पृतना खारेज गरेर कमाण्ड संरचना बनाउँदै सेना

डिसी नेपाल
१२ वैशाख २०७८ २१:४२

काठमाडौं। नेपाली सेनाले ८ पृतनालाई खारेज गरेर भौलिक कमाण्ड संरचनामा लैजाने तयारी गरेको छ। संघीय संरचना अनुसारको पृतना संरचनाले सेनामा समस्या ल्याएको भन्दै त्यसलाई खारेज गरेर चार वटा भौगोलिक संगठन संरचना बनाउन लागेको हो।

सेनामा हाल ८ वटा पृतना रहेका छन्। मुलुक संघीय संरचनामा गएपछि सेनाले पनि आफूलाई सात प्रदेशमा सात वटा पृतना र उपत्याकामा एउटा गरी ८ वटा पृतना बनाएको थियो।

सेनामा संघीय संरचनाअनुसार पृतना बनाउँदा सैनिकका लागि उपयुक्त नभएकाले चार वटा कायम गर्न लागिएको हो। नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले सेनाको पृतना संरचनामा हेरफेर हुन लागेको बताए। त्यसका लागि सरकारले सेनाको सो प्रस्तावलाई स्विकृति दिइसकेको पनि उनले बताए। सैनिक मुख्यालयमा निर्माण भएका चार वटा कमाण्ड बनेसँगै अब सेनाका सबै संरचना स्रोतसाधनले सम्पन्न हुने बताइएको। करिव १५ वर्षअघि सेनामा चार वटा मात्रै संरचना बनाउनुपर्ने प्रस्ताव गरिएको भ एपनि अहिले वर्तमान सरकारले सो विषयमा स्वीकृति दिएको हो।

सेनाले अहिले पूर्वी, मध्य, पश्चिम कमाण्ड र उपत्यकासहित चार वटा कमाण्ड संरचना राख्ने तयारी गरेको छ। नेपालमा गणतन्त्र आउनुअघि चार वटा पृतना थिए भने पछि अरु चार वटा थप भएका थिए। यसो गर्दा राज्यलाई भार नपर्ने सेनाले जनाएको छ। आन्तरिक रुपमै समायोजन गरेर कमाण्ड संरचना बनाउने सेनाले जनाएको छ।

प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकालको शुरुआतदेखि नै चार जोर एक कमाण्ड संरचना बनाउने प्रयास गरेका थिए। प्रधानसेनापति थापाले २०७५ भदौ २४ गते कमाण्ड ग्रहण पश्चातको पहिलो सम्बोधनमै विकेन्द्रीकरणमार्फत सबै तहका कमाण्डरहरुलाई आ–आफ्ना जिम्मेवारीप्रति उत्तरदायी बनाउन नेपाली सेनामा मिसन कमाण्ड तथा अपरेशनल कमाण्डको अवधारणा लागु गरिने घोषणा गरेका थिए। तर पनि उनले पृतनालाई घटाउने विषयमा केही बोलेका थिएनन्।

त्यसपछि प्रधानसेनापति थापाले २०७७ माघ १ गते सैनिक मुख्यालय भद्रकालीमा हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिमको समापन गर्दै सेनाले अगाडि सारेको चार अपरेशनल कमाण्ड अवधारणाको आवश्यकता र उपादेयता एवं नेपालको सन्दर्भका यसको महत्वको बारेमा धारणाहरु राखेका थिए। उनले सोही आधारमा संगठनको पूनर्संरचना समेत गरी सफल कार्यान्वयन गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।

त्यसको दुई महिनापछि सरकारसँग स्वीकृत लिएर पृतना घटाएर कमाण्ड संरचनामा झार्ने तयारी थालेका छन्। सैनिक स्रोतका अनुसार सेनाले कमाण्ड संरचनालाई सहयोग पुग्ने गरी एयर वेस र लजिस्टिक बेस पनि तयार गरिसकेको छ। जसअनुसार काठमाडौंको गौचरण र सुर्खेतमा एयर वेस निर्माण गरिसकेको छ। काठमाडौंले उपत्यका र पश्चिम तथा सुर्खेतले कर्णाली र सुदुरपश्चिम प्रदेश र पूर्वी कमाण्डका लागि विराटनगरमा ऐयर बेस बनाउने तयारी छ।

त्यसैगरी चितवनको शक्तिखोर र बाँकेको कौशिलानगरमा लजिस्टिक बेस तयारी भइसकेको छ भने पूर्वमा महोत्तरीको बर्दिवासमा निर्माण गर्ने सेनाको तयारी छ। सेनाले काठमाडौं बाहेक पोखरा, इटहरी र नेपालगञ्जमा सैनिक अस्पतालसमेत निर्माण गरिकसेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *