कोरोना रोकथाम तथा नियन्त्रणका लागि धुलिखेलद्वारा १ करोडको कोष स्थापना

डिसी नेपाल
१७ वैशाख २०७८ ७:२३

काठमाडौं। कोरोनाको दोश्रो लहर आएसँगे धुलिखेल नगरपालिकाले १ करोड रुपैयाँको कोरोना रोकथाम तथा नियन्त्रण कोष स्थापना गरेको छ। नगरपालिकाले कोरोनाको नियन्त्रणका लागि कोष स्थापनाका साथै निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख अशोक कुमार ब्जाञ्जुले जानकारी दिए।

उनले भने, ‘हामीले बालबालिका दीर्घरोगी र जेष्ठ नागरिकको स्वास्थ्यलाई विषेश ध्यान दिएर यो कोषको स्थापना गरेका हौं। उहाँहरुको स्वास्थ्यमा आउने जटिल समस्यालाई नगरपालिकाले पूर्वानुमान गरी १ करोडको कोरोना कोष स्थापना गरेको हो।’

नगरपालिकाको वडा नं. ३, ४, ५, ६ र ७ मा कोरोनाको प्रभाव बढ्दो क्रममा भएकाले सतर्क रहन सबैमा आग्रह पनि गरिएको छ। नगरप्रमुख ब्याञ्जुले भने, ‘सार्वजनिक स्थानमा भीडभाड गर्न÷गराउन रोक लगाएका छौं। स्वास्थ्यका मापदण्ड पालना गर्न कडाइका साथ अनुरोध गरेका छौं। भने, अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन पनि सबैमा अनुरोध गरेका छौं।’

दोश्रो लहरको कोरोनाको कडा र गम्भिर प्रकारका लक्षणहरु देखिएकोले पनि सचेत रहन सबैमा अनुरोध गरिएको उनले जानकारी दिए। ‘कसैलाई कोरोनासँग सम्बन्धित लक्षण, वा स्वास्थ्यमा जटिलता देखिएमा आफ्नो वडाको स्वास्थ्य केन्द्र वा नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्नहुन पनि सबैमा अनुरोध गरिएको छ,’ ब्याञ्जले भने।

धुलिखेल बजार क्षेत्रमा अनावश्यक घुमफिर नगर्न, भोजभतेर, गोष्ठि तथा भेला जस्ता कार्य नगर्न नगराउन पनि नगरपालिकाले सबैमा अनुरोध गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *