एनआरएनए अमेरिकालाई आफैंले संशोधन गरेको विधान घाँडो

डिसी नेपाल
१२ वैशाख २०७८ ९:५८

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ(एनआरएनए) अमेरिकाको निर्वाचनमा आफैंले केही महिनाअघि संशोधन गरेको विधान अहिले आफैंलाई घांडो भएको छ। यही कारण अध्यक्ष पदमा उम्मेद्वारी दिएका सूर्य लम्साललाई उम्मेद्वार हुन दिने कि नदिने भन्नेबारे चर्को बहश भएको छ। अघिल्लोपल्ट अध्यक्ष पदमा चुनाव लडेका लम्सालले मतदान प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै अमेरिकाको टेनेसी अदालतमा मुद्दा दायर गरेका थिए।

संस्थालाई मुद्दा दायर गर्नेलाई एनआरएनए अमेरिकाको अध्यक्ष बन्न दिनु नहुने भन्दै लम्साललाई लक्षित गरी भविष्यसम्म एनआरएनए अमेरिकाको नेतृत्व गर्नबाट रोक्ने निर्णय सन् २०२० मा भएको साधारणसभाबाट विधान नै संशोधन गरी गरिएको थियो। यो विधान हाल कार्यान्वयनमा छ।(हेर्नुहोस् विधानको प्रतिलिपि)

यो विधानअनुसार लम्सालले अध्यक्ष पदमा उम्मेद्वार हुन पाउँदैनन्। उनले मनोनयन दाखिला गरे पनि निर्वाचन आयोगले यो विधानअनुसार उनको मनोनयन खारेज गर्नुपर्ने हुन्छ। तर, एउटा संस्थाको विधानले अमेरिकाको संविधानलाई अपहेलना गर्न सक्दैन।

अमेरिकाको कानुनले व्यक्तिगत स्वतन्त्रता र व्यक्तिको चुन्न र चुनिन पाउने हकलाई ग्यारेण्टी गरेको छ। उनलाई उम्मेद्वार हुनबाट रोक्नु अमेरिकी कानुनको विपरीत हुन जान्छ। यस्तो अवस्थामा आफैंले संशोधन गरेको विधान एनआरएनए अमेरिकाको संस्थापन पक्ष र निर्वाचन आयोगको नेतृत्वका लागि घाँडो भएको हो।

स्रोतका अनुसार, प्रमुख निर्वाचन आयुक्त विश्व बरालले शुरुमा सूर्य लम्साललाई उम्मेदवार हुन दिनु नहुने अडान राखेका थिए। उनले लम्साललाई उम्मेद्वार हुन दिने हो भने आफू निर्वाचन गराउन नसक्ने भन्दै पन्छिन खोजेका थिए तर पछि उनलाई पनि कन्भिन्स गर्ने प्रयास गरिएको छ।

जसअनुसार संस्थाको विधानविपरीत नै भए पनि लम्साललाई उम्मेद्वार हुन दिनुपर्ने नत्र अमेरिकी कानुनले अप्ठ्यारो पार्ने तर्क गर्न थालिएको छ। प्रमुख निर्वाचन आयुक्त बराल अधिल्लो निर्वाचनमा धाँधली भएको आरोपमा उनी लम्सालबाट दायर भएको मुद्दा टेनेसी कोर्टमा खेपिरहेका छन्।

अमेरिकी कानुनबाट जोगिन लम्सालले व्यक्ति विशेषलाई मुद्दा दायर गरेको परिभाषा गरेर जाऊँ, उनले संस्थालाई मुद्दा हालेको होइन भनेर तर्क गरौं भन्ने आधारमा लम्साललाई उम्मेद्वार बन्ने बाटो खोलिदिने प्रयास भएको छ। तर, डिसी नेपाललाई प्राप्त कागजातअनुसार, लम्सालले एनआरएनए, अमेरिकालाई पनि सोही मुद्दामा विपक्षी बनाएका छन्।

उनले हालेको मुद्धाको कागजातमा एनआरएनए अमेरिकासहित ४ जनालाई विपक्षी बनाइएको छ। अरु विपक्षीहरुमा तत्कालीन अध्यक्ष केशब पौडेल, हालका अध्यक्ष सुनील साह र तत्कालीन र हालका पनि प्रमुख निर्वाचन आयुक्त विश्व बराल छन्।

लम्सालले चुनाव उठ्न पाए आफैंले संशोधन गरेको विधानको धज्जी उड्ने उनले चुनाव उठ्न नपाए अमेरिकी कानुनविपरीत हुने देखिएपछि आफ्नै विधानको धज्जी उडाउनेतर्फ नेतृत्व पुग्ने त होइन भन्ने शंका उब्जेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *