कोरोना भाइरसको संक्रमण दर अनियन्त्रित, १५ दिनमा दैनिक संक्रमितको संख्या १० गुणा वृद्धि

डिसी नेपाल
१३ वैशाख २०७८ १२:१८

काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमण प्रसारणको दर निकै उच्च भएको छ । एक हप्ता अघिभन्दा यो हप्ता नेपालमा संक्रमितको संख्या २४१ प्रतिशतले वृद्धि भएको छ। नेपालमा पछिल्लो २ सातायता कोरोना भाइरस संक्रमित हुनेहरुको दैनिक संख्या १० गुणाले बढेको छ।

नेपालमा १५ दिनअघि अप्रिल ११ का दिन ३०३ जना नयाँ संक्रमित थपिएका थिए । यसको १५ दिनपछि अप्रिल २५ आइतबारका दिन ३ हजार ३२ जना नयाँ संक्रमित थपिएका छन्।

विश्वमा अघिल्लो हप्ताको तुलनामा यो हप्ता मात्रै १० प्रतिशतले संक्रमितको संख्या वृद्धि भएको छ। तर, नेपालमा भने २४१ प्रतिशतले वृद्धि भएको धुलिखेल अस्पतालको जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभागका निर्देशक डा. विराजमान कर्माचार्यले बताएका छन्।

पछिल्लो समय अत्याधिक तीब्र रुपमा संक्रमण फैलिइरहेको भारतमा सकेत एक हप्तामा थपिएका संक्रमितको प्रतिशत यति धेरै छैन। भारतमा अघिल्लो हप्ताको तुलनामा यस हप्ता ६० प्रतिशत संक्रमित बढेका छन्।

प्रतिशतका हिसाबले कम देखिए पनि भारतमा निकै धेरै जनसंख्या भएकोले थपिने संक्रमितको संख्यामा भने अत्याधिक बढेको छ । भारतमा १५ दिनअघि ११ अप्रिलमा १ लाख ६८ हजार ९१२ जना नयाँ संक्रमित थपिएका थिए ।

१५ दिनपछि हिजो आइतबार भारतमा ३ लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिए । यो संख्या १५ दिनअघिको भन्दा झण्डै २ लाख बढी हो।  नेपाल र भारतमा नयाँ संक्रमित थपिने संख्या पनि निरन्तर बढिरहेको छ।

नेपालमा अप्रिल ११ का दिन ३०३ जना नयाँ संक्रमित भेटिएकोमा १२ अप्रिलमा यो संख्या ४९६ पुग्यो। १३ अप्रिलमा ४६०, १४ अप्रिलमा ५८०, १५ अप्रिलमा ४९०, १६ अप्रिलमा ३६, १७ अप्रिलमा ७६ नयाँ संक्रमित थपिएका थिए।

१८ अप्रिलमा दैनिक संक्रमितको संख्या हजार माथि पुग्यो। यस दिन १ हजार १५ जना नयाँ संक्रमित थपिए । १९ अप्रिलमा १ हजार २२७, २० अप्रिलमा १ हजार ६६७, २१ अप्रिलमा २ हजार २२०, २२ अप्रिलमा २ हजार ३६५, २३ अप्रिलमा २ हजार ४४९, २४ अप्रिलमा २ हजार ४८६ जना र २५ अप्रिलमा ३ हजार ३२ जना नयाँ संक्रमित थपिए।

भारतमा समेत निकै उच्च दरमा संक्रमण बढिरहेको छ। १५ दिनअघि १ लाख ६८ हजार संक्रमित थपिएको भारतमा त्यसको ३ दिनपछि अप्रिल १४ मा दिन नयाँ संक्रमितको संख्याले २ लाख नाघेको थियो।

१ हप्तापछि २१ अप्रिलका दिन दैनिक नयाँ संक्रमितको संख्या ३ लाख माथि पुग्यो। त्यस दिन भारतमा ३ लाख १४ हजार नयाँ संक्रमित थपिएका थिए। ४ दिनपछि आइतबार भारतमा दैनिक नयाँ संक्रमितको संख्या साढे ३ लाख पार भयो । आइतबार भारतमा ३ लाख ५४ हजार ५३१ संक्रमित थपिए।

नेपालमा १ वर्षअघि कोरोनाभाइरस फैलिनुको मुख्य कारण भारतलाई मानिन्छ। भारत र नेपालमा एकैचोटी लकडाउन भएपछि अनियन्त्रित रुपमा भारतबाट आउनेहरुबाट नेपालमा समुदायस्तरमा संक्रमण फैलिएको थियो।

विज्ञहरुका अनुसार अहिले पनि त्यस्तै जोखिमको अवस्था छ। त्यसमाथि अहिले भारतबाट आवतजावतमा प्रतिबन्ध नलगाइएकोले पनि संक्रमण फैलिने जोखिम छ। यसको सुरुवात भारतछेउका सहरहरु नेपालगञ्ज र वीरगञ्जबाट भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *