रानी पोखरीले पुनर्जीवन पाएपछि काठमाडौंको सुन्दरतामा निखार – Dcnepal

रानी पोखरीले पुनर्जीवन पाएपछि काठमाडौंको सुन्दरतामा निखार

काठमाडौं। नेपालमा भूकम्प गएको ठिक ६ वर्ष पुगेको छ। २०७२ सालको बैशाख १२ गते गोरखाको बारपाक क्षेत्रलाई केन्द्रमा राखेर नेपालमा विनासकारी भूकम्प गएको थियो। त्यही भूकम्पका कारण भत्तिएको थियो रानीपोखरी। उजाडिएको थियो बालगोपालेश्वरको बासस्थान। थिएन बालगोपालेश्वरको शिरको गजुर।

काठमाडौंको मुटु मानिएको रानीपोखरी भत्किएपछि सधैँ अभावको महशुस गरिरह्यो काठमाडौंले। एक्लो पनको महशुस गरिरह्यो घण्टाघरले। आफ्नो प्रतिबिम्बलाई रानीपोखरीको पानीमा हेर्न बानी परेको घण्टाघर टुहुरो भयो। संगैको दरवारहाइस्कुल पनि घाइते अवस्थामा नै थियो।

काठमाडौंको ओठको लालि पुछिएपछि २०७२ सालकै माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको लागि शिलान्यास गरिन्। रानीपोखरीलाई चाडैँ नै पुनर्जीवित गछौं भन्ने सरकारको प्रतिबद्धतामा पानी छ्यापियो। सरकार परिवर्तनका कारण हुने किचलोले करिव ३/४ वर्ष गेयर बदल्न सकेन खाली स्टार्ट अवस्थामा रह्यो।

२०७६ सालको असोजमा पुनः सम्झौता भयो। रानीपोखरीलाई आधुनिक शैलीमा निर्माण गर्न लागेको भन्दै सर्वत्र विरोध भएपछि पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणको जिम्मेवारी पायो। रानीपोखरीको सहत निर्माणको लागि उपभोक्ता समिति र त्यो भन्दा बाहिरको भाग निर्माणको लागि कम्पनीलाई जिम्मेवारी दियो।

२०७६ सालको असोजबाट काम सुरु गरे पनि चैतबाट कोरोनाका कारण देशमा लकडाउन भयो। एक महिनासम्म लकडाउनका कारण कुनै काम भएन पुनःनिर्माणको जिम्मेवारी पाएको कम्पिनीका सुपरभाइजर दोर्जे शेर्पाले भने, ‘लकडाउनमा पनि धमाधम काम भयो। हामीले कामदारहरुको भौतिक दुरी कायम गर्न लगाएर, स्वास्थ्यका सबै मापदण्डहरु अपनाएर काम गरेका थियौं।’

झण्डै ६३ रोपनी क्षेत्रफलमा फैलिएको रानीपोखरी निर्माणको लागि अनुमानित ९० लाख जति इट्टाको प्रयोग भएको सुपरभाइजर शेर्पा बताउँछन्। शेर्पाका अनुसार मन्दिर निर्माणमा २० प्रकारका इट्टाहरु प्रयोग भएका छन्।

‘यो एउटै इट्टाको १५ सय जति पर्छ,’ शेर्पाले इट्टादेखाउँदै भने, ‘यो हेर्दा सानो छ। यो इट्टा नपाएर बनाउँन पठाइयो। बनाउँन २८ दिन लाग्यो, त्यो २८ दिनसम्म हाम्रो काम रोकिएको थियो। २० थरीको इट्टा प्रयोग भएको छ।’

राजा प्रताप मल्ले आफ्नो माइला छोराको मृत्यु वियोगमा तड्पिएकी रानीलाई सान्त्वना दिनको लागि रानीपोखरीको निर्माण गर्न लगाएका थिए। काठमाडौं महानगरपालिका वडा नं. २७ का वडासदस्य नरेन्द्रमान महर्जनले भने, ‘किम्बदन्ती अनुसार राजा किचकन्या संग सम्बन्ध राख्थे पछि छुटाउनका लागि दक्षिणतर्फ राखिएको हात्तीको पाइलामा तान्त्रिक विधिबाट कुल्चाइएर राखिएको छ भन्ने पनि छ।’

१ सय ८० मिटर लम्बाई र १ सय ४० मिटर चौडाइ रहेको रानीपोखरीको बीचभागमा बाल गोपालेश्वरको मन्दिर छ। दाजु्भाइ र दिदीबहिनी नभएकाले बाल गोपालेश्वरमा भाइटीका लगाउने परम्परा रहेको वडासदस्य महर्जन बताउँछन्।

हरेक वर्षको भाइटिकाको दिनमा खुल्ने वाल गोपालेश्वरको परम्परा रहे पनि केही वर्ष भने खुलेन। तर, गतवर्षदेखि बालगोपालेश्वरको मन्दिर खुलेको थियो। गत वर्षको वैशाख १२ गते भूकम्प दिवसको अवसरपारेर उद्घाटन गर्ने गरी काम भए पनि महामारीका कारण ढिला भएको कम्पनी सुपरभाईजर शेर्पाको भनाइ छ।

कंक्रिट प्रयोग नगर्न पुरातत्वविदहरुको आग्रहपछि अहिले पुरानै शैलीमा पोखरीको निर्माण भएको छ। सुर्की (इट्टाकै धुलो), चुना, वालुवा र कालोमाटो मिलाएर बनाएको गारोबाट रानीपोखरीका इट्टाहरु जोडिएका छन्। नेवारी भाषामा बज्र भनिन्छ। उक्त गारोले रानीपोखरीलाई पुरानै शैलीमा फर्काउन मद्दत गर्नेछ।

पोखरीको सतहमा कालोमाटोको प्रयोग गरिएको छ। पानी कम सोस्ने भएकाले यो माटो प्रयोग भएको हो। यसले सिमेन्ट जस्तो जमीनलाई पानी नै नदिने भन्ने पनि हुँदैन।

ई.स. १६६५ मा निर्माण भएको रानीपोखरीमा करिव ३ करोड ५० लाख लिटर बढी पानी अटेको छ। पानीको स्रोतका लागि पोखरी बाहिरको दुई कुनामा बोरिङ खनिने छ भने, आकाशे पानीलाई पनि प्रयोगमा ल्याइने छ। त्यस्तै मेलेम्चीको पानी पनि राख्ने गरिएको छ।

पानीमा लाग्ने लेउलाई खान माछा ल्याएर हालिएको छ। क्याटफिस बाहेकका माछाका जाति रानीपोखरीमा देखिन्छन्। क्याटफिसले आफूमात्र राज गर्ने र अरु माछालाई आहारा बनाउने भएकाले त्यस्ता माछा नल्याउन विज्ञहरुले सुझाव दिएका थिए।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो