धरहरा चढ्ने हो। त्यो पनि त्यहाँबाट काठमाडौंको दृश्यअवलोकन गर्ने। जुन धरहराको २० औँ तलामा रहेको बालकुनीबाट सम्भव हुनेछ। २० औं तला पहिले भन्दा ठूलो बनाइएको छ।

यसको चौडाई झण्डै साढे २ मिटर छ। यसमा कुनै दुर्घटना नहोस भनेर २ मिटरको बलियो ग्लास राखिएको छ। जसमा एक पटकमा करिव सय जनाले एक लाइन बसेर काठमाडौं उपत्यका नियाल्न सक्ने छन्।

विकसित प्रविधिसँगै धरहराको माथि गएपछि काठमाडौं उपत्यकाको धेरै टाढा टाढासम्म हेर्न मिल्ने गरी बाइनो कुलरहरु राखिने छ। मानान्धरका अनुसार २० औँ तलामा राखियका बाइनो कुलरबाट काठमाडौं उपत्यकाको दृष्यअवलोकनका साथै अन्य देशहरु कति दूरीमा छन् भन्ने कुरा थाहा पाइने छ।

मानान्धरले भने, “काठमाडौं ओभल सेपमा छ। त्यो कुरा हामीले अहिले पढ्ने मात्रै हो। त्यहाँबाट ओभल सेप पनि मज्जाले नियाल्न मिल्ने छ। यस्तै विकासको गति कतातिर गइरहेको छ लगायतका कुराहरु पनि त्यहाँबाट नियाल्न मिल्ने छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *