डम्बर खड्का : अप्ठेरोमा परेकालाई सहयोग गर्न तल्लीन समाजसेवी

तर्कबहादुर थापा
१६ वैशाख २०७८ ८:४९

काठमाडौं। गौतमबुद्धको एउटा बाणी छ, ‘जसले मेरो सेवा गर्न चाहन्छ, उसले पीडितको सेवा गरोस्।’ नेपाली समाजमा पनि सेवा नै धर्म हो भन्ने भनाइ चल्दै आएको छ। तर, जब संकटको अवस्था आउँछ, त्यो बेलामा मान्छे सेवा गर्ने भन्दा पनि कमाइ गर्नतर्फ ध्यान दिन्छन्।

समाजमा यस्तै विषम परिस्थितिले हुनेखाने र हुँदा खानेको दूरीलाई झन बढाउँदै लगेको हुन्छ। धनी र गरिबबीचको खाडल झन्झन् गहिरो भएर जान्छ। समाजसेवा गर्ने तर्फ कसैले ध्यान नदिएको हो कि झैं लाग्छ। सेवा नै धर्म हो भन्ने भनाइ विस्तारै अर्थहीन हुँदै गएको देखिन्छ।

तर, समाजमा समाजसेवीको पनि कमी छैन है भन्ने उदाहरण बन्न सफल भएका छन् इलामका डम्बर खड्का। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू भएपछि घर फर्किन सरकारले २ दिनको समय दिएको थियो। त्यो दुई दिनमा काठमाडौंबाट पूर्व जानेहरुका लागि निजी सवारी साधन तयारी अवस्था थिए, जो निःशुल्क थिए।

‘आफ्नै तीनवटा हाइसले दुई दिन लगेँ’, समाजसेवी डम्बर खड्का भन्दै थिए, ‘अरु तीनवटा हाइसहरु रिजर्भ गरिएको थियो।’ समाज सेवा गर्दा ठूलो सन्तुष्टि मिलेको खड्कको भनाइ छ। खड्का आफू सामान्य परिवारमा जन्म लिएको भए पनि अरुको दुःख देख्न नसक्ने बताउँछन्। ‘मरिलानु के छ र,’ खड्काले भने, ‘समाजमा हुने सबैको दुःखको घाउमा मलम लगाउन प्रयास गर्नुलाई नै मैले धर्म ठान्छु।’

खड्काले धार्मिक आस्था, राजनीतिक आस्थालाई पर राखेर समाजमा सहयोग गर्दै आएको उनका सहयोगी शिव थापाको भनाइ छ। थापाले भने, ‘उहाँले हिन्दु मन्दिरहरुका लागिमात्र नभइ चर्च निर्माणमा समेत सहयोग गर्दै आउनु भएको छ। उहाँलाई दुःखमा परेको छ भन्ने खबर सुनाइदिएपछि तत्कालै सम्बन्धित ठाउँमा पुगेर सेवा गर्नु हुन्छ।’

कतिपय अवस्थामा आफ्नो व्यवहारिक समस्यालाई जस्ताको त्यस्तै छोडेर पनि अरुको सहयोग गर्न तल्लीन देखिएको देख्दा आफूलाई पनि अच्चम लाग्ने थापाको भनाइ छ। थापाले विगत लामो समयदेखि खड्कासँग काम गर्दै आएका छन्। यो वर्षको दुई दिनमा ९ वटा हाइसले १ सय ५० जनाभन्दा धेरे अप्ठेरोमा परेकालाई उदार गरिएको उनले जानकारी दिए।

गएको वर्षको लकडाउनमा ५० हजार क्वीण्टल चामल बाँडेको खड्का सुनाउँछन्। ‘स्थानीय तह, प्रहरी प्रशासन सबैले मैले गरेको सहयोग रोक्ने प्रयास गरेका थिए,’ खड्काले भने, ‘तर, मैले जारी नै राखेँ। मलाई सहयोग गर्नु थियो त्यो भएर पनि होला भगवानले साथ दिए, मैले सहयोग गर्न सकेँ। त्यो बेलामा काठमाडौंबाट पूर्व जानकालागि अफ्ठेरोमा परेका ५ सय ७० जनालाई उद्धार गरेको थिएँ। ६ दिनसम्म आफ्नो हाइसहरु र ५ वटा नाइटबस रिजर्ब गरेर उहाँहरुको उद्धार गरेको हुँ।’

इलाममा समाजसेवीको ब्राण्डनै बनाएका खड्कालाई सबैले सम्झने गरेको थापा बताउँछन्। थापाले भने, ‘अहिले त कसैलाई केही समस्या पर्ने वित्तिकै उहाँलाई नै सम्झन्छन्। उहाँ पनि जस्तो अवस्थामा भए पनि आफूलाई सम्झिसकेपछि गएर सहयोग गर्नु हुन्छ। समाजसेवी को ब्राण्ड नै बनाउनु भएको छ।’

फाउण्डेसन नै खोलेर सहयोग गर्ने सोचमा खड्का रहेका छन्। साथीहरुको सल्लाह अनुसार आफूले कमाएको पैसाले हरेक महिना १० प्रतिशत बढाउँदै फाउण्डेसन खोल्ने र त्यो मार्फत काम गर्ने सोच पलाएको खड्काले सुनाए।

खड्काले भने, ‘म समाजको एक अंश हुँ। यो समाजमा समस्या पर्दा मेरो पनि मन रुनु पर्छ। यो समाजका जो कोहीको समस्या मेरो समस्या हो। दुःखमा परेका सबै मेरा आफन्त हुन। जतिसक्दो अरुको घाउमा मलम लगाउन पाएको भए झैं लागछ।’

मठमन्दिर, चर्च, गुम्बा निर्माण होस्, खेलकुदमा पुरस्कार, मिर्गोला पीडितलगायतका अन्य रोगीहरुलगायतलाई सधैं सहयोग गर्ने खड्का जीवन शून्य भएको बताउँछन्। उनले अरुको सेवा गरेपछि २ दिन बढी बाँचिने पनि बताए।

‘खुसी हुनु पर्छ। खुसी हुन जान्नु पर्छ,’ खड्काले भने, ‘मैले जीवनमा आफु खुसि हुने भन्दा पनि अरुको ओठमा आएको खुसीको मुस्कानले आयु बढाएको महशुस गरेको छु। जब संकटमा भएको कसैलाई सहयोग गरिन्छ, बिरामीहरुको अनुहारमा खुसीको किरण पर्छ। तब आफूलाई भाग्मानी भएको अनुभूति गर्छु।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *